नेकपा (माओवादी केन्द्र)को २० सदस्यीय प्रतिनिधिमण्डल छोङछिङ भ्रमणमा

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको छोङछिङ नगरमा पुगेको छ ।
माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई छोङछिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गर्नुभयो।
प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, माओवादी केन्द्रको अन्तरराष्ट्रिय विभाग, स्कुल विभाग, मजदूर तथा बुद्धिजीवी सङ्गठन, अखिल (क्रान्तिकारी)लगायत विभागका सदस्य सहभागी हुनुहुन्छ।
चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहेका चार सहरमध्ये एक हो ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुस्तक ‘दि फस्ट डिकेड अफ रिपब्लिक’ (गणतन्त्रको पहिलो दशक) नामक पुस्तक चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र चीनको छोङछिङ स्कुल विभागलाई हस्तान्तरण गरिएको छ । बिहीबार सो पुस्तक विभागलाई हस्तान्तरण गरिएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका नेतालाई छोङछिङ सहरमा दिएको एक प्रशिक्षण कार्यक्रम पश्चात् माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले उक्त पुस्तक हस्तान्तरण गर्नुभएको राससले लेखेको छ। त्यसअघि दुई पार्टीकाबिच विभिन्न सहकार्य र अनुभव आदानप्रदानकाबारे छलफल भएको थियो ।







