सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ हुँदै एकैदिन सात सय पर्यटक खुम्बु क्षेत्रमा

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ। सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।
निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन्। छ सय आठ विदेशी र ८६ जना नेपाली पर्यटक रहेका सेतोपाटी अनलाइनले जानकारी दिएको छ । श्रेष्ठले नाम्चेको यात्रामा छ सय ५२ विदेशी र एक सय ५१ जना नेपाली रहेका बताउनुभयो।
वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताउनुभयो। मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो।
खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल(टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताउनुभयो। कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको बताउँदै स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर वृद्धि हुन थालेका उहाँले उल्लेख गर्नुभयो।
निकुञ्जको कार्यालयका अनुसार सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति एक हजार ५००, अन्य मुलुकका नागरिकबाट प्रतिव्यक्ति तीन हजार र नेपालीबाट एक सय प्रवेश शुल्क लिने गरिएको छ। उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्याउँदै आएको छ। अधिकांश पर्यटक काठमाडौँ र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्दछन्। त्यहाँबाट उनीहरूले नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्दछन्।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button