सी चिनफिङद्वारा ‘दुई समर्थन’ सम्बन्धी महत्त्वपूर्ण निर्देशन

अप्रिल २३, २०२५ मा पेइचिङमा आयोजित “दुई समर्थनसम्बन्धी नमुना शहर छनौट बैठक” मा चीनका राष्ट्राध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष महामहिम सी चिनफिङद्वारा सेनालाई समर्थन गर्ने, सेनाका परिवारलाई प्राथमिकता दिने, सरकारलाई सहयोग गर्ने र जनतालाई प्रेम गर्ने कार्यलाई थप प्रभावकारी बनाउने सम्बन्धमा महत्त्वपूर्ण निर्देशन प्रसारण गरिएको थियो। सो बैठकको अध्यक्षता चीनका प्रधानमन्त्री महामहिम ली छ्याङले गर्नुभएको थियो।
महामहिम सी चिनफिङले “दुई समर्थन” कार्यलाई चिनियाँ कम्युनिष्ट पार्टीको परम्परा र चिनियाँ समाजवादको विशेषताको अभिन्न अङ्गको रूपमा परिभाषित गर्दै यसलाई पार्टी, सेना, सरकार र जनताबीचको ऐक्यबद्धताको सुदृढीकरणको आधार मान्नु भएको छ। उहाँको निर्देशनले पार्टीको समग्र नेतृत्वलाई “दुई समर्थन” कार्यको आधारभूत सर्तका रूपमा प्रस्तुत गरेको छ, जसले पार्टीप्रति सेनाको निष्ठा, सरकारप्रतिको समर्थन र जनताप्रतिको समर्पणलाई एकीकृत दृष्टिकोणबाट सम्बोधन गर्छ।
महामहिम सीले सैन्य परिवारप्रतिको विशेष ध्यान, सामाजिक सुरक्षा प्रणालीको सुधार, जनतासँगको घनिष्ट सम्बन्ध र जनजीवनको गुणस्तर अभिवृद्धिमा सरकारको भूमिका उल्लेख गर्नुभएको छ। उहाँले “दुई समर्थन” कार्यलाई सुधार, नवीनता र प्रणालीगत समन्वयमार्फत व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। सेनाको कल्याण, जनताको सशक्तीकरण र पार्टीको नेतृत्वका माध्यमबाट नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादको विकासलाई निरन्तरता दिने उद्देश्य यस निर्देशनको मूल केन्द्रबिन्दु हो।
उक्त बैठकमा “दुई समर्थन” कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्याएका क्षेत्रीय इकाइहरूलाई “नमुना शहर” को मान्यता प्रदान गरिएको छ, जसले राष्ट्रिय स्तरमा यसको कार्यान्वयनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। नमुना शहरहरूले सैन्य तथा नागरिक सहकार्य, सैनिक परिवारको सेवा-सुविधा, र जन–सरकार सम्बन्धको सुदृढीकरणमा प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।
महामहिम सी चिनफिङद्वारा प्रदत्त निर्देशनले चीनको आन्तरिक स्थिरता, सैन्य तयारी र पार्टीको नेतृत्व प्रणालीलाई बलियो बनाउने रणनीतिक दृष्टिकोण प्रस्तुत गरेको छ। यो निर्देशनले सामाजिक एकता, राष्ट्रिय सुरक्षा र विश्वसमक्ष चीनको राजनीतिक स्थिरता तथा सैन्य निष्ठाको स्पष्ट सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। यद्यपि, यसको दीर्घकालीन सफलताका लागि आर्थिक स्रोतको सुनिश्चितता, स्थानीय सरकारहरूको प्रभावकारी कार्यान्वयन क्षमता, तथा जनताको अपेक्षाप्रति संवेदनशील दृष्टिकोण अनिवार्य हुनेछ।





