इरान–इजरायल युद्धले नेपालमा प्रभाव पर्ने चिन्ता

रुस र युक्रेन युद्ध सेलाउन नपाउँदै इरान–इजरायलबीच बढिरहेको द्वन्द्वले पछिल्लो समय विश्व व्यापार तरंगित बनेको छ। इजरायलले इरानका परमाणु केन्द्रहरूमा हमला गरेको खबर सार्वजनिक भएलगत्तै कच्चा तेलको मूल्य बढेको छ, बढ्ने क्रम रोकिएको छैन। विश्व बजारसँगै नेपाली बजारमा समेत त्यसको प्रत्यक्ष प्रभाव परिरहेको जानकार बताउँछन्। युद्ध तत्काल नरोकिए नेपालको वैदेशिक सहायता, रेमिट्यान्सदेखि रोजगारीमा समेत प्रभाव पर्ने उनीहरूको भनाइ छ।
इरान र इजरायलबीचको युद्धले वैदेशिक व्यापारमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्ने पूर्ववाणिज्य सहसचिव रवि सैंजुले जनाउनुभयो। ‘इरानसँग नेपालमा व्यापार त्यति छैन तर इजरायलबाट अर्बौं रुपैयाँका विभिन्न वस्तु आयात हुन्छन्, निर्यात भने करोडमा हुन्छ,’ सैंजुले भन्नुभयो, ‘युद्ध चर्किंदै गए अमेरिका र युरोपमा हुने आयात–निर्यातमा पनि समस्या उत्पन्न हुन्छ।’
अमेरिका र युरोपबाट जलमार्ग ‘रेड सी’ भएर वस्तु आयात हुने गरेको सैंजुले बताउनुभयो । इरान र इजरायलबीचको युद्धले ‘रेड सी’ को बाटोमा समस्या आए अफ्रिका घुमेर सामान ल्याउनुपर्छ। ‘आयात गर्ने बाटो लामो हुन्छ, त्यसले सामानको लागत बढाउँछ। आयात मात्र होइन, निर्यातमा पनि समस्या हुन्छ,’ उहाँले भन्नुभयो, ‘समग्रमा भन्दा महँगी र लागत खर्च बढ्ने देखिन्छ।’
कान्तिपुर अनलाइनका अनुसार इरानसँगको वार्षिक व्यापार करोडमा रहेको भन्सार विभागको तथ्यांक छ। तर इजरायलसँग अर्बौं रुपैयाँको कारोबार भइरहेको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा इजरायलबाट १ अर्ब १५ करोड ६३ लाख ८८ हजार रुपैयाँको वस्तु आयात भएको छ। निर्यात भने ५ करोड ४९ लाख १८ हजार रुपैयाँको भएको छ। गत आर्थिक वर्षभर इजरायलबाट १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँको वस्तु आयात भएको थियो। निर्यात भने ४ करोड २२ लाखको भएको थियो।
चालु आर्थिक वर्षको ११ महिनामा इरानबाट ६ करोड ७० लाख ६५ हजार रुपैयाँको वस्तु आयात भएको छ। निर्यात भने ८५ लाख ९३ हजार रुपैयाँको मात्रै रहेको विभागको तथ्यांक छ। गत आर्थिक वर्षमा २ करोड ८७ लाख १३ हजार रुपैयाँको वस्तु आयात भएको थियो। उक्त वर्ष इरानमा ४० लाख ८८ हजार रुपैयाँको मात्रै निर्यात भएको थियो।
विशेषगरी इजरायलबाट सफ्ट ड्रिंक्स, चस्मालगायत अन्य मेडिकल सामग्रीहरू आयात गरिएको विभागले जनाएको छ। चालु आर्थिक वर्षको ११ महिनामा सफ्ट ड्रिंक्स मात्रै ८३ करोड १५ लाख रुपैयाँको वस्तु आयात गरिएको छ। नेपालबाट इजरायलमा जर्दा, खैनी, गलैंचालगायत वस्तु निर्यात भएको छ। इजरायलले इरानमा हमला गरेपछि कच्चा तेलको मूल्य एकै दिन ८ प्रतिशतसम्म बढेको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल बढ्दा त्यसको प्रभाव सबैतिर पर्ने जानकार बताउँछन्।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ खरिद गर्छ। भारत आफैंले कच्चा तेल उत्पादन गर्दैन, उसले इरान, रसियालगायत मुलुकबाट कच्चा पदार्थ खरिद गरी प्रशोधन गरेर बिक्री गर्छ। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पर्ने निगमका अधिकारी बताउँछन्। ‘जुन १ मा निगमले मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६४ देखि ६५ डलर थियो। इजरायलले इरानका परमाणु केन्द्रहरूमा हमलाको खबरले एकै दिन मूल्य ८ प्रतिशतसम्म बढ्यो। बुधबार नै प्रतिब्यारेल ब्रेन्टक्रुड ७७.३८ डलरमा कारोबार भइराखेको छ,’ निगमका प्रवक्ता मनोज ठाकुरले भन्नुभयो, ‘कच्चा तेलको मूल्य बढ्नेबित्तिकै यातायात खर्च बढ्छ रिफाइन प्रडक्टको मूल्य बढ्छ। समग्र बजारलाई असर पर्छ।’
विशेष गरी हर्मुजको खाडीलाई लिएर देशहरू चनाखो बनेका छन् । इरानले यो समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको छ । भारतले ८५ प्रतिशत कच्चा तेल त्यही हर्मुजको खाडीस्थित साँघुरो समुद्री मार्गबाट भित्र्याउने गरेको छ। त्यो मार्ग बन्द भए तेलको भाउ अकासिनेछ। इरानमा अमेरिकी प्रतिबन्धका कारण भारतले सिधै इरानबाट तेल किन्दैन। तथापि विश्वव्यापी तेल बजारमा इरान महत्त्वपूर्ण देश हो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि आयातमा भने कुनै असर नपर्ने निगमको दाबी छ। कच्चा तेलको मूल्य बढिरहँदा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्छ। इन्धनको मूल्य बढेसँगै व्यवसायीले ढुवानी भाडा बढाउन चलखेल गर्छन्। ढुवानी र सार्वजनिक यातायातको भाडा बढेसँगै खाद्यलगायत अन्य वस्तुको मूल्य पनि स्वतः बढ्छ।
अर्थविद् नरबहादुर थापाले पनि इरान–इजरायलबीच चर्किएको युद्धले नेपाललाई प्रत्यक्ष प्रभाव पर्ने बताउनुभयो ।





