प्रणाली र संविधानकाे अपमान सह्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभित्र र संसद प्रणालीबाट क्रियाकलाप गर्ने ठाउँ भएको बताउनु भएको छ। मंगलबार आगामी आर्थिक वर्षको बजेट अन्तर्गत प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यालय लगायतका सम्बन्धमा उठेको प्रश्नको जवाफ दिँदै संसद कानुन नमान्ने थलो हुन नसक्ने बताउनु भयो।
उहाँले आफूलाई आलोचना गरे सहन्छु तर संविधान, प्रणालीमाथिको आलोचना सह्य नहुने धारणा राख्नुभयाे। “म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन्छु। तर, सहिदप्रतिको अपमान, सहिदले दिएको बलिदानप्रतिको अपमान, प्रणालीको अपमान, संविधानको अपमान सह्य हुन सक्दैन,” प्रमओलीले भन्नुभयाे।
ओलीले व्यवहारले देखाएको ठाउँमा प्रणाली मजबुत बनाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव राख्नुभयाे। “हामीले अपमानको प्रणाली व्यवहारिक रूपमा अझ प्रभावकारी बनाउने गरी संविधान संशोधन गरौँ। मनोवैज्ञाननिक ढंगले देशलाई विभाजित गर्ने गरी होइन,” उहाँले भन्नुभयाे।
संसदमा छलफल गर्दा राष्ट्र र राष्ट्रियताका सवालमा गम्भीर बन्नुपर्ने भन्दै हल्काफुल्का ढंगले टिप्पणी नगर्न आग्रह गर्नुभयाे। बजेटमा खर्च कटौतीको प्रस्तावको प्रवृतिमाथि प्रधानमन्त्री ओलीले प्रश्न उठाउनुभयाे। उहाँले यो परम्परागत अभ्यास रहेको बताउनुभयाे। ‘एउटा ट्रेडिसनल कुरा जस्तो भयो के एक रुपैयाँ खर्च कटौती, बजेटबाट एक रुपैयाँ घटाइयोस् !’ प्रधानमन्त्री ओलीले भने, ‘खर्च एक रुपैयाँ घटाउदा हुने भए ! त्यसको एउटा सिम्बोलिक अर्थ छ तथापि, एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ।’
अन्यथा, खर्च कटौतीको प्रस्तावको ठूलो अर्थ नरहेको उहाँले बताउनुभयाे। ‘सर्वसम्मतबाट बजेट पास हुन्छ एक रुपैयाँ घटाउँदा ?’ प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयाे, ‘सर्वसम्मत हुन्छ भने एक रुपैयाँ घटाइदिए पनि हुन्छ है।’
कतिपय थिति र विधि समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको प्रधानमन्त्रीको आग्रह छ। ‘अब एउटा बिरालो बाँधियो। जहाँ चलन हुन्छ त्यहाँ बाँधियो। सिद्धियो’ उहाँले कटाक्ष गर्नुभयाे। सरकारले सकेसम्म सन्तुलित बजेट ल्याउने प्रयास गरेको उहाँले बताउनुभयाे। बजेटमा विवादका ठाउँ हुन सक्ने पनि उहाँले बताउनु भएको थियो।





