शनिबारबाट वृक्षरोपण महाअभियान, वार्षिक तीन करोड बिरुवा रोपिने

नेपाल सरकारले नेपालमा वृक्षरोपणको २० बर्से महाअभियान सुरु गर्ने भएको छ। ‘सगरमाथा वृक्षरोपण महाअभियान’ नाममा सन् २०२५ देखि २०४५ सम्म २० बर्से वृक्षरोपण महाअभियान चलाइने भएको हो। अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर आज शनिबारदेखि उक्त महाअभियानको सुरुवात गर्न लागिएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जानकारी दिनुभएको छ।
उहाँका अनुसार महाअभियानका क्रममा नेपालको पूर्ण जनसङ्ख्या अनुसार एक व्यक्ति एक बिरुवा पर्ने गरी हरेक वर्ष तीन करोड बिरुवा २० वर्षसम्म निरन्तर रोपण गरिने छ। उहाँले भन्नुभयो, “यो महाअभियान मन्त्रालयले गर्ने कुनै परियोजना जस्तो हैन, रोपिएका हरेक बिरुवामा नागरिकको स्वामित्व र संरक्षण प्रदान गरिने छ।”
उहाँले हरेक वर्ष तीन करोडका दरले आगामी २० वर्षसम्म ६० करोड बिरुवा रोपिने जानकारी गराउनुभयो। नेपाल सरकारले लिएको जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीतिलाई सघाउँदै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण कडीका रूपमा यो महाअभियानलाई लिइएको छ।
सरकारले वैश्विक रूपमा जलवायु परिवर्तनको असर कम गर्न सन् २०२५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ। यो लक्ष्य प्राप्त गर्न यस महाअभियानले सघाउने अपेक्षा गरिएको छ। गत जेठमा भएको सगरमाथा संवादको निष्कर्षका रूपमा आएको २५ बुँदे कार्यगत घोषणा कार्यान्वयनको महत्त्वपूर्ण पाटोका रूपमा पनि २० बर्से महाअभियान रहेको मन्त्री शाहीले प्रस्ट पार्नुभयो।
उहाँले थप्नुभयो, “वृक्षरोपण महाअभियानले हरियो वनको मात्रा बढाउने मात्र हैन, हाम्रो हिमाल संरक्षणको वैश्विक प्रतिबद्धता पूरा गर्न सघाउने छ।” अहिलेसम्म नेपालको वन क्षेत्र कुल भूभागको ४५ प्रतिशतभन्दा बढी छ।
हरियाली प्रवर्धनसँगै सरकारको उपभोगमैत्री वन संरक्षणको नीतिलाई पूरा गर्न पनि यस वृक्षरोपण महाअभियानले सघाउने उद्देश्य वन मन्त्रालयको छ। मन्त्री शाहीले भन्नुभयो, “सगरमाथाको टुप्पोबाट उठेको कार्बन उत्सर्जन न्यूनीकरण, हिमाल संरक्षणसँगै जलवायु परिवर्तनको असर न्यूनीकरणको यो अभियान विश्वकै लागि सन्देश हुने अपेक्षा लिएका छौँ।”
वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलका अनुसार यस महाअभियानले संरक्षण र सरकारको नागरिकमैत्री संरक्षणलाई जोड दिएको छ। वृक्षरोपण महाअभियान अन्तर्गत रैथाने प्रजातिका जडीबुटीका साथै फलफूल वनलाई प्राथमिकता दिइने छ, जसलाई भविष्यमा आमनागरिकले उपभोग र आम्दानीका स्रोतका रूपमा प्रयोग गर्न सक्ने छन्।
महाअभियान अन्तर्गत सङ्घ, प्रदेश र ७५३ वटा स्थानीय तहमा एकै साथ वृक्षरोपण हुने छ। त्यसका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहस्थित जिल्ला वन कार्यालयका नर्सरीमा निःशुल्क बिरुवा प्रदान गरिने गोरखापत्र अनलाइनले लेखेको छ।
यसैबिच वृक्षरोपण महाअभियानको उद्घाटन ललितपुरको गोदावरीस्थित जिल्ला वन कार्यालय परिसरमा हुने भएको छ। शुक्रबार वन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी वन तथा वातावरणमन्त्री शाहीले महाअभियानको सुरुवात गर्नुहुने जानकारी दिएको हो।
सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी तथा सार्वजनिक, सामुदायिक तथा निजी खाली जग्गाहरूमा वृक्षरोपण गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ। भिरालो तथा नदी किनारका खाली जग्गाहरूमा पनि वृक्षरोपण हुने छ। महाअभियान अन्तर्गत रोपिएका बिरुवाको दिगो संरक्षणका लागि रणनीति बनाएरै अघि बढ्ने योजना मन्त्रालयले ल्याएको छ, जस अनुसार स्थानीय उपभोक्तालाई जिम्मेवार बनाइने छ।





