रसुवामा चिनियाँ सहयोगमा अस्थायी बेलिब्रिज निर्माण सुरु

नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो।
चीन सरकारले आइतबारबाट पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो। यसअघि शनिबार प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा नेपाली पक्षको उच्चस्तरीय टोलीले मितेरी पुल क्षेत्रको स्थलगत अवलोकन गरेको गोरखापत्र अनलाइनले लेखेको छ।
अवलोकनका क्रममा दुवै देशका अधिकारीहरूबीच निर्माणस्थलमै भर्चुअल बैठक सम्पन्न भएको र त्यस बैठकमा बाढीपछिका उद्धार तथा राहतका काम, पुनर्निर्माणको प्राथमिकता र स्थायी संरचनाको योजना विषयमा विस्तृत छलफल भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ। यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार, शीघ्र गतिमा सुरु भएको यो अस्थायी पुल निर्माणले स्थानीय बासिन्दा, व्यापारी र सीमा पारका सेवाग्राहीहरूलाई अत्यावश्यक आवागमनमा तत्कालीन राहत दिने अपेक्षा गरिएको छ। स्थायी पुलको पुनर्निर्माणको प्रक्रिया पनि दुवै देशको उच्च प्राथमिकतामा रहेको जानकारी दिइएको छ।
बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिनुभयो। रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ।
CGTN





