नेपालको सत्ता, चीन र विद्या भण्डारी: ‘सफ्ट कू’ को ऐतिहासिक आधार र वर्तमान सन्दर्भ

# मुना चन्द
नेपालको समकालीन राजनीतिमा फेरि एकपटक भूकम्पीय तरंग फैलिएको छ, यो तरंगको केन्द्रमा पूर्वराष्ट्रपति विद्या देवी भण्डारी छिन्। पछिल्लो समय चीनले नेपालका वामपन्थी शक्तिहरूलाई एकजुट गर्न गोप्य कूटनीतिक पहल गरेको आरोप लागिरहेको छ, र त्यो प्रयासको प्रमुख अनुहारको रूपमा विद्या भण्डारीलाई अगाडि सारिएको आशंका व्यक्त भइरहेको छ। तर यो केवल वर्तमानको कथा होइन, यो त विगत तीन दशकदेखि चलिरहेको एक गहिरो राजनीतिक संघर्षको अर्को अध्याय हो, जसको सुरुआत मदन भण्डारीको रहस्यमय हत्या प्रकरणबाट भएको थियो।
मदन भण्डारीको २०५० साल जेठ ३ गतेको निधनलाई अहिलेसम्म पनि नेपालका धेरै राजनीतिक विश्लेषकहरूले एक नियोजित राजनीतिक हत्या, एक “हार्ड कू” का रूपमा लिन्छन्। त्यतिबेला भण्डारी नेपालको सबैभन्दा लोकप्रिय वाम नेता थिए। जनताको बहुदलीय जनवाद (जबज) को दर्शन मार्फत उनले वामपन्थलाई प्रचण्ड लोकप्रिय बनाएका थिए। तर त्रिशुली किनारमा भएको त्यो शंकास्पद ‘सडक दुर्घटना’को छानबिन अहिलेसम्म अधुरो, अपारदर्शी र राजनीतिकरूपमा प्रभावित देखिन्छ।
त्यस घटनाका प्रमुख संदिग्धहरूमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री शेरबहादुर देउवा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जोडिँदै आएका छन्। नेपाली सेनाका तत्कालीन सैनिक सचिव विवेक शाहले आफ्नो संस्मरणमा दरबारभित्र भएको छलफलमा देउवा र तत्कालीन आइजिपीको संलग्नतामाथि गम्भीर शंका गरिएको उल्लेख गरेका छन्। अझ पछिल्लो समय बिराटनगरका उमेश गिरिले दिएको साक्षात्कारमा गिरिजाप्रसाद र नोना कोइरालाबीचको गोप्य कुराकानीमा आफू पनि सहभागी भएको तर डरले मौन बसेको खुलासा गरेका छन्। यसले उक्त हत्याकाण्डको राजनीतिक पक्षलाई अझ बलियो प्रमाण दिन्छ।
भण्डारीको ड्राइभर अमरलामालाई पछि कांग्रेस प्रवेश गराइनु स्वयंमा एक गम्भीर सन्देह हो। यदि उनी निर्दोष थिए भने उनलाई कांग्रेसले किन ‘पुरस्कार’ दियो? दोषी थिए भने दण्डविहीनता किन भयो? अझ त्यसमाथि, मदन भण्डारी हत्या प्रकरणका अनुसन्धान प्रतिवेदनहरू हराउनु र ओली नेतृत्वको सरकारले तिनलाई सार्वजनिक नगर्नु पनि कतै आपराधिक गठबन्धनको प्रमाण त होइन?
अब वर्तमानमा फर्कौ, जब एमालेले आफ्नो संविधान र प्रक्रिया विपरीत पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता निलम्बन गर्यो। यो निर्णय न कानुनी थियो, न संगठनात्मक। बरु, यसको पछाडि एउटा गम्भीर राजनीतिक स्वार्थ थियो, भण्डारीलाई संगठनबाट निष्क्रिय पारेर वाम विचारधारालाई संस्थागत रूपमा कमजोर पार्ने र चीनसम्बद्ध राष्ट्रवादी धारालाई अवरुद्ध गर्ने। यो एक ‘सफ्ट कू’ थियो न गोली, न बम, तर संगठनात्मक घेराबन्दी, चरित्र हत्या र राजनीतिक अलगावका माध्यमबाट।
यो कदम अचानक आएको थिएन। यो एउटा दीर्घकालीन योजनाको अंश थियो, जसमा भारत समर्थित र अमेरिकी अनुकूल नेताहरूको साझा भूमिका देखिन्छ। देउवा, ओली, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठजस्ता नेताहरूले भण्डारीविरुद्ध एकै स्वरमा बोलेको दृश्य संयोग होइन, बरु पूर्वनियोजित छवि नष्ट गर्ने रणनीतिक तानाबाना हो।
यहाँ एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय कोण पनि छ चीन। चीनको हित सधैं स्थिरता, वाम शक्ति र राष्ट्रियता अनुकूल नेतृत्वमा हुन्छ। भण्डारी चीनको दृष्टिमा एक भरपर्दो राष्ट्रवादी नेतृ हुन्, जसले आफ्नो राष्ट्रपतिको कार्यकालमा अमेरिकी सैन्य सहयोग (MCC-SPP) जस्ता मुद्दाहरूमा चीनको चासोलाई आत्मसात गरिन्। चीनको दृष्टिमा आजको विभाजित, भ्रष्ट र विचारहीन वामपन्थी नेताहरूको तुलनामा विद्या भण्डारी नै नेपालमा राष्ट्रवादी स्थायित्वको प्रतीक हुन्। यही कारण चीनले सम्भवतः भण्डारीको पुनरागमन चाहेको हो, जुन वर्तमान सत्ता गठबन्धन र भारतपक्षधर निकायलाई असहज लागिरहेको छ।
भण्डारीविरुद्धको राजनीतिक अभियान त्यतिमात्र होइन यसलाई सुदूर अतीतको ‘हार्ड कू’ को निरन्तरता मान्न सकिन्छ। २०५० मा मदन भण्डारीको जीवन सिध्याइएको थियो, आज उनका विचार र उत्तराधिकारीलाई सिध्याउने प्रयास भइरहेको छ। नेपालमा विदेशी गुप्तचर निकायहरूको भूमिकाबारे व्यापक अध्ययन र अनुसन्धानले देखाएको छ रअ, सीआईए, एमआई–६ लगायतका शक्तिहरूले नेपालमा राजनीतिक संक्रमण र वामविरोधी कार्यक्रमहरूमा ऐतिहासिक भूमिका खेलेका छन्। २०५० मा मदन भण्डारी, २०८१ मा विद्या भण्डारी, दुबैप्रति षड्यन्त्रको आकृति समान देखिन्छ।
राजनीतिमा प्रतीकहरूको पनि उपयोग हुन्छ। राप्रपाले हिन्दू राष्ट्र र पृथ्वीनारायण शाहको नाम बेचेर जनभावनालाई प्रयोग गर्छ; एमालेभित्रको ओलीपन्थले जबज र मदन भण्डारीको नाम बेचेर सत्ता प्राप्तिको खेल खेलिरहेको छ। तर ती नेताहरूको व्यवहार, नीतिगत विचलन र विदेशी झुकावले देखाउँछ यी कुनै पनि शक्ति साँच्चिकै राष्ट्रवादप्रति प्रतिवद्ध छैनन्। ती केवल राष्ट्रिय प्रतीकहरूलाई ‘कम्पनी लोगो’ जस्तै प्रयोग गर्ने शक्ति हुन्।
आज आवश्यकता छ एउटा नयाँ मूल्यमा आधारित राष्ट्रिय शक्ति, जो विचार, निष्ठा, स्वाभिमान र कूटनीतिक सन्तुलनमा आधारित होस्। विद्या भण्डारीले त्यो सम्भावना बोकेको कारण उनीविरुद्ध षड्यन्त्र भइरहेको हो। तर जब इतिहास चुप लाग्दैन, तब सत्यको पुनर्जागरण रोक्न सकिँदैन।
नेपालले फेरि सोच्नुपर्छ हामी स्वाभिमानका लागि राजनीति गर्छौं कि शक्ति साझेदारीका लागि? हाम्रा नेताहरू विचारको लागि लड्छन् कि विदेशी ‘थिंक ट्याङ्क’ का लागि काम गर्छन्?
मदन भण्डारीको हत्या र विद्या भण्डारीको निष्कासन एउटै ऐतिहासिक धागोका दुई छेउ हुन् स्वतन्त्र, स्वाभिमानी, विचारयुक्त वाम नेतृत्वविरुद्धको निरन्तर षड्यन्त्र। इतिहास बोल्ने बेला अब आइसकेको छ।





