मुख्यमन्त्री होइनन्, मुख्य अभिभावक हुन् : एक मनस्पर्शी अनुभूति

✍️ अञ्जिता रजलिम

आज म यहाँ कुनै पार्टीगत दृष्टिकोण लिएर होइन, आफ्नै मनमा गहिरो गरी उठेका केही अनुभूतिहरू साझा गर्न चाहन्छु। यी विचारहरू राजनीतिक लहर वा प्रचारको मनसायले होइन, एक सचेत नागरिकका रूपमा मन छोएका प्रसंग र अनुभूतिहरू हुन्। त्यसैले पनि तपाईंहरूलाई आग्रह गर्दछु कि कृपया यसलाई राजनीतिका चश्माले होइन, एउटा नागरिकको दृष्टिबिन्दुबाट हेरिदिनुहोस्।

सिक्किमका वर्तमान मुख्यमन्त्री श्री प्रेमसिंह तामाङसँगको मेरो अनुभव, अवलोकन, र भावनात्मक सम्पर्कले मलाई आज यो लेख लेख्न प्रेरित गर्‍यो। चार वर्षको शासनकालमा उहाँले देखाउनु भएको नेतृत्व, उदारता, र सहानुभूतिको भावना केवल औपचारिक भूमिकामा सीमित छैन। उहाँको कार्यशैलीमा “सत्ताको अधिकारी” भन्दा बढी “सेवक” बन्ने आकांक्षा स्पष्ट देखिन्छ। स्वयं उहाँले भन्नुहुन्छ, “म मुख्यमन्त्री होइन, मुख्य सेवक हुँ।” तर मेरो दृष्टिमा उहाँ “मुख्य सेवक” मात्र होइनन्, राज्यवासीका लागि “मुख्य अभिभावक” हुनुहुन्छ।

हामीमध्ये प्रत्येकको जीवनमा एउटा अभिभावक हुन्छन् जो घरको दुःख, कष्ट, पीडा अनि अप्ठ्याराका क्षणहरूमा अविचलित भएर उभिन्छन्। जब परिवारको सामर्थ्यभन्दा ठूलो विपत्ति आइपर्छ, तब त्यही अभिभावकको धैर्य र निर्णय क्षमताले घरलाई उभ्याउँछ। राज्य पनि एउटा ठूलो परिवार हो, र यस्तो परिवारको अभिभावक यदि उत्तरदायी, संवेदनशील र दयालु छ भने त्यो राज्यका नागरिकहरू भाग्यशाली ठहर्छन्।

मुख्यमन्त्री तामाङले त्यो अभिभावकत्वको भूमिका निर्वाह गर्दै आउनुभएको छ। यसबारे केही उदाहरणहरू यहाँ उल्लेख गर्न चाहन्छु, जसले मेरो मन छोयो, अनि तपाईंहरूको पनि छुनेछ भन्ने विश्वास लिएको छु।

एकजना पिताजी, जसका दुई छोराछोरीमध्ये एक ब्लड क्यान्सर पीडित। उपचार असम्भवजस्तै लाग्ने त्यो क्षणमा स्वयं मुख्यमन्त्रीले फोन गरेर सम्पूर्ण उपचार खर्चको जिम्मा लिएको घटनाले देखाउँछ कि उहाँको सेवा भावना केवल भाषणमा होइन, व्यवहारमा पनि साँचो छ। अर्को घटना, बीटेकमा अध्ययनरत एक युवक र उनको बहिनी, जसले एमबीबीएसको लागि फ्री सीट पाए पनि आर्थिक अभावका कारण अवसर गुमाउने अवस्थामा पुगेका थिए। तर मुख्यमन्त्रीसँग गरिएको एउटा भेटले उनीहरूको जीवनलाई नयाँ मोड दियो। अब दुवैजनाले अध्ययनलाई निरन्तरता दिइरहेका छन् मुख्यमन्त्रीले शिक्षा मात्र होइन, उनीहरूको सपना जोगाइदिनुभयो। यी दुई उदाहरण मात्र हुन।

हाम्रो समाजमा शिक्षा र स्वास्थ्य दुबै क्षेत्रमा आर्थिक अवस्था मुख्य बाधा हो। आफ्नो सन्तानको भविष्य बनाउने सपना बोकेर जीउधन गुमाउने आम अभिभावकहरूका लागि यस्तो नेतृत्व प्रेरणादायी हुन्छ। उहाँको यही सोचले राज्यका थुप्रै जनताले ऋणको जन्जिरमा बाँधिनु परिरहेको बेला स्वतन्त्रताको सास फेरिरहेका छन्।

यसैगरी महिलाहरूको सशक्तिकरणको पक्षमा ल्याइएको “बहिनी योजना”, “आमा योजना” वा “वात्सल्य योजना” जस्ता कार्यक्रमहरूले राज्यका नारीहरूलाई केवल सहायता हैन, आत्मसम्मानसहितको जीवन जिउन हौसला दिएको छ।

त्यसैगरी, सिक्किम गरीब आवास योजना, मुख्यमन्त्री आवास योजना लगायतका माध्यमबाट आर्थिकरूपले विपन्न नागरिकहरूको जीवनमा ‘घर’ भन्ने सपना साकार बनाइँदैछ। एउटा गरिब परिवारलाई पनि आफ्नो छानामुनि जीवन यापन गर्न सक्ने व्यवस्था गरिदिने सोच नेतृत्वमा हुन्छ भने मात्र यस्तो योजना कार्यान्वयनमा आउँछ। यस्ता योजनामा केवल घरको कुरा हुँदैन, सम्मानपूर्वक बाँच्ने अधिकारको कुरा हुन्छ।

त्यसैले मलाई बारम्बार लाग्छ उहाँ एक मुख्यमन्त्रीमात्र होइन, हाम्रा मुख्य अभिभावक हुनुहुन्छ। उहाँको हरेक निर्णय, नीति, र व्यवहारले अभिभावकको संवेदना बोकेको छ। नेतृत्वमा यति संवेदनशील र सेवामूलक सोच हुनु दुर्लभ कुरा हो।

हामीले यस्ता नेतृत्वलाई केवल हैसियत होइन, समर्थन र सम्मान दिनुपर्छ। किनभने यस्तो नेतृत्वले जनतालाई नागरिकभन्दा बढी आफ्ना सन्तानसरह मानेको अनुभूति दिलाउँछ। यस्तो अभिभावकलाई गुमाउनु हाम्रो दुर्भाग्य हुनेछ।

यो मेरो निजी अनुभूति हो, कुनै पार्टीको एजेन्डा होइन। मन छोएका कुरा तपाईंहरूसामु राखेकी छु। तपाईंहरूको मनमा पनि यसको केही अंश अवश्य टाँसिनेछ भन्ने आशा राखेकी छु।

अन्त्यमा, यस्ता जीवनस्पर्शी अनुभवहरू पुनः समय–समयमा तपाईंहरूसँग साझा गरिरहने छु।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button