देशभक्तिको नाममा दलाली : आत्मसम्मान भुल्नेहरू र हाम्रो मौलिकता

# अविनाश शर्मा

नेपाल कुनै नयाँ राष्ट्र होइन, यो राष्ट्र हिमालयको काखमा बसेको, वैदिक, किराँत र बौद्ध सभ्यताको सह-अस्तित्वमा विकसित भएको गहिरो ऐतिहासिक जरा भएको राष्ट्र हो। यहाँका हरकुनामा आध्यात्मिकताको सुगन्ध छ, संस्कृति, संस्कार र सनातन ज्ञानको गहिराइ छ। यिनै सभ्यता र परम्पराको प्रतिनिधित्व गर्ने योगी नरहरीनाथ, गुरु फाल्गुनानन्द र स्वामी प्रपन्नाचार्यजस्ता सिद्धपुरुषहरू हाम्रो आत्मा हुन्, हाम्रो गौरव हुन्। तर दुर्भाग्य, आज कतिपय C-ग्रेडका दलालहरूले यी दिव्य व्यक्तित्वहरूलाई होच्याउने दुस्साहस गर्दैछन् र विदेशी मानसिकताको नाङ्गो अनुकरणमा रमाउँदैछन्।

नेपालमा जति गहिरो आध्यात्मिकता छ, त्यति नै गहिरो इतिहासबोध पनि छ। योगी नरहरीनाथ कुनै सामान्य सन्त थिएनन्, उनी त नेपालको वैदिक परम्परा र सांस्कृतिक इतिहासलाई आध्यात्मिक गहिराइबाट व्याख्या गर्ने सिद्ध सन्त थिए। गुरु फाल्गुनानन्दले लिम्बू समुदायभित्र आध्यात्मिक अनुशासन, स्वाभिमान र आत्मपरिचयको जागरण गरे। स्वामी प्रपन्नाचार्यले त हाम्रा पुराना शास्त्र, परम्परा र सभ्यता कसरी हाम्रो परिचय हो भन्ने कुरा देशविदेशमा सशक्त ढंगले राखे। यस्ता महामानवहरूलाई बेवास्ता गरेर भारतीय राष्ट्रिय स्वयंसेवक संघ (RSS) का संस्थापक हेगडेवार र गोलवाकरलाइ भगवानझैँ मान्ने नेपालीहरू कुनै पनि हालतमा “देशभक्त” होइनन्, ती त मानसिक रूपमा उपनिवेश बनिसकेका आत्महीन दलालहरू हुन्।

यस्ता दलालहरूको इतिहास पनि खासै गौरवपूर्ण छैन। यो वर्ग कहिले कांग्रेस (आई) को चाकरीमा लाग्थ्यो, कहिले CIA को इसारामा देशको आन्तरिक राजनीतिमा खेल खेल्थ्यो, अनि कहिले राजा वीरेन्द्रको बंश विनाशमा सहयोग पुर्‍याउँथ्यो। उनीहरू कहिले हिन्दु देखिन्छन्, कहिले धर्मनिरपेक्षताको मुखुण्डो भिरेर बौद्ध वा इसाई बन्छन्। तर यिनीहरूको एउटै सत्य चिन्न सकिन्छ, सत्ता र पैसाको लोभमा जसको खुट्टा ढोग्छन्, त्यसैको गुलामी गर्छन्। यी देशभक्त होइनन्, यी त तिनै “काला अंग्रेज” हुन् जसले आफ्नै सभ्यता बेच्न लाज मान्दैनन्।

नेपालको वैदिक परम्परा, किराँत धर्म र बौद्ध दर्शन तिनै मूल स्रोत हुन् जसले हिमवत खण्डको चेतनालाई जीवित राखेको छ। तर आज यिनै परम्परालाई समाप्त पार्ने योजनामा लागेका विभिन्न विदेशी संस्था र तिनका स्थानीय अनुयायी सक्रिय छन्। दलाइ लामालाई राजनीतिक मसीहाजस्तो पुज्ने तथाकथित बुद्धिष्टहरू, भ्याटिकनको क्रस बोकेर नेपाली जनताको आत्मा परिवर्तन गर्न उद्दत इसाई धर्मप्रचारकहरू र आज हेगडेवार-गोलवाकरलाई शिवजीको अवतार मानेर आरती उतार्ने तथाकथित हिन्दुहरू यी सबैको लक्ष्य एउटै छ: नेपालमा मौलिक धर्म-संस्कृति समाप्त पारेर मानसिक उपनिवेश निर्माण गर्नु।

यी दलालहरूलाई न त वैदिक संस्कृतिबाट मोह छ, न बौद्धमार्गको करुणाबाट ज्ञान छ, न किराँत धर्मको आत्मनिर्भर चेतनाबाट कुनै सम्बन्ध। उनीहरूको एक मात्र धर्म हो शक्तिमा जो छ, उसको खुट्टा ढोग्ने। हेगडेवार र गोलवाकरजस्ता भारतीय हिन्दुत्वका राजनीतिक सूत्रधारहरूप्रति निष्ठा देखाएर नेपालमा हिन्दु राष्ट्रको नारा लगाउनेहरू वास्तवमा न हिन्दु छन्, न राष्ट्रवादी, ती त केवल नेपालको सांस्कृतिक आत्मालाई भारतीय राजनीतिक प्रयोगशालामा मिसाउने परियोजनाका प्रतिनिधि हुन्।

हामीले बिर्सनु हुँदैन भारतमा गोलवाकरले लेखेको ‘We or Our Nationhood Defined’ पुस्तकमा उनले विविधतापूर्ण धर्म-समुदायलाई भारतको मूल अवधारणासँग असंगत मानेका छन्। उनले हिन्दु राष्ट्रको परिभाषामा मुसलमान, इसाई, बौद्ध र जैनलाई बाहिरी तत्वका रूपमा चित्रण गरेका छन्। अब सोध्न मन लाग्छ नेपाल जस्तो बहु-धार्मिक, बहु-सांस्कृतिक राष्ट्रमा यस्तो सोच बोकेकाहरूको नक्कल किन?

यदि हामी साँच्चिकै देशभक्त हौं भने, हामीले आफ्ना सन्त, साधु र आध्यात्मिक धरोहरप्रति गर्व गर्न जान्नुपर्छ। नरहरीनाथको साधनालाई, फाल्गुनानन्दको आध्यात्मिक आन्दोलनलाई, प्रपन्नाचार्यको विद्वत्ता र मौलिकताको खोजीलाई आत्मसात गर्न जान्नुपर्छ। डा. जगमान गुरुङ र चन्द्रकुमार शेर्माजस्ता व्यक्तित्वहरूले जसरी नेपालभित्रकै संस्कृतिलाई गहिराइबाट बुझे, त्यो दृष्टिकोण आज पुनःजागरणको खाँचो हो। विदेशी सोच र शक्तिको भजन गाएर होइन, आफ्नै गौरवको स्तुति गरेर मात्र हामीले राष्ट्रिय पहिचान बचाउन सक्छौं।

हाम्रो संस्कृति मूलतः समन्वयवादी हो। यहाँ वैदिक ऋषिहरू छन्, किराँत मुन्दुमका ज्ञानहरू छन्, बुद्धका चार आर्य सत्य छन्। यी सबै हामीभित्रका छन्। तर दलाली चेतनाले यी मूल्यहरू बेकार लाग्छन्, उसलाई चाहिन्छ ‘बाहिरको भगवान’ र ‘बाहिरको विचारधारा’। उसले कहिले भ्याटिकन ढोग्छ, कहिले खुम्बुमे दलाइ लामाको आदेश पालना गर्छ, कहिले नागपुर गएर RSS को तालिममा रमाउँछ। यी व्यक्ति धर्मको नाममा सक्रिय देखिन्छन् तर वास्तवमा धर्म-विनाशक हुन्।

आज हामीले चिनेका विद्वान, योगी र गुरुहरूको सन्देश अझ प्रासंगिक छ। उनीहरूले सधैँ आत्मसम्मान, स्वदेशी चेतना र आध्यात्मिक स्वराज्यको कुरा गरे। आज देशभक्त बन्ने हो भने, आत्महीन अनुकरण होइन, आत्मसम्मानित सृजनशीलताको बाटो लिनुपर्छ।

अन्ततः, देशभक्ति भनेको सरकारको चाकरी होइन, सत्ताको अनुकरण होइन, देशभक्ति भनेको आफ्ना महामानवहरूको मूल्य र परम्परालाई आत्मसात गर्दै बाह्य हस्तक्षेपविरुद्ध उभिन सक्ने साहस हो। नेपालका यस्ता साहसी सन्त र विद्वानहरूले देखाएको बाटोमै हाम्रो मुक्ति सम्भव छ। हेगडेवार र गोलवाकर होइन, नरहरीनाथ र फाल्गुनानन्द हुन् हाम्रो प्रेरणा। जुन दिन यो कुरा हामीले बुझेका हुनेछौं, त्यस दिन नेपाल साँच्चिकै आत्मनिर्भर, गौरवशाली र आध्यात्मिक राष्ट्र बन्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button