“नेपाल प्रथम, नेपाली एक” पुनर्जागरणको आह्वान

सम्पादकीय

नेपाल आज पुनः एक निर्णायक मोडमा छ। १२ बुँदे सम्झौतादेखि सुरु भएको राजनीतिक यात्राले स्थायित्व होइन, अस्थिरता, भ्रष्ट्राचार र विदेशी हस्तक्षेप जन्मायो। जनताले विकास, अनुशासन र पारदर्शिता खोजे, तर पाए स्वार्थी गठबन्धन र अविश्वसनीय नेतृत्व।

राजा ज्ञानेन्द्रले शासनकालमा गल्ती गरे, तर जिम्मेवारी लिए, देश नछोड्ने अठोटले उनलाई देशभक्त प्रतीक बनायो। “म देश छोडेर कहिल्यै विदेश जान्न” भन्ने उनका शब्द आजको नेतृत्वका लागि दर्पण हुन्। जब जनप्रतिनिधिहरू विदेशमा निर्भर छन्, त्यही बेला मातृभूमीप्रतिको निष्ठा जनतामा पुनः जाग्दैछ।

नेपालको समस्या व्यवस्थाको होइन, चरित्रको हो। जब देश आफ्ना इतिहास र परम्परागत मूल्यबाट विच्छेद हुन्छ, विदेशी शक्तिहरूको नियन्त्रण सहज हुन्छ। आज नीति–निर्माण काठमाडौंमा होइन, वाशिङटन र दिल्लीमा हुँदैछ। यही हो नेपालको राजनीतिक दुर्घटना।

देशलाई अहिले दलगत प्रतिस्पर्धा होइन, राष्ट्रिय सहमतिको आवश्यकता छ। सेना, दल र राजसंस्थाबीच सन्तुलन र संवाद पुनर्स्थापना नै स्थायित्वको आधार हो। जनता आज “राजा आउ” होइन, “देश बचाउ, नेपाली एक बनाउ” भन्ने चेतनामा छन्।

यदि दलहरूले अझै पनि आत्मपरीक्षण गरेनन् र विदेशी प्रभावमाथि मौन रहे भने, इतिहास फेरि निर्मम हुनेछ। कांग्रेस र एमालेले अग्रसर भई राजासँग संवाद र जनतासँग मेलमिलापको बाटो लिनुपर्छ, यो सत्ता बाँडफाँड होइन, राष्ट्र पुनर्जागरणको नीति हो।

नेपाललाई अब नयाँ संविधान होइन, नयाँ सोच चाहिएको छ। नयाँ दल होइन, नयाँ दृष्टिकोण “नेपाल प्रथम, नेपाली एक।” यही चेतनाबाट राष्ट्रिय पुनर्जागरणको यात्रा सुरु हुनेछ।

अब हरेक नेपालीको अठोट एकै हुनुपर्छ “देश डुब्न दिँदैनौं, नेपाल उठाउँछौं।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button