न्यू डाँफे स्पोर्ट्स क्लबको नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित

काठमाडौं, असाेज २५ गते (२०८२) — न्यू डाँफे स्पोर्ट्स क्लबकाे आज शनिबार सम्पन्न आकस्मिक भेलाले नयाँ कार्य समिति सर्वसम्मत र निर्विरोध रूपमा चयन गरेको छ। यसअघिको समितिले सामूहिक राजीनामा दिएपछि पूर्व फुटबल खेलाडी तथा समाजसेवी लाेक बहादुर खत्रीले आकस्मिक रुपमा हिजो मात्रै भेला डाक्नु भएको थियो। क्लबको आन्तरिक संरचना सुदृढ गर्दै आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न आयोजित भेलामा ९ जना पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका छन् भने २ जना सदस्य मनोनयन गर्ने निर्णय गरिएको छ।

क्लबको नेतृत्व अब बालाराम खत्रीको अध्यक्षतामा अघि बढ्नेछ। यस्तै, अध्यक्षमा बालाराम खत्री, दान बहादुर गुरूङ्ग उपाध्यक्ष, तेजेन्द्र नाथ योगी सचिव, हरी प्रसाद बि.क. कोषाध्यक्ष, र दिपेन्द्र कुमार शाही सहसचिवको रूपमा सहमतिमा चयन भएका छन्।
सदस्यहरूमा सिमोन गुरूङ्ग, प्रविण बि.क., कर्ण बहादुर बि.क. र श्रीमती रिमा कुमारी थापा निर्विरोध निर्वाचित भएका छन्। बाँकी दुई सदस्य भने कार्यसमितिबाट मनोनयन गरिनेछ।
भेलाले नयाँ कार्य समितिलाई क्लबको लक्ष्य, उद्देश्य र गतिविधिहरूलाई अझ प्रभावकारी र सशक्त रूपमा अघि बढाउने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

नयाँ समितिको गठनसँगै क्लबले युवा सशक्तीकरण, खेलकुदको प्रवर्द्धन, र सामाजिक गतिविधिमा अझ सक्रिय सहभागिता जनाउने विश्वास गरिएको छ। यसअघिको तिलकवीर सुनारको अध्यक्षताकाे समितिले सामूहिक राजीनामा दिएपछि आपतकालीन घाेषणा मार्फत नयाँ कार्य समिति चयन गरिएको हो। अन्यथा विधानअनुसार कम्तीमा पनि १५ दिन अगाडि सूचना दिएर साधारणसभा बाेलाएर त्यसमार्फत मात्रै नयाँ कार्य समिति गठन गरिनुपर्छ।






