विरोधको नाममा राष्ट्र नजलाऔं
सम्पादकीय

नेपालको इतिहास आन्दोलनको इतिहास हो, तर अहिलेको जो आन्दोलन देखिँदैछ, त्यो विनाशको रूप लिएको छ। सडकमा आगो, सरकारी भवनमा लागेको ज्वालोले राष्ट्रको भविष्य जलाइरहेको छ। के कुनै राजनीतिक असन्तुष्टिको लागि सम्पूर्ण राष्ट्रिय सम्पत्ति निशाना बनाउनु उचित हो?
हामीले विगतमा जनयुद्धको रक्तरंजित अध्याय देख्यौं। आज फेरि उहीँ हिंसा, उहीँ विनाश। के हामीले यस्तो ‘आन्दोलन संस्कृति’लाई अंगिकार गर्छौं?
सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म जलाइनु भनेको हामी आफैँको इतिहास जलाइरहेका हौं। यी भवनहरू सत्ताको प्रतीक मात्र होइनन्, हामी सबैको साझा सम्पत्ति हुन्।
विश्वका विकसित राष्ट्रहरूले आफ्ना संस्थान जलाएर परिवर्तन माग्दैनन्। उनीहरूको असहमति संवैधानिक मार्गबाट व्यक्त हुन्छ। नेपालमा भने ‘परिवर्तन’को नाममा भएको विध्वंसले हाम्रो राजनीतिक अपरिपक्वतालाई देखाउँछ।
आज सामाजिक सञ्जाललाई विध्वंसको हतियार बनाइएको छ। झुटा समाचार र विभाजनकारी सन्देशहरूले समाजलाई विषाक्त बनाइरहेको छ। यसको लागि कानुनी ढाँचा आवश्यक छ।
हामी एउटा निर्णायक मोडमा छौं। हामीले राष्ट्र निर्माणको बाटो छान्नुपर्छ वा राष्ट्र विनाशको। साँचो देशभक्ति भनेको सडक जलाउनु होइन, भ्रष्टाचार विरुद्ध लड्नु हो। संवैधानिक मार्गबाट आवाज उठाउनु हो।
नेपालले अब विनाशको राजनीति होइन, निर्माणको राजनीति चाहन्छ। हामी सबैको जिम्मेवारी छ कि हामीले आफ्नो भावी पुस्ताका लागि एउटा शान्त र समृद्ध राष्ट्रको नींव राखौं।





