ट्वाइलेट र कपडा फेर्न भ्यान मागेपछि विवादमा नीति शाह

चलचित्र छायाँकनस्थलमा महिला कलाकारलाई कपडा फेर्न अफ्ठ्यारो हुने गरेको भन्दै भ्यानिटी भ्यान माग गरेपछि अभिनेत्री नीति शाह विवादमा तानिएकी छन् । फिल्म छायांकनका लागि अत्यावश्यक प्राविधिक समाग्रीसमेत अभाव भैरहेका बेला उनले विलासी उपकरण मागेकाे भन्दै चलचित्रकर्मीहरूले नै उनको आलोचना गरेका हुन् ।

नीतिले आज समाजिक सञ्जालमा यसबारे लामो धारण राख्दै स्पष्टीकरण दिएकी छन् । आफ्नो अभिव्यक्ति र आशयलाई तोडमोड गरेर हल्ला फैलाइएको उनको दाबी छ ।

केही दिनअघि सञ्चारमन्त्री जगदिश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थितिमा चलचित्र उद्योगका समस्या र समाधानका उपायबारे छलफल आयोजना गरिएको थियो । छलफलमा नीतिले भ्यानिटी भ्यान नहुँदा महिला कलाकारले अप्ठेरो ब्यहोर्नुपरेको अनुभव सुनाएकी थिइन् ।

त्यसबारे जानकारी दिँदै उनले भनेकी छन्, ‘केहीले भन्नुभयो कि मैले बोल्ने विषय त्यहाँको लागि उपयुक्त थिएन, तर म स्पष्ट भन्न चाहन्छु, त्यो नै सही समय र ठाउँ थियो । हामीलाई उद्योगका समस्या र सुधारका विषयमा बोल्न बोलाइएको थियो, र मैले त्यसैबारे बोलेँ ।’

चलचित्र छायाँकनलको लागि विभिन्न ठाउँ पुग्दा महिला कलाकारका लागि शौचालय र कपडा फेर्न सुरक्षित स्थान खोज्न समस्या हुने गरेको नीतिको भनाइ छ ।

‘हामी काठमाडौँबाहिर छायाँकन गर्दै थियौं । मसँग एक भारतीय मोडेल थिइन्, जसले वाशरूम र भ्यानिटी भ्यानबारे सोधिन् । त्यहाँ भ्यानिटी भ्यान थिएन, र हामीले आफ्नो टिमको भाडाको बसभित्रै कपडा फेर्नुपर्‍यो’, छलफलबारे उनले भनेकी छन्, ‘मैले यो सुझाव दिएकी थिएँ कि यदि सम्भव भए यस्ता भ्यानिटी भ्यान वा आधारभूत सुविधा बनाउन केही सहयोग वा कोषको व्यवस्था गर्न सकिन्छ ।’

आफूले महिला कलाकारलाई काम गर्न सहज वातावरण बनाइयोस् भन्ने उद्धेश्यले मात्र भ्यानिटी भ्यानको कुरा उठाएको पनि उनले प्रस्ट पारेकी छन् ।

‘कहिलेकाहीँ छायांकनका क्रममा हामी गाउँ–टोलका घरहरूमा गएर कपडा फेर्न अनुमति माग्नुपर्छ, र कहिलेकाहीँ सम्भव नभए भाडा बसमा कपडा फेर्नुपर्छ, यस्तो अवस्था कुनै पनि कलाकारका लागि सहज होइन’, नीतिले भनेकी छन्, ‘मेरो उद्देश्य केवल आफ्नो अनुभव साझा गर्नु र ती महिला कलाकारहरूको आवाज बन्नु हो, जसले यस्ता कठिनाइहरू भोग्छन् तर बोल्ने अवसर पाउँदैनन् । दुःखको कुरा, जब यस्ता विषयहरू उठाइन्छन्, धेरैले त्यसलाई मजाकको रूपमा लिन्छन् वा तोडमोड गर्छन् ।’

सफा शौचालय र निजी रूपमा कपडा फेर्ने सुरक्षित स्थान कुनै विलासिता नभइ आधारभूत अधिकार भएको उनको दाबी छ । ‘यस्ता विषयलाई हाँसो वा हल्का रूपमा नलिई, यसलाई कलाकारको गरिमा, सुरक्षा र पेशागत सम्मानसँग जोडिएको विषयको रूपमा लिन आवश्यक छ’, उनले थपेकी छन्,

भ्यानिटी भ्यान एक सुविधा युक्त गाडी हो, जुन छायाँकनको क्रममा कलाकारको लागि प्रयोग हुन्छ । गाडीमा शौचालय, मेकअप र आराम कक्षको व्यवस्था गरिएको हुन्छ । बलिउड र हलिउड चलचित्रको छायाँकनमा उक्त भ्यान निकै प्रयोग भए पनि नेपाल भने खासै अभ्यास देखिदैँन ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button