सत्ताको छायाँमा खरानी भएको नैतिकता !

# पासाङ ल्हामु
जेन जीकाे नामबाट भएको हिंसात्मक र ध्वंसात्मक घटनामा अरबाैं रुपैयाँ बराबरको स्वदेशी र विदेशी रकम नेताहरूका घरमै जलेको देखिनु भेटिनु कुनै साधारण समाचार होइन। यो घटना नेपालको राज्य व्यवस्था, राजनीतिक नैतिकता र लोकतान्त्रिक संस्कारमाथि ठाडो प्रश्न हो। यस्तो घटनाले कानुनको शासन बलियो छ कि कमजोर, दलहरू उत्तरदायी छन् कि केवल सत्तामुखी, र कार्यकर्ताहरू जनताका प्रतिनिधि हुन् कि नेताका दास? यी सबै कुराको कठोर परीक्षा लिन्छ। दुर्भाग्यवश, यहीँबाट नेपाली राजनीतिको वास्तविक अनुहार नाङ्गिन थाल्छ।
शेरबहादुर देउवा र उनकी पत्नीको नाम जोडिएर यति ठूलो आर्थिक काण्ड सार्वजनिक हुँदा पनि सत्तारूढ नेपाली काङ्ग्रेसभित्र न त आत्मालोचना देखियो, न त नैतिक दबाब। अझ चिन्ताजनक त के छ भने, पार्टी नेतृत्व मात्र होइन, तिनका कार्यकर्ता समेत पूर्ण मौनतामा छन्। यो मौनता कुनै संयोग होइन, यो दास मानसिकताको प्रतिफल हो। लोकतान्त्रिक पार्टीमा प्रश्न उठ्नु स्वाभाविक प्रक्रिया हो, तर यहाँ प्रश्न उठाउनु अपराधजस्तै मानिन्छ। यसले काङ्ग्रेसलाई जनमुखी दलभन्दा पनि व्यक्ति केन्द्रित संरचनामा रूपान्तरण गरिदिएको छ।
यदि यही रकम कुनै सामान्य नागरिकको घरमा भेटिएको भए के हुन्थ्यो भन्ने प्रश्न अब काल्पनिक छैन। तत्काल पक्राउ, मिडिया ट्रायल, सम्पत्ति जफत र चरित्रहत्या निश्चित हुन्थ्यो। तर सत्ता नजिकको घरमा पैसा जल्दा कानुन मौन हुन्छ, राज्य निरीह बन्छ र संस्थाहरू लाचार देखिन्छन्। यही दोहोरो मापदण्डले जनताको राज्यप्रतिको विश्वास टुट्दै गएको छ। लोकतन्त्रको सबैभन्दा ठूलो शत्रु विपक्षी दल होइन, यस्तै संस्थागत अन्याय हो।
कुनै बेला बलिदान, संघर्ष र विचारको राजनीति गरेको नेपाली काङ्ग्रेस आज सत्ता जोगाउने मेसिनमा सीमित देखिन्छ। कार्यकर्ताहरू नेता र परिवारको रक्षा कवच बनेका छन्। अब प्रश्न उठ्छ यस्ता कार्यकर्ता कुन मुख लिएर जनताको घरदैलोमा भोट माग्न जान्छन्? कुन नैतिक आधारमा लोकतन्त्र, सुशासन र विधिको शासनको कुरा गर्छन्? जब जनताले ती अरबाैंको हिसाब सोध्छन्, उनीहरूसँग जवाफ छैन, केवल टार्ने शब्द र इतिहासको सहारा मात्र छ।
अब आउने चुनावमा कार्यकर्ताले सामना गर्ने चुनौती विपक्षी दलको प्रचार होइन, जनताको प्रश्न हो। यो प्रश्न गालीमा होइन, तर्कमा आउँछ। “कानुन सबैका लागि बराबर किन भएन?” “यति ठूलो काण्डमा तपाईंहरू किन चुप लाग्नुभयो?” “नेता गलत हुँदा पनि समर्थन गर्नु कस्तो राजनीति हो?” यस्ता प्रश्नको सामना न नाराले गर्न सकिन्छ, न भावनात्मक भाषणले। बीपीको नाम लिँदै वर्तमानको पाप ढाक्ने दिन समाप्त हुँदैछ।
राष्ट्रवादको वास्तविक अर्थ अब पुनः परिभाषित हुन जरुरी छ। राष्ट्रवाद झण्डा बोकेर नारा लगाउनु मात्र होइन। राष्ट्रवाद भनेको सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हो, शक्तिशालीलाई पनि कानुनको कठघरामा उभ्याउनु हो, र गलतको विरोध गर्ने साहस राख्नु हो। जब राज्यको ढुकुटी जल्दा पनि राजनीतिक शक्ति मौन बस्छ, त्यो राष्ट्रवाद होइन, राष्ट्रघात हो। यस्तो मौनता भविष्यका अझ ठूला अपराधका लागि निम्तो हो।
आज देश केवल चुनावको तयारीमा छैन, नैतिक निर्णयको मोडमा छ। यो चुनाव दल र उम्मेदवार छान्ने प्रक्रिया मात्र होइन, सत्ता वर्गमाथि जनताको नैतिक फैसला हो। जो चुप बसे, उसले पनि जिम्मेवारीबाट उम्कन पाउने छैन। उसले पनि जवाफ दिनुपर्नेछ। किनकि लोकतन्त्रमा अपराधभन्दा पनि खतरनाक कुरा हुन्छ, अपराधप्रति मौन समर्थन।
यदि नेपाली काङ्ग्रेसका कार्यकर्ताले आज आत्मालोचना गर्न सकेनन् भने, भोलि उनीहरू भोट माग्न होइन, जनताको आक्रोश सामना गर्न घरदैलोमा पुग्नेछन्। त्यो आक्रोश कुनै षड्यन्त्र होइन, वर्षौंदेखि जम्मा भएको असन्तोषको स्वाभाविक विस्फोट हुनेछ। इतिहासले सधैँ एउटा कुरा प्रमाणित गरेको छ, जनताको धैर्य सकिएपछि सत्ता, नाम र परिवार कसैले पनि बचाउन सक्दैन।





