नातावादको पुरानै रोगले नयाँ राजनीतिको आवरण च्यातियो

कुलमान घिसिङ प्रकरणले रास्वपाको ‘नैतिक राजनीति’ माथि गम्भीर प्रश्न

काठमाडौं — दशकौँदेखि नेपाली जनताले लड्दै आएको एउटा साझा लडाइँ छ नातावाद, कृपावाद र शक्ति केन्द्रित राजनीतिविरुद्धको संघर्ष। यही संघर्षको थकाइ र आक्रोशबाट जन्मिएको ‘नयाँ राजनीतिको’ दाबी गर्ने शक्तिमाथि अहिले गम्भीर नैतिक संकट खडा भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय भएका उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङले समानुपातिक सूचीमा आफ्नै भान्जा र ससुराको नाम समावेश गराएको तथ्य सार्वजनिक भएपछि पार्टीभित्रै तीव्र विरोध भएको छ। यो केवल एउटा सूची सच्याउने प्राविधिक विषय होइन, राजनीतिक चरित्र, नैतिकता र राष्ट्रिय उत्तरदायित्वसँग गाँसिएको प्रश्न हो।

कुलमान घिसिङ लामो समयदेखि योग्यतामा आधारित शासन, पारदर्शिता र सुधारको पक्षमा आवाज उठाउँदै आएका व्यक्ति हुन्। तर सत्ता र अवसर नजिक पुगेपछि आफैंले आलोचना गर्दै आएको नातावादी अभ्यास दोहोर्‍याइनु देशका लागि चिन्ताजनक संकेत हो। समानुपातिक प्रणालीको मूल आत्मा भनेकै समावेशीकरण, त्याग गरेका कार्यकर्ता र सामाजिक प्रतिनिधित्व हो। तर त्यो प्रणालीलाई निजी परिवारको प्रवेशद्वार बनाइनु लोकतान्त्रिक मूल्यको अपमान मात्र होइन, संविधानको भावना माथिको प्रहार हो।

पार्टीका १६ जना केन्द्रीय सदस्यले एक स्वरमा विरोध गर्नु सामान्य घटना होइन। यसले स्पष्ट सन्देश दिन्छ कि रास्वपा भित्रै पनि ‘सबै ठीक छ’ भन्ने भ्रम चिरिएको छ। रास्वपाले आफूलाई परम्परागत दलहरूभन्दा फरक दाबी गर्दै आएको छ। तर नेतृत्व तहमा नातावाद प्रवेश गरिसकेपछि त्यो दाबी कति विश्वसनीय रहन्छ? यदि आज सूचीमा भान्जा–ससुरा अटाउँछन् भने, भोलि ठेक्का, नियुक्ति र नीति निर्माणमा कसको प्रभाव पर्ने? यो प्रश्न केवल पार्टीको होइन, राष्ट्रको भविष्यसँग जोडिएको हो।

उज्यालो नेपाल र रास्वपाबीच भएको एकताले अर्को गहिरो प्रश्न जन्माएको छ यो एकता मूल्यमा आधारित हो कि सत्ताकेन्द्रित सम्झौता? पहिचानवादी आन्दोलनका अगुवा डकेन्द्रसिंह थेगिमको असन्तुष्टि सामान्य असहमति होइन। पहिचान, संघीयता, समावेशी समानुपातिकता जस्ता संवेदनशील मुद्दा एकै झट्कामा ओझेलमा पारिनु देशको बहुसांस्कृतिक यथार्थप्रति गैरजिम्मेवार व्यवहार हो। उज्यालो नेपालको घोषणापत्रमा रहेका पहिचान, सामुदायिक समाजवाद र बहुसंस्कृतिवाद जस्ता विषयहरू एकताको कागजमा गायब हुनु राजनीतिक सौदाबाजीको स्पष्ट संकेत हो।

देशले आज आदर्शवादी भाषण होइन, नैतिक साहस भएको नेतृत्व खोजिरहेको छ। गल्ती स्वीकार गर्नु सकारात्मक हो, तर गल्ती हुनै नदिनु नेतृत्वको पहिलो जिम्मेवारी हो। यदि कुलमान घिसिङ साँच्चै नयाँ राजनीतिको प्रतीक बन्न चाहन्छन् भने, नातेदारको नाम फिर्ता लिनु मात्र होइन, समानुपातिक प्रणालीको दुरुपयोगप्रति सार्वजनिक आत्मालोचना गर्नुपर्छ, र भविष्यमा यस्ता अभ्यास नदोहोरिने स्पष्ट प्रतिबद्धता जनाउनुपर्छ।

राजनीति दलको नाम बदलिँदैमा नयाँ हुँदैन, प्रवृत्ति नबदलिएसम्म इतिहास दोहोरिरहन्छ। नातावादविरुद्ध आवाज उठाउने जनता आज चुप लाग्ने पक्षमा छैनन्। यदि ‘नयाँ शक्ति’ ले पनि पुरानै रोग बोकेर हिँड्ने हो भने, राष्ट्रले फेरि अर्को विकल्प खोज्न ढिला गर्ने छैन। देशभक्ति भनेको सत्ता जोगाउनु होइन, सिद्धान्त जोगाउनु हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button