इरान मामिलामा चीनले खेल्ने शान्तिको दूतको भूमिका : मध्यपूर्वमा ‘शटल कूटनीति’ तीव्र

बेइजिङ / इरानलाई लिएर उत्पन्न अन्तर्राष्ट्रिय तनावबीच चीनले आफूलाई शान्ति स्थापनाको ‘मध्यस्थकर्ता’को रूपमा अघि सारेको छ। मध्यपूर्वको भुइँमा आगो सल्किरहेका बेला चीनले वार्ता र संवादकै माध्यमबाट समस्या समाधान गर्ने पुरानो अडान दोहोर्याउँदै शान्तिको पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता ग्वो जियाकुनले बुधबार पत्रकार सम्मेलनमा भने, ‘इरानमाथिको द्वन्द्व सुरु भएदेखि नै चीनले युद्धविराम र वार्ताको पक्षमा आवाज उठाउँदै आएको छ। हामी राजनीतिक समाधानमा विश्वास गर्छौं।’ उनले थप जानकारी दिँदै भने, ‘मध्यपूर्व मामिलाका लागि चीनका विशेष दूत यतिखेर त्यस क्षेत्रमा ‘शटल कूटनीति’ अर्थात् एक देशबाट अर्को देश पुगेर वार्ता गर्ने कार्यमा व्यस्त हुनुहुन्छ।’

प्रवक्ताले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्य र मध्यपूर्वका मुलुकहरूको ‘इमान्दार मित्र’का रूपमा चीनले निष्पक्षता र न्यायको आवाजलाई कहिल्यै मत्थर हुन नदिने बताए। ‘हामी तनाव कम गर्न र शान्ति बहाली गर्न रचनात्मक भूमिका खेलिरहनेछौं,’ उनले भने।

चीनको यो कूटनीतिक पहललाई त्यस क्षेत्रमा आफ्नो प्रभाव बढाउने रणनीतिको रूपमा समेत हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button