इरानमाथिको युद्ध अवैधानिक : चीनद्वारा अमेरिका–इजरायललाई कडा चेतावनी, पाकिस्तानसँगको साझेदारीमा शान्तिको पहल

बेइजिङ / इरानमाथि जारी आक्रमणलाई लिएर चीनले अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै युद्ध तत्काल रोक्न माग गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले इरानको अवस्था झन् भयावह हुनबाट जोगाउने साँचो अमेरिका र इजरायलकै हातमा रहेको बताउँदै खाडी मुलुकमाथिको आक्रमण र निर्दोष नागरिक तथा नागरिक संरचनामाथिको प्रहारको कडा भर्त्सना गरेका छन्।
मङ्गलबार पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक डारसँगको टेलिफोन वार्तामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङ यीले भने, ‘इरानविरुद्धको युद्धमा वैधानिकता र कानुनी आधार केही छैन। यसलाई लम्ब्याउनुको अर्थ अनावश्यक रक्तपातलाई मात्र निम्तो दिनु हो।’
पाकिस्तानी विदेशमन्त्री डारले चीनलाई इरानको वर्तमान अवस्थाबारे जानकारी गराउँदै सबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे। उनले तनाव कम गर्न चीनले गरिरहेको प्रयासको प्रशंसा गर्दै संयुक्त राष्ट्रसंघलगायतका मञ्चहरूमा सहकार्य गरेर शान्ति स्थापनाको बाटो खोज्ने इच्छा व्यक्त गरे।
जवाफमा वाङ यीले सबै मौसममा सँगै हिँड्ने रणनीतिक साझेदार पाकिस्तानसँग अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा सहकार्य गर्ने चीनको पुरानो परम्परा रहेको स्मरण गराए। उनले भने, ‘इरानको मामिलामा हामी दुवै देशले दृढ अडान राखेका छौं, जसले संयुक्त राष्ट्रसंघको बडापत्रको सिद्धान्त र उद्देश्यप्रति हाम्रो प्रतिबद्धता देखाउँछ।’
चीनले पाकिस्तानको मध्यस्थता प्रयासको सराहना गर्दै आगामी दिनमा पनि बहुपक्षीय र द्विपक्षीय सहकार्य जारी राख्ने र यस क्षेत्रमा शान्ति स्थापनाको लागि पाकिस्तानको रचनात्मक भूमिकालाई निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।
दुई नेताबीच पाकिस्तान–अफगानिस्तान सीमामा भएको भर्खरको भिडन्तबारे पनि छलफल भयो। वाङ यीले अफगान मामिलाका लागि चीनका विशेष दूत दुई देशबीच वार्ता र मेलमिलापका लागि ‘शटल कूटनीति’मा व्यस्त रहेको जानकारी दिँदै भने, ‘अहिलेको तत्कालीन आवश्यकता भनेको थप तनाव रोकेर सकेसम्म चाँडो वार्ताको टेबलमा फर्किनु हो।’
चिनियाँ विदेशमन्त्रीले पाकिस्तानमा चिनियाँ नागरिक, परियोजना र संस्थाको सुरक्षा सुनिश्चित गर्न पाकिस्तानले हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरे। जवाफमा पाकिस्तानी विदेशमन्त्री डारले चीनको मध्यस्थता प्रयासको धन्यवाद दिँदै पाकिस्तानले चिनियाँ नागरिक र संस्थाको सुरक्षालाई अत्यधिक प्राथमिकता दिने र पूर्ण रूपमा सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।





