मध्यपूर्वको भविष्य खाडी मुलुककै हातमा : चीनद्वारा युद्धविरामको पक्षमा कडा अडान, कतारसँग रणनीतिक सहकार्य

बेइजिङ / मध्यपूर्वमा बढ्दो तनावबीच चीनले युद्धविरामको पक्षमा कडा अडान लिँदै खाडी मुलुकहरूलाई आफ्नो भविष्य आफैं निर्धारण गर्ने अधिकारको समर्थन गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले क्षेत्रीय स्थायित्वका लागि राजनीतिक समाधान अपरिहार्य रहेको बताउँदै तत्काल युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।
मङ्गलबार कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँगको टेलिफोन वार्तामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङ यीले भने, ‘खाडी मुलुकहरूको सार्वभौमसत्ता, सुरक्षा र भौगोलिक अखण्डताको सम्मान हुनुपर्छ। यस क्षेत्रको भविष्य यहाँका मुलुकहरूकै हातमा हुनुपर्छ।’
वार्तामा कतारी विदेशमन्त्री अल थानीले क्षेत्रीय अवस्था र कतारको धारणाबारे चीनलाई जानकारी गराउँदै संकट फैलिन र थप विकराल हुनबाट रोक्न कतारले कूटनीतिक प्रयास तीव्र पारेको र आत्मरक्षाका लागि आवश्यक कदम चालेको बताए। उनले चीनको निष्पक्ष र न्यायोचित अडानको प्रशंसा गर्दै युद्धविराम र शत्रुता अन्त्यका लागि चीनले थप सक्रिय भूमिका खेलोस् भन्ने आशा व्यक्त गरे।
जवाफमा वाङ यीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका रूपमा चीनले अन्तर्राष्ट्रिय मामिलामा सधैं सिद्धान्त र न्यायको पक्षमा अडान लिँदै आएको बताए। उनले सुरक्षा परिषद्को स्वीकृतिविनै अमेरिका–इजरायलले इरानविरुद्ध गरिरहेको सैन्य कारबाही संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्त तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मापदण्डको स्पष्ट उल्लङ्घन भएको टिप्पणी गरे।
चिनियाँ विदेशमन्त्रीले आक्रमणको दायरा विस्तार गर्नु अनुचित भएको र नागरिक तथा गैरसैनिक लक्ष्यमाथिको अन्धाधुन्ध आक्रमणको भर्त्सना गरे। ‘युद्धको निरन्तरताले हानिबाहेक केही दिँदैन र यसले सम्बन्धित सबै पक्षलाई ठूलो क्षति बेहोर्नु पर्नेछ,’ उनले भने।
वाङ यीले तनाव कम गर्न र शान्ति बहालीका लागि चीनले आफ्नो तरिकाले रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता दोहोर्याए। यस वार्ताले मध्यपूर्व शान्ति प्रक्रियामा चीन र कतारबीच बढ्दो कूटनीतिक सहकार्यलाई संकेत गरेको छ।





