महत्त्वाकाङ्क्षा, उत्तराधिकार र कांग्रेसको भविष्य: गगनमा देखिएको राजनीतिक हतारो

# प्रेम सागर पाैडेल

नेपाली राजनीतिमा नेतृत्वको बहस नयाँ होइन। तर पछिल्लो समय नेपाली कांग्रेसभित्र विकसित घटनाक्रमले नेतृत्व, उत्तराधिकार र महत्त्वाकाङ्क्षाको सम्बन्धलाई फेरि एकपटक गम्भीर रूपमा सतहमा ल्याइदिएको छ। विशेषतः महामन्त्री गगन थापाको भूमिकालाई लिएर पार्टीभित्र मात्र होइन, आम जनमानसमा पनि तीव्र बहस भइरहेको छ। युवा, ऊर्जाशील र प्रभावशाली वक्ताका रूपमा स्थापित गगन थापा आज ठूलो पार्टीका महामन्त्री भएकै कारण जनदृष्टिमा परेका छन्। उनको प्रस्तुति कला र राजनीतिक अभिव्यक्ति शैली धेरै हदसम्म अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग तुलना गरिन्छ। तर यहाँ प्रश्न प्रस्तुति मात्रको होइन, नेतृत्वको परिपक्वता, समयबोध र संस्थागत राजनीतिप्रतिको जिम्मेवारीको हो।

गगन थापा नेपाली कांग्रेसको परम्परागत संस्कार र संस्कृति भन्दा केही पृथक देखिन्छन्। यही पृथकताले उनलाई अवसर पनि दियो, आफूभन्दा धेरै सिनियर नेताहरूलाई उछिनेर पार्टीको उच्च जिम्मेवारीमा पुग्ने। तर यही विशेषता आज विवादको मूल केन्द्र पनि बनेको छ। राजनीति केवल व्यक्तिगत क्षमताको खेल मात्र होइन; यो सामूहिकता, धैर्य र क्रमिक उत्तराधिकारको अभ्यास हो। कांग्रेस जस्तो लामो इतिहास, बलियो संगठन र अनेक उतारचढाव भोगेको पार्टीमा नेतृत्व हस्तान्तरण सधैँ संवेदनशील विषय रहँदै आएको छ।

गगन थापाको राजनीतिक यात्रामा महत्वाकाङ्क्षा प्रष्ट देखिन्छ। त्यो स्वाभाविक पनि हो। राजनीति महत्वाकाङ्क्षा विनाको क्षेत्र होइन। तर प्रश्न यो हो, महत्त्वाकाङ्क्षा कति, कहिले र कसरी व्यक्त गर्ने? उनको हालको गतिविधि र अभिव्यक्तिलाई हेर्दा केटाकेटीमै प्रधानमन्त्री र पार्टी सभापति बन्ने सपना बोकेर अघि बढेझैँ देखिने टिप्पणीहरू आउनु आकस्मिक होइन। हतारोमा चालिएका कदमहरूले व्यक्ति मात्र होइन, संस्थालाई पनि क्षति पुर्‍याउने इतिहास नेपाली राजनीतिमा प्रशस्त छ।

अति महत्त्वाकाङ्क्षी नेतृत्वले सधैँ सकारात्मक परिणाम दिएको छैन भन्ने तथ्य हामीले विगतबाट सिक्नुपर्छ। तुल्सी गिरी, बाबुराम भट्टराई र प्रचण्डजस्ता उदाहरणहरू बारम्बार स्मरण गरिन्छ। फरक पृष्ठभूमि र विचारधाराका भए पनि यी सबैमा एउटा पक्ष देखिन्छ, आफ्नो महत्वाकाङ्क्षालाई संस्थाभन्दा अगाडि राख्दा अन्ततः राजनीतिक अस्थिरता र विभाजन निम्तियो। गगन थापा यी उदाहरणसँग पूर्ण रूपमा तुलना गर्न मिल्ला वा नमिल्ला, तर इतिहासबाट चेतावनी लिनु आवश्यक छ।

शेरबहादुर देउवा अब पुनः पार्टी सभापति नबन्ने कुरा लगभग शतप्रतिशत निश्चित भइसकेको अवस्थामा पनि गगन थापाले नेतृत्व हातपार्न देखाएको हतारोले कांग्रेसलाई अनावश्यक रूपमा विभाजित गराएको तर्क बलियो बन्दै गएको छ। तीन–चार महिनापछि देउवालाई ससम्मान बिदाई गर्ने वातावरण बन्दै गर्दा अहिले नै शक्ति प्रदर्शन र आन्तरिक दबाब सिर्जना गर्नु राजनीतिक दृष्टिले अपरिपक्व निर्णय मानिन्छ। कांग्रेसको परम्परा सधैँ सहमति, समायोजन र क्रमिक संक्रमणको पक्षमा रहँदै आएको छ।

सिनियर नेताहरूलाई सार्वजनिक रूपमा चुनौती दिने, विधान र प्रक्रियालाई लत्याएर अघि बढ्ने प्रवृत्तिले तत्कालीन रूपमा चर्चा त पाउन सक्छ, तर दीर्घकालीन रूपमा यसले पार्टीलाई कमजोर बनाउँछ। आज सिनियरलाई सताउने संस्कार बसालियो भने भोलि यही अभ्यास गगन थापामाथि नै प्रयोग हुनेछ भन्ने हेक्का राख्न जरुरी छ। राजनीति स्मृतिहीन हुँदैन; यहाँ स्थापित परम्पराहरू पुस्तौँसम्म असर पार्छन्।

नेपाली कांग्रेस अहिले कठिन संक्रमणकालमा छ। एकातिर पुरानो पुस्ताको विदाइ हुँदैछ, अर्कातिर नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्ने अवस्था छ। यो संक्रमण सन्तुलित, मर्यादित र संस्थागत हुनुपर्छ। गगन थापा नयाँ पुस्ताको प्रतिनिधि हुन् भन्नेमा विवाद छैन। तर प्रतिनिधित्वको अर्थ अधैर्य प्रदर्शन होइन, बरु परिपक्व नेतृत्व देखाउनु हो।

युवाले नेतृत्व लिनुपर्छ भन्ने बहस आफैँमा सही छ। तर नेतृत्व लिने शैली कस्तो हुन्छ भन्ने प्रश्न अझ महत्वपूर्ण छ। गगन थापाले यदि केही समय धैर्य गरेका भए, देउवाको ससम्मान विदाइपछि सहमतिमै नेतृत्वको केन्द्रमा पुग्ने सम्भावना उच्च थियो। तर अहिले देखिएको हतारोले उनी स्वयंको छवि मात्र होइन, कांग्रेसको संगठनात्मक एकतालाई पनि आघात पुर्‍याएको देखिन्छ।

आज कांग्रेसको मुख्य चुनौती बाहिरी प्रतिस्पर्धी होइन, आन्तरिक एकता हो। सत्तामा रहँदा होस् वा प्रतिपक्षमा, कांग्रेसको शक्ति सधैँ यसको संगठनात्मक एकता र लोकतान्त्रिक अभ्यासमै निहित रहँदै आएको छ। महत्वाकाङ्क्षा र अवसरवादले यदि यही आधार कमजोर बनायो भने त्यसको मूल्य केवल गगन थापा वा कुनै एक नेताले मात्र होइन, समग्र पार्टीले चुकाउनुपर्नेछ।

अन्ततः प्रश्न गगन थापा व्यक्ति कति सक्षम छन् भन्ने होइन; प्रश्न उनी कस्तो राजनीतिक संस्कार स्थापित गर्न चाहन्छन् भन्ने हो। आज देखिएको मार्ग यदि स्थापित परम्परा बन्यो भने भोलि कांग्रेसमा नेतृत्व लिन चाहने हरेक युवा यही हतारो, यही टकराव र यही अविश्वासको बाटो हिँड्न बाध्य हुनेछ। त्यसले कांग्रेसलाई नविकरण होइन, निरन्तर संकटतर्फ लैजानेछ।

यसकारण गगन थापा मात्र होइन, समग्र कांग्रेस नेतृत्वले आत्ममूल्याङ्कन गर्नुपर्ने समय आएको छ। महत्त्वाकाङ्क्षा आवश्यक छ, तर त्यसलाई समय, प्रक्रिया र संस्थागत मर्यादाभित्र राख्न सकियो भने मात्र त्यो रचनात्मक हुन्छ। नत्र इतिहासले देखाइसकेको छ कि अति महत्त्वाकाङ्क्षा अन्ततः व्यक्तिको पतन र संस्थाको क्षतिमा परिणत हुन्छ। कांग्रेसले यही इतिहासबाट पाठ सिक्ने कि फेरि दोहोर्‍याउने? यही प्रश्न आजको राजनीतिक बहसको केन्द्रमा छ।

लेखक: प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ। उहाँले नेपाल-चीन सम्बन्ध, हिमालय क्षेत्रको भू-राजनीति, र एसियाली सुरक्षा मुद्दाहरूमा गहन अध्ययन गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button