युद्धको छायाँमा संसार, सहकार्यको उज्यालो: चीनको दृष्टि र नेपालको कूटनीतिक अवसर

# प्रेम सागर पाैडेल
विश्व राजनीति हाल निर्णायक मोडमा उभिएको छ। शीतयुद्ध पछि एकध्रुवीय शक्ति सन्तुलनले आफूलाई “अन्तिम विकल्प” ठान्दै अघि बढ्दा संसारले अपेक्षा गरेको स्थायित्व, शान्ति र समृद्धि प्राप्त हुन सकेन। पछिल्लो तीन–चार दशकको अनुभवले स्पष्ट देखाएको छ कि सैन्य हस्तक्षेप, शासन परिवर्तनको प्रयास र बाह्य दबाबले समस्या समाधान गर्नुको सट्टा समस्याका श्रृंखला सिर्जना गर्यो। यही परिप्रेक्ष्यमा, संयुक्त राज्य अमेरिकाले सुरु गरेका युद्धहरूको औचित्य, प्रभाव र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा पारेको असर गम्भीर रूपमा समीक्षा गर्नु आवश्यक छ।
अफगानिस्तान, इराक, लिबिया, सिरिया, भियतनाम, युगोस्लाभिया लगायतका मुलुकहरूमा अमेरिकी नेतृत्वमा भएका युद्धहरूले शान्ति र लोकतन्त्र ल्याउने दाबी गरे। तर यथार्थ फरक रह्यो। अफगानिस्तानमा बीस वर्ष लामो सैन्य उपस्थिति पश्चात अचानक फिर्तीले राज्य संरचना कमजोर मात्र बनाएन, नागरिक जीवनलाई अनिश्चित भविष्यतर्फ धकेल्यो। इराकमा सत्ता परिवर्तनपछि उत्पन्न गृहयुद्ध, साम्प्रदायिक हिंसा र चरमपन्थ फैलियो। लिबियामा नाटो हस्तक्षेपपछि राष्ट्रिय एकता विघटन भयो, जहाँ आजसम्म स्थायी शासन प्रणाली स्थापित हुन सकेको छैन।
यी सबै घटनाले स्पष्ट देखाउँछन्, युद्धको औचित्य पुष्टि नहुने वा अस्पष्ट आधारमा गरिए। युद्धले मात्र समाधान ल्याउने पश्चिमी दृष्टिकोण असफल भएको छ। परिणामस्वरूप विश्वले शरणार्थी संकट, चरमपन्थ, आर्थिक विनाश र सामाजिक विखण्डन भोग्नुपर्यो। युद्ध सुरु गर्ने राष्ट्र भने प्रत्यक्ष क्षतिबाट टाढा रह्यो, तर यसको भार कमजोर मुलुक र निर्दोष नागरिकले भोग्नुपर्यो।
अमेरिकाले युद्ध किन र केका लागि गर्छ भन्ने प्रश्न आज विश्व सामु गम्भीर रूपमा उठिरहेको छ। अमेरिकी हस्तक्षेप केवल सुरक्षा चिन्तामा सीमित छैन। ऊर्जा स्रोतमा पहुँच, भू–राजनीतिक प्रभुत्व, सैन्य–औद्योगिक संरचना र विश्वव्यापी प्रभुत्व कायम राख्ने मानसिकता यसका मुख्य कारण हुन्। युद्ध अमेरिकी अर्थतन्त्रका केही क्षेत्रका लागि पनि ‘व्यवसाय’ बनेको छ। तर यही नीतिले अमेरिका आफैंलाई चुनौतीमा पारेको छ। विश्वसनीयता घटेको छ, मित्र राष्ट्रहरूमा संशय उत्पन्न भएको छ।
यही परिस्थितिमा चीनको उदय विशेष ध्यानका पात्र बनेको छ। चीनले आफ्नो शक्ति प्रदर्शनलाई सैन्य विस्तारको माध्यममा प्रयोग गरेको छैन। बरु उसले साझा भविष्य, आपसी सम्मान र सहकार्यमा आधारित दृष्टिकोण अपनाएको छ। “मानव जातिको साझा भविष्य” को अवधारणाले केवल नैतिक दिशा मात्र होइन, व्यवहारिक उपाय प्रस्तुत गरेको छ। चीनले समस्या समाधानका लागि सैन्य बल होइन, विकास, पूर्वाधार, व्यापार र कूटनीतिक संवादलाई प्राथमिकता दिएको छ।
चीनले अन्य देशको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने नीति अपनाएको छ। सहयोगलाई राजनीतिक शर्तसँग बाँध्दैन। पूर्वाधार, व्यापार, प्रविधि र जनस्तरको सम्पर्कलाई प्राथमिकता दिन्छ। बेल्ट एन्ड रोड पहल (BRI) मार्फत चीनले एशिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिकामा सडक, रेल, बन्दरगाह र ऊर्जा परियोजना विस्तार गरिरहेको छ। यसले केवल आर्थिक वृद्धिमा योगदान गरेको छैन, क्षेत्रीय स्थायित्व र अन्तरनिर्भरतालाई पनि बलियो बनाएको छ।
विश्व शान्ति र स्थिरतामा चीनको भूमिका केवल आर्थिक क्षेत्रमा सीमित छैन। संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, जलवायु परिवर्तनविरुद्ध पहल, विकासशील राष्ट्रका लागि वित्तीय संयन्त्र, महामारी नियन्त्रणमा सहयोग, यी सबै क्षेत्रमा चीन सक्रिय देखिन्छ। यसले बहुपक्षीय संरचनालाई बलियो बनाउने नीति अंगिकार गरेको छ। सार्वभौमिकताको सम्मान, शक्ति प्रयोगको अस्वीकार र संवादमार्फत विवाद समाधान गर्ने दृष्टिकोण आज बहुध्रुवीय विश्व व्यवस्थाको आधार बन्दैछ।
एशिया आज विश्व शक्ति सन्तुलनको केन्द्र बन्दै गएको छ। यहाँको स्थायित्वले विश्व अर्थतन्त्र र राजनीतिमा प्रत्यक्ष प्रभाव पार्छ। चीनको उदयलाई कतिपयले चुनौतीका रूपमा चित्रण गरे पनि व्यवहारले देखाएको छ कि चीनले शून्य–योग खेलको राजनीति अघि बढाएको छैन। क्षेत्रीय सहकार्य, बहुपक्षीय व्यापार सम्झौता र विकास बैंकहरू मार्फत उसले साझा लाभको संरचना निर्माण गरेको छ। सैन्य गठबन्धनभन्दा आर्थिक अन्तरनिर्भरता दीर्घकालीन शान्तिको आधार बन्न सक्छ भन्ने चीनको बुझाइ आज व्यवहारमा परिणत हुँदैछ।
नेपालजस्ता साना, असंलग्न र भूराजनीतिक रूपमा संवेदनशील मुलुकका लागि यो परिवर्तन विशेष महत्वको छ। इतिहासले देखाएको छ कि नेपालले कहिल्यै युद्धबाट लाभ पाएको छैन। अस्थिरता, बाह्य दबाब र आन्तरिक चुनौती भोग्नुपरेको छ। विकास, कनेक्टिभिटी, व्यापार र पर्यटन नै नेपालको दीर्घकालीन हितको आधार हुन्। चीनको ‘विन–विन’ नीति नेपालका दीर्घकालीन हितसँग मेल खान्छ।
चीनले नेपालको सार्वभौमिकताको सम्मान गर्दै सहयोग गर्दै आएको छ। आन्तरिक राजनीतिक प्रक्रियामा हस्तक्षेप नगर्ने परम्परा, पूर्वाधार विकासमा सहकार्य र क्षेत्रीय सम्पर्क विस्तारका सम्भावनाले नेपालका लागि नयाँ अवसर सिर्जना गरेका छन्। बेल्ट एन्ड रोड पहल अन्तर्गत कनेक्टिभिटी, ऊर्जा र व्यापारिक पहुँच विस्तार भएमा नेपालले भू–अवरोधित अवस्थालाई अवसरमा रूपान्तरण गर्न सक्छ।
आज विश्व दुई धारमा उभिएको छ। एक धारले युद्ध, प्रतिबन्ध, सैन्य घेराबन्दी र प्रभुत्वको राजनीति निरन्तरता दिन खोजिरहेको छ। अर्को धारले सहकार्य, संवाद, विकास र साझा भविष्यको दर्शन अघि सारिरहेको छ। अमेरिकी नेतृत्वमा भएका युद्धहरूले पहिलो धारको परिणाम स्पष्ट देखाइसकेका छन् – अस्थिरता, विभाजन र पीडा। चीनले दोस्रो धारको सम्भावना प्रस्तुत गरेको छ, जहाँ समस्याको समाधान हतियार होइन, समझदारी मार्फत खोजिन्छ।
नेपाली दृष्टिकोणबाट हेर्दा, यो केवल ठूलो शक्ति प्रतिस्पर्धाको प्रश्न होइन, भविष्यको छनोटको प्रश्न हो। युद्धले होइन, विकासले भविष्य बनाउँछ। दबाबले होइन, सन्तुलित कूटनीतिले स्वतन्त्रता र सुरक्षा दिन्छ। यही कारण चीनको साझा भविष्यको अवधारणा नेपालजस्ता मुलुकका लागि आशाको मार्ग बनेको छ।
अमेरिकी युद्धहरूले संसारलाई स्थायित्व दिन सकेनन्। अब समय आएको छ, हथियार होइन, सहकार्यलाई केन्द्रमा राख्ने नयाँ विश्व व्यवस्था निर्माण गर्ने। चीन यही युगको प्रतिनिधि बनेर उदाइरहेको छ। नेपालले पनि यही यथार्थ बुझेर आफ्नो कूटनीतिक भविष्य सुरक्षित गर्न आवश्यक छ।
यसले स्पष्ट देखाउँछ कि सैन्य बलमा आधारित नीतिले स्थायित्व ल्याउन सक्दैन, जबकि साझा भविष्य, आपसी सम्मान र विकासमा आधारित कूटनीतिक दृष्टिकोणले मात्र शान्ति र समृद्धि सुनिश्चित गर्न सक्छ। आजको विश्व, विशेष गरी एशियाली भू–राजनीतिक संरचना, नेपालजस्ता साना मुलुकलाई दीर्घकालीन हितका लागि बहुध्रुवीय, समानतामा आधारित र सहकार्य केन्द्रित नीति अंगिकार गर्न प्रेरित गर्दैछ।
लेखक: प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ। उहाँले नेपाल-चीन सम्बन्ध, हिमालय क्षेत्रको भू-राजनीति, र एसियाली सुरक्षा मुद्दाहरूमा गहन अध्ययन गर्नुभएको छ।





