युक्रेन शान्ति प्रक्रियामा नयाँ मोड : पुटिन–अमेरिकी दूतबीच गहिरो संवाद, अबुधाबीमा त्रिपक्षीय वार्ता तय

मस्को / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपतिको विशेष दूत स्टिभ विटकफबीच क्रेमलिनमा भएको उच्चस्तरीय भेटवार्ताले युक्रेन संकट समाधानतर्फ नयाँ राजनीतिक र कूटनीतिक संकेत दिएको छ। राष्ट्रपति कार्यालयका सहायक युरी उशाकोभका अनुसार करिब चार घण्टा चलेको यो बैठक “असाधारण रूपमा गहिरो, रचनात्मक र स्पष्ट मन–मनको संवाद” भएको थियो।

भेटमा अमेरिकी पक्षबाट विशेष दूत स्टिभ विटकफसँगै जारेड कुश्नर र ह्वाइट हाउसका वरिष्ठ आर्थिक सल्लाहकार जोश ग्रुएनबाउम पनि सहभागी थिए। ग्रुएनबाउम पहिलोपटक अमेरिकी वार्ता टोलीमा समावेश भएका हुन्।

अमेरिकी प्रतिनिधिमण्डल डाभोसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सहभागितामा सम्पन्न युक्रेनसम्बन्धी विभिन्न छलफल सकेर सिधै मस्को आएको थियो। उनीहरूले डाभोसमा अमेरिकी राष्ट्रपति र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको भेटबारे आफ्ना प्रत्यक्ष अनुभव, मूल्याङ्कन र पछिल्ला धारणा रुसी पक्षसँग साझा गरेका थिए।

वार्तामा एक महत्वपूर्ण सहमति भएको छ। रुस, अमेरिका र युक्रेन सम्मिलित त्रिपक्षीय सुरक्षा कार्यसमूहको पहिलो बैठक आजै (जनवरी २३) अबु धाबीमा आयोजना हुने तय भएको छ। यससँगै, रुस र अमेरिकाबीच गठन गरिएको द्विपक्षीय आर्थिक कार्यसमूहका प्रमुखहरूको बैठक पनि त्यहीँ हुने जनाइएको छ। उक्त समूहको नेतृत्व रुसका किरिल दिमित्रिएभ र अमेरिकी विशेष दूत विटकफले गर्दैछन्।

सुरक्षा वार्ताका लागि रुसले आफ्नो वार्ता टोली गठन गरिसकेको छ, जसको नेतृत्व रुसी सशस्त्र बलको मुख्य निर्देशनालयका प्रमुख एडमिरल कोस्त्युकोभले गर्नेछन्। टोली केही घण्टामै संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्नेछ।

वार्तामा सहभागी दुबै पक्षले एन्कोरेजमा सहमत भएको सूत्रअनुसार भू–क्षेत्रीय मुद्दा सम्बोधन नगरी दीर्घकालीन समाधान सम्भव नहुने यथार्थ पुनः स्वीकार गरेका छन्।

राष्ट्रपति पुटिनले युक्रेन संकटलाई राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान गर्ने रुसको इमानदार प्रतिबद्धता दोहोर्याए। तर कूटनीतिक समाधान नआएसम्म रुसले ‘विशेष सैन्य अभियान’का लक्ष्यहरू प्राप्त गर्न युद्धभूमिमा आफ्नो प्रयास जारी राख्ने स्पष्ट सन्देश पनि दिएका छन्। उनका अनुसार हाल युद्धभूमिमा रणनीतिक पहल रुसकै हातमा छ।

क्रेमलिन बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘बोर्ड अफ पीस’ अवधारणामाथि पनि छलफल भएको छ। यस क्रममा रुसले अघिल्लो अमेरिकी प्रशासनले जफत गरेका आफ्ना सम्पत्तिमध्ये एक अर्ब अमेरिकी डलर तत्काल शान्ति प्रक्रियासँग जोडिएको बजेटमा स्थानान्तरण गर्न तयार रहेको संकेत दिएको छ। बाँकी जमेका रुसी सम्पत्ति भने शान्ति सम्झौता भएपछि युद्धबाट क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणमा प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ। यस विषयमा थप छलफल द्विपक्षीय आर्थिक कार्यसमूहमा जारी रहनेछ।

यसैगरी, युक्रेन बाहेक ग्रीनल्याण्डको मुद्दा, विभिन्न क्षेत्रीय विषय र रुस–अमेरिका सम्बन्धको दीर्घकालीन सम्भावनाबारे पनि विचार–विमर्श भएको थियो। उशाकोभका अनुसार युक्रेन संकट समाधानपछि विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने ठूला सम्भावनाहरूलाई अमेरिकी पक्षले समेत गम्भीर रूपमा अध्ययन गरिरहेको छ।

समग्रमा, क्रेमलिनमा सम्पन्न यो भेटवार्ता रुस र अमेरिकादुवैका लागि सबै हिसाबले लाभदायी भएको बताइएको छ। युक्रेन र अन्य अन्तर्राष्ट्रिय मुद्दामा दुबै देशले नजिकको सम्पर्क र संवाद कायम राख्ने सहमति पनि भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button