‘चिनियाँ बिउ’को सामर्थ्य : आत्मनिर्भरतादेखि नेपालको खेतसम्म

काठमाडौं — चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्राध्यक्ष सी चिनफिङले १४ औँ चिनियाँ राष्ट्रिय जनकांग्रेसको चौथो अधिवेशनमा च्याङसु प्रतिनिधिमण्डलको छलफलमा सहभागी हुँदै बीउ उद्योगलाई कृषिको सबैभन्दा महत्त्वपूर्ण आधार भएको बताउनुभएको छ। छलफलका क्रममा तीन दशकभन्दा बढी समयदेखि मकै खेती र प्रजननमा संलग्न प्रतिनिधि काउ त रूङलाई सम्बोधन गर्दै महासचिव सीले भन्नुभयो, “बीउ उद्योग सबैभन्दा महत्त्वपूर्ण हो, कृषिको विकास गर्न बीउ उद्योगलाई अघि बढाउनुपर्छ।”
यो टिप्पणीले चीनको कृषि विकास र खाद्य सुरक्षामा बीउ उद्योगको भूमिकाप्रति केन्द्र सरकारको गहिरो चासो झल्काउँछ। सी चिनफिङले विगतमा पनि विभिन्न निरीक्षण भ्रमणका क्रममा बीउ उद्योगलाई प्राथमिकतामा राख्दै आउनुभएको छ। सन् २०२२ अप्रिलमा हाइनान प्रान्तको भ्रमणका क्रममा उहाँले भन्नुभएको थियो, “आफ्ना हातमा चीनका बीउलाई अँठ्याएर राखे मात्र भातको कचौरालाई स्थिर रूपमा राख्न सकिन्छ, खाद्य सुरक्षा प्राप्त गर्न सकिन्छ।”
१४ औँ राष्ट्रिय जनकांग्रेसको चौथो अधिवेशनमा प्रस्तुत १५औं पञ्चवर्षीय योजनाको मस्यौदाले खाद्य उत्पादन क्षमता ७ खर्ब २५ अर्ब केजी पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ। यस लक्ष्यलाई साकार पार्न बीउ उद्योगको विकासलाई प्राथमिकतामा राखिएको छ। राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनकी सदस्य तथा चिनियाँ कृषि प्रतिष्ठानकी अध्यक्ष ह्वाङ सानवेनले चीनको अन्न, तरकारी र मासु उत्पादनमा मुख्यरुपमा ‘चिनियाँ बीउ’कै प्रयोग भइरहेको जानकारी दिनुभयो। यसले चिनियाँहरूको खाद्य सुरक्षा आफ्नै हातमा झन् मजबुत हुँदै गएको संकेत गर्छ।
चीनको बीउ उद्योगले आन्तरिक आवश्यकता मात्र पूरा गरेको छैन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान गरिरहेको छ। यसको ज्वलन्त उदाहरण हो– नेपाल। लामो समयदेखि उच्च गुणस्तरको धान बीउको अभाव झेलिरहेको नेपालका लागि चिनियाँ वर्णशङ्कर धानको उत्कृष्ट जातले नयाँ आशा जगाएको छ। चिनियाँ कृषि विशेषज्ञहरूले नेपाली किसानलाई आधुनिक खेती प्रविधि सिकाउँदै उत्पादन र आम्दानी बढाउन सहयोग गरेका छन्। साथै नेपाली कृषि प्राविधिकहरूलाई तालिम प्रदान गरेर दीर्घकालीन क्षमता विकासमा समेत योगदान पुर्याइरहेका छन्।
यसरी उत्तरी चीनको गहुँ खेतदेखि हाइनानको बीउ प्रजनन केन्द्र, उत्तरपूर्वी मैदानदेखि नेपालका समथर खेतसम्म ‘चिनियाँ बीउ’ले फसलको आशा र समृद्धिको सन्देश बोकेको छ। बीउ उद्योगको ‘चिप’को संरक्षण मात्र होइन, यसले चीनको खाद्य सुरक्षाको आत्मविश्वास र विश्वव्यापी खाद्य सुरक्षामा चीनको योगदानलाई समेत उजागर गर्दछ।





