मध्यपूर्व तनावले तेल–ग्यास बजार तरंगित : रुसले युरोपलाई ‘ढोका बन्द हुनुअघि नै’ ग्यास आपूर्ति रोक्ने संकेत

काठमाडौं — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्वमा जारी अस्थिरताका कारण विश्व तेल र ग्यास बजारमा ठूलो दबाब सिर्जना भएको बताउँदै आगामी दिनमा होर्मुज स्ट्रेट हुँदै हुने तेल आपूर्ति पूर्ण रूपमा ठप्प हुन सक्ने चेतावनी दिएका छन्। सोमबार विश्व तेल र ग्यास बजारको अवस्थाबारे आयोजित बैठकमा सम्बोधन गर्दै उनले रुसले यसअघि नै मध्यपूर्व अस्थिरताको यस्तो परिणाम आउने चेतावनी दिएको पनि स्मरण गराए।
पुटिनले भने, “होर्मुज स्ट्रेट प्रयोग गरेर हुने तेल उत्पादन आगामी महिनाभित्रै पूर्ण रूपमा ठप्प हुन सक्छ। यो पहिल्यै घट्न थालिसकेको छ, भण्डारण केन्द्रहरूमा तेल भरिँदै छ जुन निकासी हुन सकेको छैन।” उनले मध्यपूर्वको तेल आपूर्तिलाई होर्मुज स्ट्रेटबिना पूर्ण रूपमा पुनर्निर्देशित गर्नु असम्भव रहेको टिप्पणी गरे।
यस्तै अवस्था विश्व ग्यास बजारमा पनि देखिएको उल्लेख गर्दै पुटिनले मध्यपूर्वबाट हुने एलएनजी आपूर्तिमा तीव्र गिरावट आएको र उत्पादन क्षमता घटेको बताए। उनले भने, “हराइरहेको परिमाण तुरुन्तै पूरा गर्न असम्भव छ। फलस्वरूप विश्व ग्यास मूल्य पनि बढिरहेको छ, मेरो विचारमा यो तेलको मूल्यभन्दा पनि छिटो बढिरहेको छ।”
यस्तो प्रतिस्पर्धात्मक अवस्थामा रुसी ऊर्जा कम्पनीहरूको विश्वसनीयता र स्थायित्व अरूभन्दा फरक रहेको पुटिनले दाबी गरे। उनले भने, “हामी ती देशहरूलाई तेल र ग्यास आपूर्ति गरिरहने छौं जो आफैं विश्वसनीय साझेदार हुन्। यसमा एसिया–प्रशान्त क्षेत्रका मात्र होइन, स्लोभाकिया र हंगेरीजस्ता पूर्वी युरोपेली मुलुक पनि पर्छन्।”
युरोपेली संघले अप्रिल २५ देखि रुसी हाइड्रोकार्बनको आयातमा थप प्रतिबन्ध लगाउने र सन् २०२७ सम्म पूर्ण रूपमा बन्द गर्ने योजना रहेको सन्दर्भमा पुटिनले कडा प्रतिक्रिया दिए। उनले भने, “यस सन्दर्भमा रुसी सरकारलाई युरोपेली बजारमा हाम्रो ऊर्जा स्रोतको आपूर्ति बन्द गर्ने सम्भावना र औचित्यबारे मूल्यांकन गर्न निर्देशन दिइसकेको छु। हामी ढोका हाम्रो मुखमा बन्द हुनुभन्दा अगाडि नै यस्तो निर्णय लिनुपर्छ र यी मात्रालाई युरोपेली बजारबाट हटाएर अझ आशाजनक गन्तव्यतर्फ पुनर्निर्देशित गर्नुपर्छ।”
यद्यपि, पुटिनले युरोपेली कम्पनी र खरीददारहरूले राजनीतिक उतारचढावबाट मुक्त भएर दीर्घकालीन र स्थिर सहकार्य सुनिश्चित गरेमा उनीहरूसँग काम गर्न रुस सधैं तयार रहेको पनि स्पष्ट पारे। उनले भने, “हामीले यस्तो सहकार्य कहिल्यै अस्वीकार गरेका छैनौं। तर हामीलाई उनीहरूबाट संकेत चाहिन्छ कि उनीहरू पनि सँगै काम गर्न तयार छन् र हाम्रो सम्बन्धमा स्थायित्व र पूर्वानुमेयता सुनिश्चित गर्नेछन्।”





