वांग यीद्वारा खाडी मुलुकको प्रशंसा : ‘अनावश्यक युद्ध’ रोकेर शान्तिको पक्षमा उभिन चीनको आग्रह

काठमाडौं — चीनका विदेशमन्त्री वाङ यीले क्षेत्रमा जारी द्वन्द्व तत्काल रोकिनुपर्नेमा जोड दिँदै वार्ता र संवादका लागि खाडी मुलुकहरूले गरिरहेको आह्वानको प्रशंसा गरेका छन्। सोमबार कुवेतका विदेशमन्त्री जर्रा जाबेर अल–अहमद अल–सबाहसँग टेलिफोन वार्ता गर्दै उनले यस्तो बताएका हुन्।

कुवेती विदेशमन्त्रीले क्षेत्रीय अवस्थाको पछिल्लो घटनाक्रमबारे चिनियाँ पक्षलाई जानकारी गराउँदै कुवेत यस द्वन्द्वको पक्ष नभए पनि यसको प्रभाव आफूहरूमा परेको बताए। उनले कुवेतसहित खाडी मुलुकहरू संवादका माध्यमबाट विवाद समाधान गर्न प्रतिबद्ध रहे पनि आत्मरक्षाको आफ्नो वैधानिक अधिकार भने त्याग्न नसक्ने स्पष्ट पारे।

कुवेतका विदेशमन्त्रीले चीनको अडान र प्रयासको उच्च प्रशंसा गर्दै क्षेत्रमा सुरक्षा र स्थायित्व पुनर्स्थापनाका लागि चीनसँग सहकार्य गर्न तयार रहेको बताए। उनले कुवेतले चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षालाई उच्च प्राथमिकता दिएको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन सधैं राजनीतिक र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको बताउँदै जारी युद्ध ‘अनावश्यक’ रहेको र यसले कसैको हित नगर्ने टिप्पणी गरे। अमेरिका र इजरायलले संयुक्त राष्ट्रसंघको स्वीकृतिबिना इरानविरुद्ध सैन्य आक्रमण गरेको र इरान–अमेरिका वार्ता जारी रहेकै बेला यो आक्रमण भएकोले यो अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको उनले बताए।

खाडी मुलुकहरूको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको पूर्ण सम्मान हुनुपर्ने र निर्दोष नागरिक तथा गैरसैन्य लक्ष्यमाथि भएको आक्रमणको निन्दा हुनुपर्नेमा उनले जोड दिए।

चीन सरकारको मध्यपूर्व मामिलाका विशेष दूत क्षेत्रमा पुगिसकेको र कुवेतलगायत देशहरूसँग सम्पर्क सुदृढ गर्ने उनले जानकारी दिए। कुवेतले चिनियाँ संस्था र नागरिकको सुरक्षा सुनिश्चित गर्नेमा आफू विश्वस्त रहेको पनि वाङ यीले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button