युगान्डाका राष्ट्रपति मुसेवेनीलाई पुनःनिर्वाचनमा चिनियाँ राष्ट्रपतिको बधाई

चीन–युगान्डा रणनीतिक साझेदारी थप सुदृढ गर्ने प्रतिबद्धता

बेइजिङ/कम्पाला । चिनियाँ राष्ट्रपति सी जिनपिङले युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीलाई पुनः राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा शुक्रबार बधाई सन्देश पठाएका छन्। सन्देशमार्फत राष्ट्रपति सीले चीन र युगान्डाबीचको दीर्घकालीन पारम्परिक मित्रता अझ गहिरिँदै गएको उल्लेख गरेका छन्।

राष्ट्रपति सीका अनुसार पछिल्ला वर्षहरूमा चीन र युगान्डाले आ–आफ्ना मुख्य राष्ट्रिय हित र सरोकारका विषयमा एक–अर्कालाई दृढ समर्थन गर्दै आएका छन्। दुवै देशबीच विभिन्न क्षेत्रमा गरिएको व्यावहारिक सहकार्यबाट सकारात्मक र फलदायी परिणाम प्राप्त भएको र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा प्रभावकारी समन्वय र सहकार्य कायम रहँदै आएको उनले बताएका छन्।

राष्ट्रपति मुसेवेनीलाई चिनियाँ जनताका पुराना र विश्वासिला मित्रका रूपमा स्मरण गर्दै राष्ट्रपति सीले चीन–युगान्डा सम्बन्धको विकास र सुदृढीकरणमा मुसेवेनीको दीर्घकालीन योगदानको उच्च प्रशंसा गरेका छन्। युगान्डा–चीन सम्बन्ध प्रवर्द्धनमा उहाँको निरन्तर प्रतिबद्धतालाई चिनियाँ पक्षले गहिरो सम्मान र कदर गर्ने सीको भनाइ छ।

चीन–युगान्डा सम्बन्धलाई आफूले अत्यन्त महत्व दिएको उल्लेख गर्दै राष्ट्रपति सीले राष्ट्रपति मुसेवेनीसँग मिलेर राजनीतिक पारस्परिक विश्वास अझ मजबुत बनाउने, परम्परागत मित्रतालाई अगाडि बढाउने तथा चीन–अफ्रिका सहकार्य मञ्च (FOCAC) को बेइजिङ शिखर सम्मेलनबाट प्राप्त उपलब्धिहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, दुवै देशबीचको समग्र रणनीतिक सहकार्य साझेदारीलाई अझ गहिरो र प्रभावकारी बनाउँदै लैजाने उद्देश्य रहेको बताउँदै राष्ट्रपति सीले यसले चीन र युगान्डाका जनताको साझा हित र समृद्धिमा ठोस योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button