ओलीको कडा चेतावनी : आन्दोलन कि चुनाव ? अझै टुंगो छैन
‘सरकार अराजनीतिक र असभ्य बन्दै गएको’ आरोप

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्थाले आफूहरूलाई आन्दोलनतर्फ धकेल्ने कि चुनावी प्रक्रियामै रहने भन्ने विषय अझै स्पष्ट नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।
आफूमाथि सरकारले योजनाबद्ध रूपमा अपमान गरेको आरोप लगाउँदै ओलीले झापाबाट फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोग्नुपरेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे। “झापाबाट फर्कँदा विमानस्थलमा मलाई सुन तस्कर हो कि जस्तो गरी चेकजाँच गरेर हैरान पारियो,” उनले भने, “विदेश जाँदा चिनजान भएका ठाउँमा समेत यस्तो व्यवहार हुँदैन, तर हिजो आफ्नै देशको विमानस्थलमा अपमान सहनुपर्यो। सोध्दा माथिबाट आदेश आएको छ रे।”
अध्यक्ष ओलीले सरकार नियोजित रूपमा आफूहरूलाई दुःख दिने दिशामा अघि बढिरहेको आरोप लगाए। “यो सरकार हामीलाई पीडा दिने काममै लागेको छ,” उनले भने, “यो सरकार अराजनीतिक मात्र होइन, असभ्य पनि छ।”
उनले सरकारको सोच नै नेताहरूलाई अपमानित गर्ने खालको बनेको दाबी गरे। “त्यही व्यवहार ममाथि देखियो,” ओलीको भनाइ थियो, “कहिलेकाहीँ त हामी सभ्य संसारमै छैनौँ कि जस्तो अनुभूति हुन्छ।”
ओलीको यो अभिव्यक्तिलाई वर्तमान सत्ता–प्रतिपक्षबीच बढ्दो राजनीतिक तनावको संकेतका रूपमा हेरिएको छ। आन्दोलन र चुनावी सहभागिताबारे निर्णय खुला नै राख्दै उनले आगामी दिनमा पार्टीले परिस्थितिअनुसार कडा कदम चाल्न सक्ने संकेतसमेत दिएका छन्।





