स्वच्छ निर्वाचनको आह्वान गर्दै दाहालको सन्देश :
‘निष्पक्ष चुनाव भए नेकपा पहिलो शक्ति बन्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशलाई वर्तमान राजनीतिक र सामाजिक संकटबाट मुक्त गराउने प्रमुख आधार नै स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएका छन्। शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले निष्पक्ष चुनावमार्फत मात्र लोकतन्त्र बलियो बन्ने र नेपाली कम्युनिष्ट पार्टीलाई राष्ट्रिय स्तरको सशक्त शक्तिका रूपमा स्थापित गर्न सकिने स्पष्ट पारे।
संयोजक दाहालले पछिल्लो समय विभिन्न वामपन्थी धारका राजनीतिक शक्तिहरू विशेषगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, एमालेसहित अन्य दलहरूबाट ठूलो संख्यामा कार्यकर्ता तथा युवाहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरिरहेको उल्लेख गरे। यो क्रमलाई जनतामा बढ्दो भरोसा र वैकल्पिक राजनीतिक शक्तिको खोजको संकेतका रूपमा व्याख्या गर्दै उनले पार्टीप्रति जनसमर्थन निरन्तर बढ्दै गएको दाबी गरे।
उनले निर्वाचन प्रक्रियामा हुने अवाञ्छित गतिविधि, धाँधली र प्रभाव–दबाब रोक्न सकिए आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरे। “निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी चुनावमा हाम्रो पार्टी पहिलो शक्ति बन्न सक्छ,” दाहालले भने, “अब पार्टीलाई अझ बलियो बनाएर राष्ट्रहित र जनहित सुनिश्चित गर्ने दिशामा अघि बढ्नुपर्छ।”
दाहालले जनवादी क्रान्तिपछि अब देशलाई समाजवादी क्रान्तिको दिशामा लैजानुपर्ने ऐतिहासिक दायित्व रहेको उल्लेख गर्दै सम्पूर्ण कम्युनिष्ट शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। “अब समाजवादी रूपान्तरणको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने समय आएको छ,” उनको भनाइ थियो।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल लगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोक सहित देशका विभिन्न जिल्लाबाट आएका युवाहरू नेपाली कम्युनिष्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका थिए। नयाँ सदस्यहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रम थप ऊर्जावान बनेको थियो।
दाहालको यो अभिव्यक्तिलाई आगामी निर्वाचन केन्द्रित रणनीतिक तयारी र वाम एकताको सम्भावनालाई बल दिने राजनीतिक सन्देशका रूपमा हेरिएको छ।





