नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको तयारी तीव्र, उच्च चिनियाँ प्रविधि र नेपाल–चीन सहकार्यले नयाँ गति

काठमाडौँ । राजधानी प्रवेशको मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी तीव्र बनेको छ। सुरुङमार्ग सञ्चालनका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामा १० वटा सेवा प्रदायक कम्पनी सहभागी भएका छन्, जसमा चिनियाँ कम्पनीहरूको उल्लेख्य उपस्थिति रहेको छ। यसले पूर्वाधार विकासमा नेपाल–चीन सहकार्य र उच्च चिनियाँ प्रविधिमाथिको भरोसा झन स्पष्ट बनाएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार ३० पुससम्मको म्यादमा बोलपत्र खोल्दा १० कम्पनी प्रतिस्पर्धामा आएका छन्। हाल सहभागी कम्पनीहरूको प्राविधिक मूल्यांकन भइरहेको छ, जुन १५ माघभित्र सकिने आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिए। त्यसपछि आर्थिक प्रस्तावको मूल्यांकन गरी १५ फागुनभित्र छनोट प्रक्रिया पूरा गरिने र फागुन अन्तिमसम्म सम्झौता गरेर कम्पनीलाई फिल्डमा उतार्ने तयारी छ।
निर्देशक नेपालका अनुसार सेवा प्रदायक छनोट भएपछि सम्बन्धित कम्पनी मार्फत सुरुङ सञ्चालनमा खटिने नेपाली जनशक्तिलाई तालिम दिइनेछ। “चैतभित्र परीक्षणका रूपमा सुरुङ सञ्चालन गर्ने हाम्रो लक्ष्य छ,” उनले भने, “यसले दीर्घकालमा सुरुङ सञ्चालनमा नेपाली प्राविधिक क्षमता विकासमा ठूलो योगदान पुर्याउनेछ।”
सडक विभाग स्रोतका अनुसार प्रतिस्पर्धामा रहेका १० कम्पनीमध्ये ६ वटा चिनियाँ, ३ वटा भारतीय र १ वटा टर्किस कम्पनी छन्। सबै विदेशी कम्पनी नेपाली साझेदारसँग संयुक्त उपक्रम (जेभी) मा सहभागी भएका छन्। उच्च सुरुङ प्रविधि, जोखिम व्यवस्थापन, ट्राफिक प्रणाली र आपतकालीन उद्धारमा चिनियाँ कम्पनीहरूको अनुभव र दक्षता विश्वस्तरमै प्रमाणित भएकाले प्रतिस्पर्धामा उनीहरूको अग्रता स्वाभाविक देखिएको आयोजनाका अधिकारीहरू बताउँछन्।
नेपाल–चीन सम्बन्धको सन्दर्भमा हेर्दा, पछिल्ला वर्षहरूमा सडक, पुल, सुरुङ र ऊर्जाजस्ता पूर्वाधार क्षेत्रमा चिनियाँ प्रविधि र अनुभव नेपालको विकास यात्रामा महत्वपूर्ण आधार बन्दै आएको छ। नागढुंगा सुरुङमार्ग सञ्चालनमा चिनियाँ कम्पनीहरूको सक्रिय सहभागिताले दुई देशबीचको प्राविधिक सहकार्यलाई अझ गहिरो बनाउने अपेक्षा गरिएको छ।
छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको सञ्चालन र व्यवस्थापन गर्नेछ। यस अवधिमा सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने कार्य, साथै काठमाडौं र धादिङ दुवैतर्फ जोडिने २.८ किलोमिटर पहुँच सडकको रेखदेख गर्नुपर्नेछ। सुरुङ ३ सय ६५ दिन, चौबीसै घण्टा सञ्चालनमा रहनेछ, जसका लागि करिब १५० जनशक्ति परिचालन गरिनेछ।
सञ्चालन लागत भने सरकारले बेहोर्नेछ भने उठेको टोल रकम दैनिक रूपमा सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। यसको अनुगमन पनि सडक बोर्ड नेपालले नै गर्नेछ।
सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार सुरुङ निर्माणको करिब ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ। “अब सेवा प्रदायक छनोट, टोल प्लाजा निर्माण र धादिङतर्फ पहिरो व्यवस्थापन मात्र बाँकी छ,” उनले भने। सुरुङभित्र आवश्यक सबै संरचना, सुरक्षा प्रणाली र प्रविधि जडान भइसकेको आयोजनाले जनाएको छ।
मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर र आपतकालीन सुरुङ २ हजार ५ सय ५७ मिटर लामो छ। निर्माण कार्य जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको भए पनि सञ्चालन र व्यवस्थापनमा प्रयोग हुने प्रविधि तथा प्रणालीमा चिनियाँ अनुभव र दक्षता निर्णायक मानिएको छ।
निर्माण क्रममा पहिरो व्यवस्थापन र परामर्श सेवामा थप रकम आवश्यक परेपछि जापान सरकारसँग करिब साढे ५ अर्ब रुपैयाँ थप ऋण लिने तयारी भइरहेको छ। यो रकम स्वीकृत भए सुरुङ निर्माणका लागि जापानसँगको कुल ऋण साढे २१ अर्ब रुपैयाँ पुग्नेछ। हालसम्म जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि मालवाहक सवारीसाधनका लागि ३० देखि ३५ मिनेट समय बचत हुने आयोजनाले जनाएको छ, जसले व्यापार, आपूर्ति प्रणाली र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङ सञ्चालनमा आएपछि पैदल यात्री, दुईपांग्रे, तीनपांग्रे र नन–मोटोराइज्ड सवारीलाई प्रवेश निषेध गरिनेछ। साथै डिजेल, पेट्रोल, ग्यास तथा विस्फोटक पदार्थ बोकेका सवारी पनि सुरुङमा प्रवेश गर्न पाउने छैनन्।
२०७६ कात्तिक ४ गते निर्माण सुरु भएको यो परियोजना नेपालको आधुनिक पूर्वाधार विकासको प्रतीकका रूपमा हेरिएको छ। उच्च चिनियाँ प्रविधि, क्षेत्रीय सहकार्य र दीर्घकालीन सञ्चालन क्षमताको संयोजनले नागढुंगा सुरुङमार्ग केवल सडक परियोजना मात्र नभई नेपाल–चीन मैत्री र विकास साझेदारीको अर्को महत्वपूर्ण उदाहरण बन्ने अपेक्षा गरिएको छ।





