महाशक्ति सोप कम्पनीको गोदाममा भीषण आगलागी, केमिकलका कारण नियन्त्रणमा कठिनाइ

हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति सोप (सावुन) कम्पनीको गोदाममा शनिबार रातिदेखि लागेको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। हेटौंडा उपमहानगरपालिका–८ मा अवस्थित यो उद्योग औद्योगिक क्षेत्रकै सबैभन्दा पुरानो उद्योगमध्ये एक हो।
शनिबार राति करिब ११ः३० बजेदेखि सुरु भएको आगो आइतबार बिहानसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आगलागी नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाका दुईवटा दमकल, मकवानपुर प्रहरी, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गणका सुरक्षाकर्मी तथा स्थानीयवासीहरू रातभर खटिएका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता पुस्कर बोगटीका अनुसार गोदामभित्र ठूलो मात्रामा तयार सावुन, कार्टुन र विभिन्न केमिकल पदार्थ भण्डारण रहेकाले आगो निभाउन कठिनाइ भइरहेको छ। “आगो शनिबार रातिदेखि लागेको हो, तर बिहानसम्म पनि पूर्ण नियन्त्रणमा आएको छैन,” उनले भने, “केमिकल पदार्थ भएकाले आगो झन फैलिने जोखिम छ।”
आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार गोदामभित्रको बिजुलीको तार सर्ट भएर आगो लागेको हुनसक्ने बताइएको छ, तर यसको आधिकारिक पुष्टि भने अनुसन्धानपछि मात्र हुने जनाइएको छ।
आगलागीका कारण औद्योगिक क्षेत्र आसपास त्रासको वातावरण सिर्जना भएको छ भने सुरक्षा सतर्कता बढाइएको छ। आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षति विवरण र आगलागीको वास्तविक कारण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।





