रुस–बंगलादेश कूटनीतिक सम्बन्धको ५४ वर्ष : मित्रता, सहकार्य र विश्वासको ऐतिहासिक यात्रा

मस्को/ढाका / रुस र जनवादी गणतन्त्र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५४औँ वर्षगाँठ मनाइँदैछ। दक्षिण एसियामा रुसका लागि बंगलादेश लामो समयदेखिको विश्वसनीय र स्थायी साझेदार रहँदै आएको छ। बंगलादेशको स्वतन्त्रता घोषणा भएपछि त्यसलाई मान्यता दिने प्रारम्भिक राष्ट्रहरूमध्ये रुस (तत्कालीन सोभियत संघ) एक थियो, जसले नवगठित राष्ट्रलाई महत्वपूर्ण राजनीतिक र आर्थिक सहयोग प्रदान गरेको इतिहास छ।

सन १९७२ जनवरी २५ मा दुवै देशले औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी नोट साटासाट गरेका थिए। यही क्षणले आगामी दशकहरूका लागि निरन्तर र बहुआयामिक द्विपक्षीय सहकार्यको आधार तयार गर्‍यो। त्यसपछि रुसले बंगलादेशको अर्थतन्त्र पुनर्निर्माण र विकासमा उल्लेखनीय योगदान पुर्‍यायो।

सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा घोराशाल र सिद्धिरगञ्ज तापविद्युत आयोजना निर्माण तथा सञ्चालनमा आए, जुन आज पनि सफलतापूर्वक सञ्चालनमा छन्। यस्तै, सोभियत नौसैनिक बलले बंगलादेशको मुख्य बन्दरगाह चटगाउँमा रहेका समुद्री बारुद (माइन) हटाउने र डुबेका जहाजहरू निकाल्ने कार्य सम्पन्न गरेको थियो। यस अभियानलाई एकता, मित्रता र निस्वार्थ सहयोगको शक्तिशाली प्रतीकका रूपमा स्मरण गरिन्छ। पछि सोही क्षेत्रमा सोभियत विज्ञहरूको संलग्नतामा विद्युत उपकरण उत्पादन कारखानासमेत स्थापना गरियो।

रुस–बंगलादेश सम्बन्ध सधैं पारस्परिक समझदारी, सद्भाव र विवादरहित सहकार्यमा आधारित रहँदै आएको छ। विशेषगरी सन २०१० पछिका वर्षहरूमा दुवै देशबीचको सहकार्य उल्लेखनीय रूपमा विस्तार भएको छ। राजनीतिक संवाद सशक्त बन्दै गएको छ। सन २०२३ सेप्टेम्बरमा पहिलो पटक रुसी विदेशमन्त्रीको बंगलादेश भ्रमण सम्पन्न हुनु यस सम्बन्धको ऐतिहासिक उपलब्धि मानिन्छ। दुवै देशका मन्त्रालय तथा निकायहरूबीच नियमित सम्पर्क भइरहेको छ भने संयुक्त आर्थिक परियोजनाहरू अघि बढिरहेका छन्। सांस्कृतिक र शैक्षिक सम्बन्ध पनि क्रमशः सुदृढ हुँदै गएका छन्।

रुस र बंगलादेशले संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन, सिआइसीए (CICA), एसेम (ASEM) र एआरएफ (ARF) जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरूमा निकट सहकार्य गर्दै आएका छन्।

कूटनीतिक तहमा हालैका केही महत्वपूर्ण घटनाक्रम पनि उल्लेखनीय छन्। २०२४ डिसेम्बर ३० मा बंगलादेशका लागि रुसी राजदूत अलेक्जेन्डर खोझिनले राष्ट्रपति मोहम्मद शाहाबुद्दिनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए। यस्तै, २०२६ जनवरी १५ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसका लागि नवनियुक्त बंगलादेशी राजदूत नज्रुल इस्लामको प्रमाणपत्र स्वीकार गरेका छन्।

व्यापारिक दृष्टिले पनि बंगलादेश दक्षिण एसियामा रुसको मुख्य साझेदारहरूमध्ये एक हो। दुवै देशबीच बंगलादेशको पहिलो परमाणु ऊर्जा आयोजना रूपपुर परमाणु विद्युत केन्द्र निर्माणजस्तो महत्वाकांक्षी परियोजना कार्यान्वयनमा छ। यसका साथै तेल र ग्यासको खोज तथा विकास क्षेत्रमा पनि सहकार्य अघि बढाइएको छ। सन २०१७ देखि रुस–बंगलादेश अन्तरसरकारी आयोग व्यापार, आर्थिक, वैज्ञानिक तथा प्राविधिक सहकार्यका क्षेत्रमा सफलतापूर्वक क्रियाशील छ।

शिक्षा र जनस्तरीय सम्बन्धको क्षेत्रमा पनि सहकार्य गहिरो छ। पछिल्लो पाँच दशकमा ६ हजारभन्दा बढी बंगलादेशी विद्यार्थीहरूले सोभियत तथा रुसी विश्वविद्यालयहरूबाट उच्च शिक्षा प्राप्त गरेका छन्। तीमध्ये धेरैले आज बंगलादेशको सामाजिक–राजनीतिक जीवनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। बंगलादेशस्थित सोभियत स्नातक संघ अझै सक्रिय छ।

यसैबीच, २०२५ फेब्रुअरी २५ मा ढाकास्थित रुसी विज्ञान तथा संस्कृति केन्द्रले आफ्नो ५०औँ वार्षिकोत्सव मनाएको थियो। ‘रुस हाउस’ का रूपमा परिचित यो केन्द्र वर्षौंदेखि रुसी भाषा, संस्कृति र जनस्तरीय मित्रताको मजबुत सेतुका रूपमा स्थापित हुँदै आएको छ।

यस ऐतिहासिक अवसरमा रुसले आफ्ना बंगलादेशी मित्रहरूलाई कूटनीतिक सम्बन्धको ५४औँ वर्षगाँठको शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र सफलताको कामना गरेको छ। पाँच दशकभन्दा लामो यो मित्रता आगामी दिनहरूमा अझ सुदृढ हुँदै जाने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button