सिङ्गापुर एयरशोमा पहिलोपटक J-10C को दमदार प्रदर्शन
चीनको ‘बायी एरोब्याटिक टिम’ प्रत्यक्ष इन्धन भरेर उड्ने तयारीमा

बेइजिङ / चीनको जनमुक्ति सेना (PLA) वायुसेनाको प्रतिष्ठित बायी एरोब्याटिक टिम ले आगामी सिङ्गापुर एयरशोमा पहिलोपटक J-10C लडाकु विमानसहित हवाई प्रदर्शन गर्ने भएको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार यो विमानले आकाशमै इन्धन भर्दै चीनबाट सिधै सिङ्गापुरसम्म उडान भर्ने तयारी गरेको छ, जसलाई वायुसेनाको क्षमताको महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ।
चीनको रक्षा मन्त्रालयले शनिबार जनवरीको अन्त्यदेखि फेब्रुअरीको सुरुसम्म हुने १०औँ सिङ्गापुर एयरशोमा बायी एरोब्याटिक टिम सहभागी हुने औपचारिक घोषणा गरेको थियो। त्यसलगत्तै चीन केन्द्रीय टेलिभिजन (CCTV) को सैनिक च्यानलले आइतबार उत्तर चीनको एक हवाई मैदानमा J-10 सिरिजका लडाकु विमानहरूले अन्तिम चरणको प्रशिक्षण गरिरहेको दृश्य सार्वजनिक गरेको छ। ती दृश्यमा J-10C र J-10S विमानहरू अभ्यासमा सहभागी देखिएका छन्।
CCTV को रिपोर्टअनुसार सन २०२० मा भएको सातौँ संस्करणपछि बायी एरोब्याटिक टिमको यो पहिलो सिङ्गापुर एयरशो सहभागिता हो। यसअघि सार्वजनिक तथ्यांकहरूले सन २०२३ यता टिमले J-10C विमानलाई आफ्नो मुख्य प्रदर्शन विमानका रूपमा प्रयोग गर्दै आएको देखाउँछन्। यसर्थ, सिङ्गापुर एयरशोमा J-10C बाट हुने यो पहिलो औपचारिक हवाई प्रदर्शन हुनेछ।
J-10 सिरिज उत्पादन गर्ने एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (AVIC) ले पनि आइतबार सामाजिक सञ्जाल वेइबोमार्फत यो सहभागिताको पुष्टि गरेको छ।
यसपटकको एयरशोमा विमान मात्र नयाँ होइन, प्रदर्शनका शैली पनि नयाँ हुनेछन्। बायी एरोब्याटिक टिमका पाइलट झाङ छुनलेईका अनुसार छवटा विमानको संयुक्त ‘ब्यारेल रोल’, पाँच विमानको समन्वित फ्लाइ-पास र विमान नम्बर ६ बाट गरिने ‘एक्सिस रोटेसन’ जस्ता अभ्यासहरू प्रस्तुत गरिनेछ। यी सबै अभ्यास सिङ्गापुर एयरशोमा पहिलोपटक देखाइने बताइएको छ।
यसअघि २०२० मा सिङ्गापुर जाँदा विमानहरू विभिन्न हवाई मैदान हुँदै, आकाशमै इन्धन नभरिकन पुगेका थिए। तर यसपटक भने बायी टिमले आकाशमै इन्धन भरेर सिधा उडान भर्नेछ, जसलाई प्राविधिक र रणनीतिक क्षमताको संकेतका रूपमा लिइएको छ।
चिनियाँ सैन्य मामिला विज्ञ झाङ जुनशेले भनेका छन्, “यी हवाई अभ्यास र आकाशमै इन्धन भर्ने क्षमता PLA वायुसेनाको उच्च तयारी र J-10C को वास्तविक सामर्थ्यको प्रमाण हुन्।” उनका अनुसार अन्तर्राष्ट्रिय एयरशोमा यस्तो प्रत्यक्ष प्रदर्शनले विदेशी मुलुकहरूको खरिद चासो पनि बढाउने अपेक्षा गरिएको छ।
विशेषगरी J-10C को निर्यात संस्करण J-10CE ले सन् २०२५ को मे महिनामा वास्तविक हवाई युद्धमा सफलता हासिल गरेपछि यस विमानप्रति अन्तर्राष्ट्रिय ध्यान बढेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। ती रिपोर्टअनुसार उक्त भिडन्तमा J-10CE ले कुनै क्षति नबेहोरीकनै विपक्षीका कैयौँ विमानहरू खसालेको थियो।
यस सन्दर्भमा केही देशहरूले J-10 लडाकु विमान खरिदबारे चीनसँग छलफल गरिरहेको भन्ने समाचारबारे सोधिँदा, चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता जियाङ बिनले जुलाई ८, २०२५ को पत्रकार सम्मेलनमा भनेका थिए, “हामी सैन्य सामग्री निर्यातमा सधैं जिम्मेवार र सावधान नीति अपनाउँछौँ। मित्र राष्ट्रहरूसँग चीनको रक्षा प्रविधिको उपलब्धि साझा गर्न र क्षेत्रीय तथा विश्व शान्तिमा सकारात्मक भूमिका खेल्न हामी तयार छौँ।”
आगामी सिङ्गापुर एयरशो चीनको वायुसेनाका लागि मात्र होइन, J-10C लडाकु विमानलाई विश्वमञ्चमा थप मजबुत रूपमा स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ।





