८७२ दिनको घेराबन्दीमाथि विजयको स्मरण: लेनिनग्राद मुक्ति दिवसमा पुटिनको श्रद्धाञ्जलि

रुस । दोस्रो विश्वयुद्धका क्रममा नाजी जर्मन सेनाले लगाएको लेनिनग्रादको दीर्घकालीन घेराबन्दी पूर्णरूपमा अन्त्य भएको ८२औँ वार्षिकोत्सवका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर भि. पुटिनले जनवरी २७ मा स्मृतिसभा तथा श्रद्धाञ्जलि कार्यक्रमहरूमा सहभागिता जनाउनुभएको छ।

यस अवसरमा राष्ट्रपति पुटिन लेनिनग्राद क्षेत्रस्थित नेभ्स्की प्याटाचोक (Nevsky Pyatachok) स्मारक सैन्य–ऐतिहासिक परिसर पुग्नुभयो। उहाँले यहाँ रहेको ‘बोर्डर स्टोन’ स्मारकमा पुष्प अर्पण गर्दै मातृभूमिको रक्षामा प्राण आहुति दिने वीर सैनिकहरूप्रति सम्मान प्रकट गर्नुभयो।

नेभा नदीको बायाँ किनारमा अवस्थित नेभ्स्की प्याटाचोक सानो भूभाग भए पनि लेनिनग्रादको रक्षामा यसको ऐतिहासिक भूमिका अत्यन्तै महत्त्वपूर्ण रह्यो। घेराबन्दीका सुरुवाती दिनदेखि नै यहाँ सोभियत सैनिकहरूले शत्रु सेनाको तीव्र आक्रमणलाई रोक्दै शहरतर्फ अघि बढ्न नदिने संघर्ष जारी राखेका थिए। सन १९७१ मा, यहींको भीषण युद्धस्थलमा मातृभूमिका रक्षकहरूको सम्झनामा ‘बोर्डर स्टोन’ स्मारक स्थापना गरिएको थियो।

स्मारकमा कवि रोबर्ट रोज्देस्ट्भेन्स्कीका मार्मिक पंक्तिहरू कुँदिएका छन्:
“तिमीहरू जो आज जीवित छौ, जान कि हामी यो धरती छोड्न चाहेका थिएनौँ।
अन्धकार नेभामा हामी मृत्युसम्म उभियौँ।
हामी मर्याै, ताकि तिमीहरू बाँच्न सक।”

यसपछि राष्ट्रपति पुटिन सेंट पिटर्सबर्गस्थित पिस्कार्योभ स्मृति समाधिस्थल (Piskaryov Memorial Cemetery) पुग्नुभयो। उहाँले यहाँ रहेको ‘मातृभूमि’ (Motherland) स्मारकमा पुष्पचक्र अर्पण गर्दै लेनिनग्रादका सर्वसाधारण नागरिक तथा शहरका रक्षकहरूको स्मृतिमा श्रद्धा व्यक्त गर्नुभयो।

पिस्कार्योभ समाधिस्थलका १८६ सामूहिक चिहान र झण्डै ६ हजार व्यक्तिगत समाधिहरूमा करिब ४ लाख २० हजार लेनिनग्रादवासी जो भोक, जाडो, रोग, बमबारी र गोलाबारीका कारण ज्यान गुमाउन बाध्य भए र करिब ७० हजार सैनिक अन्त्येष्टि गरिएका छन्। ‘

मातृभूमि’ स्मारक पछाडिको भित्तामा कवि ओल्गा बेर्गगोल्त्सका अमर शब्द कुँदिएका छन्:
“कसैलाई बिर्सिएको छैन, केही पनि बिर्सिएको छैन।”

नाजी जर्मन सेनाले लेनिनग्रादमाथि लगाएको घेराबन्दी सन १९४१ सेप्टेम्बर ८ देखि १९४४ जनवरी २७ सम्म, जम्मा ८७२ दिन कायम रह्यो। घेराबन्दी सुरु हुनु अघि लेनिनग्राद र वरपरका क्षेत्रमा करिब ३० लाख मानिस बसोबास गर्थे, तर यो भीषण अवधिको अन्त्यसम्म आइपुग्दा करिब ८ लाख मात्र जीवित रहन सके।

लेनिनग्रादको मुक्ति केवल सैन्य विजय मात्र नभई मानव साहस, धैर्य र बलिदानको प्रतीकका रूपमा इतिहासमा अमर बनेको छ। आज पनि रुसले “कसैलाई बिर्सिएको छैन, केही पनि बिर्सिएको छैन” भन्ने सन्देशका साथ ती दिनहरूको स्मरण गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button