चीन–बेलायत आर्थिक सहकार्यमा नयाँ उत्साह
स्टर्मरको बेइजिङ भ्रमणसँगै बेलायती व्यवसायको भरोसा थप मजबुत

बेइजिङ । चीनको अर्थतन्त्रप्रति दीर्घकालीन भरोसा व्यक्त गर्दै दर्जनौँ ठूला बेलायती कम्पनीहरूले चिनियाँ बजारमा लगानी निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। बेलायतका प्रधानमन्त्री कियर स्टर्मरको बुधबारदेखि शनिबारसम्म हुने औपचारिक चीन भ्रमणसँगै बेलायती व्यापारिक समुदायमा चीन–बेलायत आर्थिक सहकार्यप्रति नयाँ उत्साह देखिएको हो।
प्रधानमन्त्री स्टर्मरसँगै ५० भन्दा बढी प्रमुख बेलायती कम्पनीका उच्च तहका कार्यकारी तथा विभिन्न बेलायती संस्थाका प्रतिनिधिहरू चीन पुगेका छन्। वित्त, औषधि, उत्पादन, संस्कृति तथा सिर्जनशील उद्योग लगायत क्षेत्रका अग्रणी कम्पनीहरूको सहभागिताले यो भ्रमणलाई विशिष्ट बनाएको चीनको वाणिज्य मन्त्रालय (MOFCOM) ले जनाएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकका समूह प्रमुख कार्यकारी बिल विन्टर्सले स्टर्मरको चीन भ्रमणलाई दुई देशबीचको विद्यमान सहकार्यलाई अझ गहिरो बनाउने अवसरका रूपमा व्याख्या गरेका छन्। “यस भ्रमणले वस्तु तथा सेवा व्यापार विस्तार, दुईतर्फी लगानी प्रवर्द्धन र नयाँ विकास सम्भावनालाई उजागर गर्नेछ,” विन्टर्सले बताए।
बेलायतमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डले चीनमा १६८ वर्षदेखि निरन्तर उपस्थिति जनाउँदै आएको छ। बैंकले चीनको अर्थतन्त्रको दीर्घकालीन सम्भावनाप्रति सधैँ आशावादी रहेको र चिनियाँ बजारमा आफ्नो व्यवसाय निरन्तर विस्तार गरिरहेको स्पष्ट पारेको छ।
साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालय अन्तर्गतको ग्लोबल गभर्नेन्स तथा क्षेत्रीय अध्ययन प्रतिष्ठानका अनुसन्धानकर्ता ली गुआन्जीका अनुसार, यति ठूलो व्यापारिक प्रतिनिधिमण्डलले सरकारको चीनप्रति देखाएको इमान्दार र व्यावहारिक दृष्टिकोण झल्काउँछ।
“अघिल्ला केही बेलायती सरकारहरूले चीनलाई चुनौती र खतरा भनेर हेर्ने कडा नीति अपनाएका थिए। तर स्टर्मर सरकारको हालको संकेत सहकार्यतर्फ केन्द्रित देखिन्छ,” लीले बताएका छन्।
सन २०२५ मा चीन–बेलायतबीच वस्तु व्यापार १०३.७ अर्ब अमेरिकी डलर पुगेको छ भने सेवा व्यापार ३० अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ। दुईतर्फी लगानीको कुल स्टक झण्डै ६८ अर्ब डलर पुगेको MOFCOM ले जनाएको छ। यी तथ्यांकले दुई देशबीचको व्यावहारिक सहकार्य अझै जीवन्त रहेको पुष्टि गर्छन्।
चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार, बाह्य वातावरणमा आएको परिवर्तन र आन्तरिक चुनौतीका बाबजुद चीनको अर्थतन्त्रले ५ प्रतिशत वृद्धिदर हासिल गर्दै १४०.१८ ट्रिलियन युआन (झण्डै २० ट्रिलियन डलर) को ऐतिहासिक आकार लिएको छ। यही आर्थिक लचिलोपन र स्थायित्वले बेलायती कम्पनीहरूको आत्मविश्वास थप बढाएको विश्लेषकहरूको भनाइ छ।
बेलायती उपभोक्ता स्वास्थ्य कम्पनी हेलिओन (Haleon) का चीन तथा हङकङ क्षेत्रका कर्पोरेट मामिला प्रमुख फु युएले चिनियाँ बजारप्रतिको विश्वास कहिल्यै कमजोर नपरेको बताएका छन्। कम्पनीले तियानजिनस्थित संयुक्त उद्यम पूर्ण रूपमा अधिग्रहण गर्नुका साथै जियाङ्सु प्रान्तको सुजोउमा उत्पादन विस्तार गर्ने सम्झौता गरेको छ।
“यी निर्णयहरूले चिनियाँ बजारप्रतिको हाम्रो दीर्घकालीन प्रतिबद्धता देखाउँछन्। हामी चीनमै आम्दानी पुनः लगानी गर्नेछौँ,” फु युएले भने। चीनले अघि सारेको ‘सेवा–मुखी सरकार’ र पारदर्शी नियामक वातावरणले यस्तो प्रगति सम्भव भएको उनको भनाइ छ।
४८ ग्रुप क्लबका अध्यक्ष तथा लन्डन एक्सपोर्ट कर्पका प्रमुख कार्यकारी ज्याक पेरी जुनियरका अनुसार, चीन आज विश्व अर्थतन्त्रको स्थिरकारी शक्ति बनेको छ। “चीनको रोबोटिक्स र स्वचालन प्रविधिले श्रम अभाव र उत्पादकत्व चुनौती समाधान गर्न सहयोग पुर्याइरहेको छ भने स्वच्छ प्रविधिले जलवायु लक्ष्यमा टेवा दिइरहेको छ,” उनले बताए।
उनका अनुसार, उच्च प्रविधि, जीवन विज्ञान, स्वच्छ ऊर्जा, उन्नत उत्पादन, वित्तीय सेवा र शिक्षा क्षेत्र चीन–बेलायत सहकार्यका सबैभन्दा सम्भावनायुक्त क्षेत्र हुन्। विशेषतः रोबोटिक्स र स्वचालनमा चिनियाँ नवप्रवर्तन र बेलायती विशेषज्ञता व्यावहारिक रूपमा जोडिन सक्ने क्षेत्रका रूपमा हेरिएको छ।
चीन–बेलायत द्विपक्षीय व्यापार भविष्यमा वार्षिक १५० अर्ब पाउण्ड (झण्डै २०६ अर्ब डलर) पुग्ने अपेक्षा गरिएको छ। ली गुआन्जीका अनुसार, सेवामुखी अर्थतन्त्र भएको बेलायतका लागि चीन ठूलो बजार हो भने बेलायतलाई चीनले उत्पादन गर्ने वस्तुहरूको आवश्यकता छ। “यदि बेलायती पक्षले व्यावहारिक दृष्टिकोण अपनायो भने चीन–बेलायत आर्थिक सहकार्यको भविष्य उज्यालो छ,” उनले निष्कर्ष निकाले।
प्रधानमन्त्री स्टर्मरको यो चीन भ्रमणले दुई देशबीच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने संकेत दिएको छ। बदलिँदो विश्व अर्थतन्त्रको सन्दर्भमा चीन–बेलायत सहकार्य केवल द्विपक्षीय हितमा सीमित नभई वैश्विक स्थिरता र विकाससँग पनि गाँसिएको देखिन्छ।





