मध्यपूर्वलाई युद्धको अँध्यारोतर्फ नधकेल्न चीनको चेतावनी

इरानमाथि सैन्य कारबाही विनाशकारी हुने संयुक्त राष्ट्रमा कडा सन्देश

न्युयोर्क । मध्यपूर्व पुनः युद्धको छायाँमा फस्दै गएको संकेत देखिन थालेका बेला चीनले इरानमाथि कुनै पनि किसिमको सैन्य कारबाही क्षेत्रीय स्थिरताका लागि घातक हुने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको उच्चस्तरीय बहसका क्रममा चीनले सैन्य साहसिकता (military adventurism) ले मध्यपूर्वलाई अनिश्चित र खतरनाक खाडलतर्फ धकेल्ने स्पष्ट सन्देश दिएको हो।

संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु छङले बुधबार (स्थानीय समय) मध्यपूर्व सम्बन्धी बहसमा बोल्दै इरानको अवस्था अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानमा परेको उल्लेख गरे। उनका अनुसार अहिले पूरा मध्यपूर्व युद्धको भयले ढाकिएको छ र तनाव दिनप्रतिदिन चर्कँदै गएको छ।

फु छङले इरान एक स्वतन्त्र र सार्वभौम राष्ट्र भएको उल्लेख गर्दै त्यस देशका आन्तरिक मामिलाबारे निर्णय गर्ने अधिकार इरानी जनताकै हुने स्पष्ट पारे। चीनले इरानको राष्ट्रिय स्थिरता कायम रहोस् भन्ने चाहना राख्ने र इरानको सार्वभौमिकता, सुरक्षा तथा भौगोलिक अखण्डताको संरक्षणमा समर्थन गर्ने उनको भनाइ थियो।

उनले स्पष्ट शब्दमा भने, “बल प्रयोग गरेर समस्या समाधान हुँदैन। कुनै पनि प्रकारको सैन्य साहसिकताले मध्यपूर्वलाई अनपेक्षित र नियन्त्रण बाहिरको खाडलतर्फ लैजान्छ।” चीनले युद्धको धम्की वा बल प्रयोगको भाषा प्रयोग गर्नुको सट्टा संवाद र कूटनीति मार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

चीनले संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्त पालना गर्न सबै पक्षलाई आग्रह गर्दै अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा त्यसको धम्की नदिन आह्वान गरेको छ। फु छङका अनुसार यस्ता सिद्धान्त उल्लंघन हुँदा केवल इरान मात्र होइन, सम्पूर्ण मध्यपूर्व अस्थिरतामा धकेलिने खतरा रहन्छ।

यसैबीच चीनले विशेष रूपमा संयुक्त राज्य अमेरिका र सम्बन्धित अन्य पक्षहरूलाई अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय देशहरूको आवाज सुन्न आग्रह गरेको छ। चीनका अनुसार शान्ति र स्थिरता प्रवर्द्धन गर्ने कदम चाल्नुको सट्टा तनाव बढाउने वा आगोमा घ्यू थप्ने कार्य रोक्न आवश्यक छ।

चीनको यो चेतावनी यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता गर्न समय सकिँदै गएको चेतावनी दिएका छन्। अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार ट्रम्पले इरानलाई आणविक हतियारसम्बन्धी वार्तामा आउन आग्रह गर्दै, असफल भए “अमेरिकी युद्धपोतहरूको विशाल बेडा” प्रयोग गर्न सकिने धम्की दिएका छन्।

ट्रम्पको यो अभिव्यक्तिपछि क्षेत्रीय तनाव थप चर्किएको छ। अल जजिराले जनाएअनुसार इरानका परराष्ट्र मन्त्रीले अमेरिकी सम्भावित आक्रमणको कडा जवाफ दिन इरानी सशस्त्र बलहरू पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले कुनै पनि आक्रमण भए तत्काल र शक्तिशाली प्रतिकार गरिने चेतावनी दिएका छन्।

विश्लेषकहरूका अनुसार अमेरिका–इरानबीचको यो बढ्दो टकराव केवल दुई देशबीच सीमित रहने छैन। यदि सैन्य कारबाहीको बाटो रोजियो भने त्यसको असर खाडी क्षेत्र, इराक, सिरिया र विश्व ऊर्जा बजारसम्म फैलिन सक्ने खतरा छ। यही कारण चीनले अहिलेको अवस्थालाई अत्यन्त संवेदनशील भन्दै संयमता र संवादलाई प्राथमिकता दिन जोड दिएको हो।

चीनको धारणा स्पष्ट छ, इरान समस्याको समाधान युद्धबाट होइन, वार्ताबाट सम्भव छ। मध्यपूर्व पहिले नै दशकौँदेखि द्वन्द्व, हस्तक्षेप र अस्थिरताबाट थलिएको क्षेत्र हो। नयाँ युद्धले स्थिति सुधार्ने होइन, अझ गहिरो संकटतर्फ धकेल्ने चीनको निष्कर्ष छ।

विश्व शक्ति राष्ट्रहरूबीचको टकरावले साना र कमजोर राष्ट्रहरू सबैभन्दा बढी प्रभावित हुने पृष्ठभूमिमा चीनको यो सन्देशलाई अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति–सन्तुलन र बहुपक्षीयताका पक्षमा गरिएको कडा हस्तक्षेपका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button