संवादको आशा र मानवीय संकटको यथार्थ: गाजामा शान्तिका लागि रुसको स्पष्ट सन्देश

न्युयोर्क । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद (UNSC) को मध्यपूर्व अवस्थाबारे खुला बहसमा रुसका स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले प्यालेस्टाइन–इजरायल द्वन्द्वमा पछिल्ला घटनाक्रमले संयमित आशा जन्माएको बताएका छन्। उनले हिंसा र द्वन्द्वको चक्रबाट बाहिर निस्केर कूटनीति र आर्थिक पुनरुत्थानतर्फ बढ्ने सम्भावना देखिएको उल्लेख गरे।

नेबेन्जियाले मध्यपूर्व शान्ति प्रक्रियाकालागि उप–विशेष संयोजक रामिज अलाक्बारोभको ब्रिफिङप्रति आभार व्यक्त गर्दै इजरायली अन्तिम बन्धक रान ग्भिलीको शव फिर्ता हुनु दुवै समुदायबीच सम्बन्ध पुनःस्थापनाको प्रतीकात्मक सुरुआत हुनसक्ने धारणा राखे। यद्यपि, उनले अक्टोबर ७, २०२३ पछि इजरायली समाजमा परेको घाउ जस्तै प्यालेस्टिनी जनताले भोगेको अकल्पनीय पीडालाई पनि बिर्सन नहुने स्पष्ट पारे।

उनका अनुसार, अक्टोबर २०२५ मा युद्धविरामपछि मात्रै गाजामा भग्नावशेषबाट ७१० शव निकालिएका छन् भने अझै हजारौँ मानिस भग्नावशेषभित्र छन्। हवाई आक्रमण, भोकमरी र चिसोका कारण हालसम्म ७० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको तथ्यले मेलमिलापको प्रक्रियालाई झन गम्भीर बनाएको उनले बताए।

रुसले अमेरिकाले जनवरी १४ मा घोषणा गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको दोस्रो चरण सुरु भएकोप्रति स्वागत जनाएको छ। गाजाको प्रशासनका लागि गठित राष्ट्रिय समिति (NCAG) र प्यालेस्टिनी प्रशासनका अनुभवी अधिकारी अली शाअथको नेतृत्वले पुनर्निर्माणको आधार तयार पार्ने विश्वास व्यक्त गरिएको छ। तर, प्यालेस्टिनी जनताको अधिकार र हित पूर्ण रूपमा सम्मान नगरिएसम्म शान्ति प्रयास सफल नहुने नेबेन्जियाको जोड थियो।

उनले गाजावासीलाई जबर्जस्ती विस्थापित गर्ने कुनै पनि योजना अस्वीकार्य हुने बताए र १९६७ को सीमाभित्र पूर्वी जेरुसेलमसहित स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गरी गाजा र वेस्ट बैंकको प्रशासनिक, राजनीतिक तथा आर्थिक एकता पुनःस्थापनाको अपेक्षा व्यक्त गरे।

गाजामा प्रस्तावित अन्तर्राष्ट्रिय स्थिरीकरण बल (ISF) सम्बन्धी योजना स्पष्ट हुनुपर्ने माग गर्दै नेबेन्जियाले यस्तो बलको संरचना, आकार र अधिकारक्षेत्रबारे अमेरिका स्पष्ट हुनुपर्ने बताए। दुवै पक्षको सहमति र निष्पक्ष भूमिकाबिना शान्ति सैनिकको प्रभावकारिता सम्भव नहुने उनको भनाइ थियो।

नेबेन्जियाले इजरायलले गाजावासीप्रति आफ्ना मानवीय दायित्व तत्काल पूरा गर्नुपर्ने कडा आग्रह गरे। उनले सुरक्षा परिषद प्रस्ताव २८०३ र ट्रम्पको शान्ति योजनाअनुसार मानवीय सहायता पूर्ण रूपमा पुनःसञ्चालन गर्नुपर्ने स्मरण गराउँदै रफाह नाका अझै पूर्ण रूपमा सञ्चालनमा नआउनु गम्भीर चिन्ताको विषय भएको बताए।

उनका अनुसार, गाजामा मानवीय अवस्था अझै भयावह छ। सहायता सामग्री आपूर्तिमा अवरोध, भग्नावशेष हटाउने उपकरणमाथि प्रतिबन्ध, स्वास्थ्य सेवा र शिक्षामा पहुँचको अभाव तथा जाडोका कारण अवस्था झन बिग्रिएको छ। अक्टोबर १०, २०२५ यता मात्रै करिब ५०० जनाको मृत्यु भएको र कम्तीमा ९ जनाको जाडोका कारण ज्यान गएको उनले जानकारी दिए।

रुसले प्यालेस्टिनी जनताको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै, अघिल्लो अमेरिकी प्रशासनले जफत गरेका रुसी सम्पत्तिबाट १ अर्ब अमेरिकी डलर गाजाको पुनर्निर्माणका लागि उपलब्ध गराउन तयार रहेको घोषणा पनि गरेको छ।

नेबेन्जियाले UNRWA (संयुक्त राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी सहायता संस्था) को भूमिकाप्रति विशेष ध्यानाकर्षण गराउँदै यस संस्थामाथि इजरायलबाट भइरहेको दबाबप्रति गम्भीर चिन्ता व्यक्त गरे। विद्युत र पानी आपूर्ति बन्द गर्ने, कर छुट र कानुनी उन्मुक्ति हटाउने तथा भुक्तानी प्रणाली अवरुद्ध गर्ने कदमले हजारौँ प्यालेस्टिनीको जीवन प्रत्यक्ष रूपमा प्रभावित हुने चेतावनी दिए।

गाजामा युद्ध सुरु भएयता ३०९ जना UNRWA कर्मचारी मारिएको उल्लेख गर्दै उनले निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गरे। साथै, UN महासचिवले इजरायलको UNRWA विरोधी नीतिप्रति व्यक्त गरेको कडा आलोचनाप्रति समर्थन जनाउँदै यस्तो नीति तत्काल उल्ट्याउन आग्रह गरे।

जेरुसेलमको सन्दर्भमा, रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव ४७६ र ४७८ अनुरूप शहरको कब्जा गरिएको हैसियतलाई मान्यता दिँदै इजरायलको सार्वभौमिकता विस्तारलाई अस्वीकार गर्ने पुनः स्पष्ट पारेको छ।

अन्त्यमा, नेबेन्जियाले प्यालेस्टाइन–इजरायल समस्यामा रुसको अडान सिद्धान्तगत र स्थायी रहेको भन्दै दुई–राज्य समाधान नै मध्यपूर्वमा दीगो शान्ति र सुरक्षा प्राप्त गर्ने एकमात्र मार्ग भएको दोहोर्‍याए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button