‘कानुनको शासन नभए विश्व जंगलको नियमतर्फ फर्किन्छ’

चीन–बेलायतलाई साँचो बहुपक्षीयताको अगुवाइ गर्न सीको आह्वान

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र बेलायतलाई बहुपक्षीयता र स्वतन्त्र व्यापारका साझा समर्थकका रूपमा साँचो बहुपक्षीयताको वकालत मात्र होइन, व्यवहारमै कार्यान्वयन गर्न संयुक्त रूपमा अगाडि बढ्न आह्वान गरेका छन्।

बेइजिङ भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री किअर स्टार्मरसँग बिहीबार भएको भेटवार्तामा राष्ट्रपति सीले अन्तर्राष्ट्रिय कानुनको प्रभावकारिता सबै देशले त्यसको समान रूपमा पालना गरेमा मात्र सुनिश्चित हुने स्पष्ट पारे। उनले नियम आफू अनुकूल व्याख्या गर्ने वा चुनिएको देशले मात्र पालन गर्ने प्रवृत्तिले विश्वव्यवस्थालाई कमजोर बनाउने चेतावनी दिए।

सी जिनपिङले विशेषगरी ठूला र प्रभावशाली देशहरूको भूमिका निर्णायक हुने उल्लेख गर्दै भने, “यदि प्रमुख राष्ट्रहरूले नै उदाहरण प्रस्तुत गरेनन् भने विश्व पुनः ‘जंगलको नियम’ तर्फ धकेलिन सक्छ।” उनको भनाइले शक्ति–आधारित राजनीति र एकपक्षीय कदमप्रति गम्भीर चिन्ता झल्काएको छ।

भेटका क्रममा राष्ट्रपति सीले चीन र बेलायतबीचको सहकार्य केवल द्विपक्षीय सम्बन्धमा सीमित नरही विश्वव्यापी शासन प्रणालीलाई सुदृढ बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताए। बहुपक्षीय संयन्त्र, खुला अर्थतन्त्र र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई मजबुत बनाउन दुवै देशले रचनात्मक भूमिका खेल्न सक्ने उनको धारणा थियो।

चीन र बेलायतबीच हालै देखिएको संवाद र सम्पर्कको गति विश्वव्यवस्थामा बढ्दो अनिश्चितताबीच स्थिरता र सहकार्यको संकेतका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार राष्ट्रपति सीको सन्देशले विश्व राजनीतिमा बढ्दै गएको संरक्षणवाद, शक्ति राजनीति र नियम उल्लङ्घनप्रति स्पष्ट प्रतिवाद प्रस्तुत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button