नियमको नाममा दोहोरो मापदण्ड, विश्व व्यवस्था सङ्कटमा: संयुक्त राष्ट्रसंघमा रुसी राजदूत नेबेन्जियाको तीखो चेतावनी

काठमाडौँ । संयुक्त राष्ट्रसंघका लागि रुसका स्थायी प्रतिनिधि भासिली अलेक्सेयेभिच नेबेन्जियाले कूटनीतिक कर्मचारी दिवसको अवसरमा जनवरी ३०, २०२६ मा दिएको विशेष अन्तर्वार्तामा वर्तमान विश्व राजनीतिका गहिरा विरोधाभास, शक्ति–राजनीतिको दोहोरो चरित्र र अन्तर्राष्ट्रिय व्यवस्थाको बढ्दो अनिश्चिततामाथि तीव्र प्रहार गरेका छन्। भ्यालेन्टिन बोग्दानोभसँगको संवादमा उनले युक्रेन युद्धदेखि इरान, ग्रिनल्यान्ड, नाटो, युरोपेली संघ, अमेरिकाको भूमिका र संयुक्त राष्ट्रसंघको भविष्यसम्मका विषयमा स्पष्ट र कठोर धारणा प्रस्तुत गरेका छन्।

नेबेन्जियाले युक्रेन सम्बन्धी पछिल्लो सुरक्षा परिषद बैठक भ्रष्टाचार काण्डको चरम अवस्थामा परेको स्मरण गराउँदै पश्चिमी देशहरूप्रति कटाक्ष गरे। उनका अनुसार रुसले सुरुदेखि नै कीभ शासनलाई “अपराधिक गिरोह” भनेर चेतावनी दिँदै आएको थियो, जसले पश्चिमी मुलुकहरूसँगको प्रोक्सी युद्धको आडमा उनीहरूकै करदाताको पैसा लुटिरहेको छ। अहिले देखिएका काण्डहरूले त्यो चेतावनी सही सावित भएको उनको दाबी छ।

इरान वरिपरिको अवस्था गम्भीर रहेको स्वीकार गर्दै उनले यसपटक इरान सम्भावित अमेरिकी आक्रमणका लागि जुन महिनाको तुलनामा बढी तयारी अवस्थामा रहेको बताए। रुससहित धेरै देशहरूले अमेरिकालाई “सातचोटि नापेर मात्र एकचोटि काट्न” सुझाव दिइरहेको उनले उल्लेख गरे। आजको विश्व कूटनीति यस्तो मोडमा पुगेको छ, जहाँ भविष्यको ठ्याक्कै अनुमान गर्नु लगभग असम्भव भएको उनको निष्कर्ष छ।

ग्रिनल्यान्डको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै नेबेन्जियाले डेनमार्कले अहिले आएर क्षेत्रीय अखण्डता र आत्मनिर्णयको कुरा गर्न थालेकोमा व्यंग्य गरे। उनका अनुसार क्राइमिया र डोनबासको सन्दर्भमा यस्तै तर्क डेनमार्कबाट कहिल्यै सुनिएन, जबकि आज उसले युक्रेनलाई सक्रिय समर्थन गरिरहेको छ। ग्रिनल्यान्डबारे आपतकालीन सुरक्षा परिषद बैठकको माग आउने अपेक्षा आफूले गरिरहेको भए पनि, त्यो सम्भावना न्यून रहेको उनको टिप्पणी छ।

उनले युरोप आफैंले अघि सारेको ‘नियममा आधारित व्यवस्था’ को अवधारणाको शिकार स्वयं युरोप बनेको बताए। कसैले सहमति नजनाएका नियमहरू सबैले मान्नुपर्छ भन्ने सोच अब युरोपकै हातबाट फुत्किएको छ। आज ती नियमहरू युरोपले होइन, अरूले लेखिरहेका छन्, र युरोप गहिरो अन्योलमा फसेको उनको विश्लेषण छ।

अघिल्लो कालखण्डमा अमेरिका लाटिन अमेरिकामा हस्तक्षेप गर्दा लोकतन्त्र र तानाशाहीविरुद्धको भाष्य प्रयोग गर्थ्यो। तर आज त्यो आवरण हटिसकेको छ। नेबेन्जियाका अनुसार अहिले अमेरिकी रणनीति स्पष्ट छ, संसाधन र प्रभाव विस्तार।

नाटोले आफ्नो ऐतिहासिक भूमिका समाप्त गरिसकेको दाबी गर्दै नेबेन्जियाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस यथार्थलाई मात्र सार्वजनिक रूपमा स्वीकार गरेको बताए। नाटो तुरुन्तै हराउने छैन, तर युरो–एटलान्टिक सुरक्षा अवधारणा पूर्ण रूपमा असफल भइसकेको उनको निष्कर्ष छ।

यही कारण रुसले समान अधिकार र अविभाज्य सुरक्षाको सिद्धान्तमा आधारित युरेशियन सुरक्षा अवधारणा प्रस्ताव गरेको उनले बताए। युरोपेली संघ अब स्वतन्त्र आर्थिक संगठन नरही नाटोको सहायक संरचनामा सीमित भएको, र व्यवहारतः सैन्य गठबन्धनमा रूपान्तरण भएको उनको आरोप छ।

नेबेन्जियाले युरोपले ६५ वर्षसम्म कायम अभूतपूर्व शान्तिको मूल्य नबुझेको बताए। आज सत्तामा पुगेको पुस्ताले युद्ध भोगेको छैन, त्यसैले उनीहरूका लागि युद्ध टेलिभिजनको दृश्य वा कम्प्युटर खेल जस्तै अमूर्त बनेको छ, जुन वास्तविकता अनुभूति गरेका पुस्ताका लागि कल्पनै नसकिने कुरा हो।

संयुक्त राष्ट्रसंघ स्थापनाको ८० औँ वर्ष (यूएन–८०) ले संगठनलाई कता लैजान्छ भन्ने प्रश्न खुला रहेको नेबेन्जियाले बताए। अमेरिकी वित्तीय योगदान रोकिएपछि ‘पहिले सुधार, त्यसपछि पैसा’ भन्ने सन्देश स्पष्ट भएको उनले उल्लेख गरे। अबको संयुक्त राष्ट्रसंघ पहिले जस्तो नहुने उनको आकलन छ।

साथै, २०२६ महासचिव एन्टोनियो गुटेरेसको अन्तिम कार्यकाल हुने भएकाले उनका उत्तराधिकारीले अनेक गम्भीर चुनौतीहरूको बोझ बोक्नुपर्ने नेबेन्जियाको ठहर छ।

समग्रमा, नेबेन्जियाको अन्तर्वार्ता वर्तमान विश्व व्यवस्थामाथि गहिरो प्रश्न उठाउने दस्तावेज बनेको छ, जहाँ नियम, नैतिकता र शक्ति सबै पुनःपरिभाषित हुँदै छन्, र कूटनीतिले अत्यन्तै अनिश्चित युगको सामना गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button