चीन–अल्जेरिया अन्तरिक्ष सहकार्यको नयाँ उचाइ: चिनियाँ भूमिबाट अल्जेरियाली उपग्रह सफल प्रक्षेपण

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ र अल्जेरियाका राष्ट्रपति अब्देलमजिद तेब्बुनेले उत्तरपश्चिम चीनको जिउछ्वान प्रक्षेपण केन्द्रबाट अल्जेरियाको रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण भएको अवसरमा एकअर्कालाई बधाई सन्देश आदान–प्रदान गरेका छन्।
शनिबार आदान–प्रदान गरिएको बधाई सन्देशमा दुवै राष्ट्रपतिले यो उपलब्धिलाई चीन–अल्जेरिया रणनीतिक सहकार्यको महत्वपूर्ण कोसेढुंगा भएको बताएका छन्। राष्ट्रपति सी जिनपिङले अन्तरिक्ष विज्ञान र प्रविधिमा चीन र अल्जेरियाबीच बढ्दो सहकार्यले आपसी विश्वास, प्रविधि हस्तान्तरण र साझा विकासलाई थप सुदृढ बनाएको उल्लेख गरेका छन्।
अल्जेरियाका राष्ट्रपति तेब्बुनेले पनि चिनियाँ सहयोग र प्रविधिक क्षमताप्रति प्रशंसा व्यक्त गर्दै यो उपग्रह अल्जेरियाको राष्ट्रिय विकास, स्रोत व्यवस्थापन, वातावरणीय अनुगमन तथा विपद व्यवस्थापनमा अत्यन्त उपयोगी हुने बताएका छन्।
जिउछ्वान प्रक्षेपण केन्द्रबाट भएको यो प्रक्षेपणले विकासशील मुलुकहरूबीचको दक्षिण–दक्षिण सहकार्यलाई अन्तरिक्ष क्षेत्रसम्म विस्तार गरेको सन्देश दिएको विश्लेषकहरूको भनाइ छ। चीन र अल्जेरियाबीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारी अब पृथ्वीको कक्षासम्म पुगेर नयाँ चरणमा प्रवेश गरेको यस घटनाले स्पष्ट संकेत गरेको छ।





