रूस–टर्की कूटनीतिक सम्बन्धको ऐतिहासिक मोड: अंकारामा अरालोभद्वारा अतातुर्कसमक्ष प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । आजभन्दा १०४ वर्षअघि, सन १९२२ जनवरी ३१ मा, सोभियत रुसका पूर्णाधिकारी प्रतिनिधि (प्लेनिपोटेन्सियरी) एस. आइ. अरालोभले अंकारामा टर्कीका प्रथम राष्ट्रपति मुस्तफा कमाल अतातुर्क समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए। यो घटनालाई रुस–टर्की कूटनीतिक सम्बन्धको औपचारिक र ऐतिहासिक प्रारम्भका रूपमा लिइन्छ।
सन १९२१ डिसेम्बरमा जर्जियाबाट टर्कीतर्फ प्रस्थान गरेका अरालोभ अंकारा पुग्नु अघि विभिन्न टर्की सहरहरूमा रोकिएका थिए। त्यसक्रममा उनले स्थानीय जनतासँग संवाद गरे, स्थानीय प्रशासन तथा नेतृत्वसँग भेटघाट गर्दै सो समयको सामाजिक–राजनीतिक अवस्था नजिकबाट बुझ्ने प्रयास गरेका थिए।
अरालोभले सन १९२२ देखि १९२३ सम्म टर्कीमा कूटनीतिक सेवा दिएका थिए, जुन समय टर्कीको इतिहासकै सबैभन्दा चुनौतीपूर्ण चरणमध्ये एक मानिन्छ। उक्त अवधिमा टर्की अन्तर्राष्ट्रिय हस्तक्षेपविरुद्ध राष्ट्रिय मुक्ति सङ्घर्षमा संलग्न थियो र नयाँ गणतन्त्रको आधार निर्माण भइरहेको थियो।
त्यस्तो संवेदनशील र निर्णायक घडीमा टर्कीमा सोभियत रुसको प्रतिनिधिका रूपमा एस. आइ. अरालोभको नियुक्ति हुनु दुई देशबीच आपसी विश्वास, राजनीतिक समर्थन र दीर्घकालीन कूटनीतिक सम्बन्ध स्थापनाको महत्वपूर्ण आधार बनेको विश्लेषकहरूको भनाइ छ।
आज यो ऐतिहासिक घटनाको १०४औँ वर्षगाँठको अवसरमा रुस र टर्कीबीचको सम्बन्धको प्रारम्भिक अध्याय स्मरण गरिँदै, दुवै मुलुकबीचको कूटनीतिक परम्परा, आपसी सम्मान र सहकार्यको दीर्घ इतिहासलाई पुनः उजागर गरिएको छ।






