इरान–अमेरिका संवादको सङ्केत, सैन्य दबाबसहित ट्रम्पको सन्देश

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग संयुक्त राज्य अमेरिकाको वार्ता भइरहेको बताएका छन्। शनिबार फक्स न्युजसँग कुरा गर्दै उनले इरान अमेरिकासँग संवादमा रहेको र त्यसबाट कुनै निष्कर्ष निकाल्न सकिन्छ कि सकिँदैन भन्ने कुरा समयले देखाउने बताए।

“योजना यही हो कि इरान हामीसँग कुरा गरिरहेको छ, अब केही गर्न सकिन्छ कि सकिँदैन हेर्नेछौँ। नत्र के हुन्छ, त्यो पनि देखिनेछ,” ट्रम्पले फक्स न्युजका संवाददातासँग भने।

उनले विगतका वार्तालाई स्मरण गर्दै इरानको आणविक कार्यक्रमलाई लिएर पहिले गरिएको प्रयास सफल नभएको दाबी गरे। “अघिल्लो पटक उनीहरूले वार्ता गर्दा हामीले उनीहरूको आणविक क्षमता हटाउनुपर्‍यो। त्यो काम गरेन। त्यसपछि हामीले अर्कै तरिकाले त्यसलाई हटायौँ, अब के हुन्छ हेर्नेछौँ,” ट्रम्पको भनाइ थियो।

ट्रम्पले मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिलाई पनि जोड दिए। उनका अनुसार अमेरिकाले इरान नजिक ठूलो सैन्य बेडा पठाइरहेको छ, जुन भेनेजुएलामा प्रयोग गरिएको बेडाभन्दा पनि ठूलो रहेको उनले बताए। “हामीसँग त्यहाँ ठूलो फ्लीट जाँदैछ, पहिलेभन्दा पनि ठूलो,” उनले भने।

इरानसँग वार्ता चलिरहेका बेला खाडी क्षेत्रका अमेरिकी सहयोगी मुलुकहरूलाई सैन्य योजनाबारे जानकारी दिन नसकिने पनि ट्रम्पले स्पष्ट पारे। सम्भावित अमेरिकी हस्तक्षेपबारे खाडी सहयोगीहरू अन्धकारमै रहेको भन्ने समाचारप्रति प्रतिक्रिया दिँदै उनले भने, “हामी उनीहरूलाई योजना भन्न सक्दैनौँ। यदि मैले योजना बताएँ भने, तपाईंलाई बताएजत्तिकै खराब हुनेछ, सायद त्योभन्दा पनि खराब।”

ट्रम्पको यो अभिव्यक्तिले एकातिर कूटनीतिक संवादको ढोका खुला राखेको देखिए पनि अर्कोतिर इरानमाथि निरन्तर सैन्य दबाब कायम राख्ने अमेरिकी रणनीतिलाई स्पष्ट संकेत गरेको विश्लेषकहरू बताउँछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button