पूर्वाधार, स्वच्छ ऊर्जा र डिजिटल रूपान्तरणमा फड्को मार्दै सिचाङ: २०२६ मा ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिको लक्ष्य

काठमाडौँ । चीनको दक्षिणपश्चिमी भूभागमा रहेको सिचाङ स्वायत्त क्षेत्र (तिब्बत) ले यस वर्ष उच्च गुणस्तरीय आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राख्दै अघि बढ्ने घोषणा गरेको छ। पूर्वाधारमा ठूलो लगानी, उच्चस्तरीय खुलापन विस्तार, स्वच्छ ऊर्जा विकास र डिजिटल तथा स्मार्ट प्रविधिको तीव्र प्रयोग मार्फत सिचाङले नयाँ विकास यात्राको खाका कोरेको हो।

क्षेत्रीय जनकङ्ग्रेसको वार्षिक अधिवेशनमा शनिबार प्रस्तुत सरकारी कार्य प्रतिवेदनमा सिचाङ क्षेत्रीय सरकारका अध्यक्ष गामा चेदाइनले सन २०२६ मा ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिको लक्ष्य राखिएको जानकारी दिए। गत वर्ष पहिलोपटक सिचाङको कुल गार्हस्थ उत्पादन (जीडीपी) ३०० अर्ब युआन नाघ्दै ३०३.१९ अर्ब युआन पुगेको थियो।

१४औँ पञ्चवर्षीय योजनाको अवधि (२०२१–२०२५) मा सिचाङको औसत वार्षिक आर्थिक वृद्धि ६.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। सन २०२६ बाट चीनको १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) सुरु हुँदैछ, जसलाई सिचाङले नयाँ अवसरका रूपमा लिएको छ।

यस वर्ष सिचाङले २४४ अर्ब युआनभन्दा बढी लगानी गर्दै ठूला परियोजनाहरूलाई तीव्रता दिने योजना बनाएको छ। यार्लुङ जाङ्बो नदीको तल्लो बहाव क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजना, सिछुआन–सिचाङ रेलवे परियोजना तथा राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति प्रमुख प्राथमिकतामा रहेका छन्।

स्वच्छ ऊर्जामा सिचाङको विशेष जोड रहनेछ। प्रतिवेदन अनुसार सन २०२५ मा १ करोड ३० लाख किलोवाट रहेको विद्युत उत्पादन क्षमतालाई २०२६ मा २ करोड किलोवाट पुर्‍याउने लक्ष्य राखिएको छ। हावा, सौर्य र जलविद्युत समेटिएका एकीकृत ऊर्जा आधार विभिन्न स्थानमा निर्माण गरिनेछन्।

उच्च हिमाली भेग र कठोर प्राकृतिक अवस्थाका बाबजुद सिचाङ सौर्य, वायु र जलस्रोतमा अत्यन्तै धनी रहेको छ। यही सम्भावनाले स्वच्छ ऊर्जा क्षेत्रलाई सिचाङको भविष्यको मेरुदण्डका रूपमा स्थापित गरिरहेको छ। साथै, मनमोहक हिमाली दृश्य र समृद्ध तिब्बती संस्कृति सिचाङलाई लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउँछन्।

सन २०२६ मा सांस्कृतिक र पर्यटन उद्योगको एकीकृत विकासलाई अघि बढाइनेछ। सांस्कृतिक पर्यटनलाई डिजिटल र स्मार्ट प्रविधि मार्फत आधुनिकीकरण गर्दै पर्यटन खर्च बढाउने रणनीति अपनाइनेछ। सांस्कृतिक प्रस्तुति र अमूर्त सांस्कृतिक सम्पदालाई पर्यटकीय स्थल र स्तरीय होटलसम्म पुर्‍याइने, ग्रामीण पर्यटनलाई थप उन्नत बनाइने प्रतिवेदनमा उल्लेख छ।

सीमावर्ती क्षेत्र भएकाले सिचाङले उच्चस्तरीय खुलापन विस्तार गर्ने नीति लिएको छ। हाल सञ्चालनमा रहेका १४ परम्परागत सीमा व्यापार केन्द्रलाई व्यवस्थित गर्दै यसैवर्ष थप १२ नयाँ केन्द्र खोलिनेछन्।

डिजिटल अर्थतन्त्रलाई पनि सिचाङको विकास रणनीतिमा प्रमुख स्थान दिइएको छ। कम्प्युटिङ क्षमताको उद्योग संरचना सुधार गर्दै डिजिटल र बुद्धिमान प्रविधिको समेकित प्रयोगलाई तीव्र बनाइनेछ।

जनजीवन सुधारमा ठूलो लगानी गर्ने योजना अनुसार ३४ वटा जनजीविकासम्बन्धी परियोजनाका लागि १३.६ अर्ब युआन छुट्याइएको छ। विशेषगरी कृषि र पशुपालन क्षेत्रमा निःशुल्क प्रि–स्कुल शिक्षाको वार्षिक अनुदान प्रतिविद्यार्थी ३८० युआनबाट बढाएर औसत १,००० युआन पुर्‍याइनेछ।

पर्यावरण संरक्षणलाई निरन्तर प्राथमिकता दिँदै सन २०२६ मा २६ हजार हेक्टरभन्दा बढी क्षेत्रमा वृक्षारोपण गरिनेछ। जसको आधा हिस्सा राजधानी ल्हासाको उत्तर र दक्षिण पहाडी क्षेत्रमा हरियाली विस्तार परियोजना अन्तर्गत हुनेछ।

“आजको सिचाङ अभूतपूर्व ऐतिहासिक अवसरको चरणमा प्रवेश गरिरहेको छ,” अध्यक्ष गामा चेदाइनले भने, “सुरक्षा कवचका रूपमा यसको भूमिका, ऊर्जा स्रोतमा रहेको फाइदा र रणनीतिक मार्गका रूपमा यसको महत्व दिनानुदिन प्रस्ट हुँदै गएको छ। अब यहाँ विकासको भव्य खाका खुल्दैछ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button