रूस–चीन सांस्कृतिक सहकार्यको निरन्तरता: बेइजिङमा लेनिनग्राद क्षेत्र सिम्फनी अर्केस्ट्राको भव्य प्रस्तुति

बेइजिङ । रूस र चीनबीच सञ्चालन भएका सांस्कृतिक वर्षहरू औपचारिक रूपमा समाप्त भए पनि दुवै देशबीचको सिर्जनात्मक आदान–प्रदान उही गतिमा अघि बढिरहेको छ। यही सांस्कृतिक मित्रताको सशक्त उदाहरणका रूपमा लेनिनग्राद क्षेत्र सिम्फनी अर्केस्ट्राले फेब्रुअरी १८ देखि २० तारिखसम्म चीनको राजधानी बेइजिङस्थित राष्ट्रिय ग्रान्ड थिएटरमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ।

चिनियाँ चन्द्र नयाँ वर्षको उत्सवबीच आयोजना हुने यो सांगीतिक भ्रमणले रूस–चीन सांस्कृतिक सम्बन्धलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। सन २०१७ मा स्थापना भएको यो युवा अर्केस्ट्राले छोटो समयमै लेनिनग्राद क्षेत्रमा अग्रणी सांगीतिक समूहको पहिचान बनाउँदै रूसभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएको छ। सन २०२५ मा यो अर्केस्ट्रा लेनिनग्राद राज्य फिलहार्मोनिकको सदस्य बन्नु यसका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

बेइजिङको मुख्य रंगमञ्चमा प्रस्तुत हुने कार्यक्रममा अर्केस्ट्राले रुसी तथा विश्व शास्त्रीय संगीत, चर्चित ओपेरा आरिया, लोकप्रिय चलचित्र संगीत र रूसी लोकगीतहरूको सन्तुलित तथा समृद्ध संयोजन प्रस्तुत गर्नेछ। कार्यक्रमको निर्देशन अर्केस्ट्राका कलात्मक निर्देशक तथा प्रमुख सञ्चालक, काबार्डिनो–बाल्कारियाका जनकलाकार मिखाइल गोलिकोभले गर्नेछन्।

यस सांगीतिक यात्रालाई अझै आकर्षक बनाउने गरी मारिन्स्की थिएटरका आमन्त्रित एकल कलाकारहरू सोपानो ओल्गा पुदोभा र बास याकोभ स्त्रिझाक ले स्वर प्रस्तुति दिनेछन्। उनीहरूको सहभागिताले कार्यक्रममा शास्त्रीय संगीतप्रेमी दर्शकहरूका लागि विशेष अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ।
सांस्कृतिक कूटनीति मार्फत आपसी समझदारी र मित्रतालाई सुदृढ बनाउँदै आएको रूस र चीनबीचको यो कार्यक्रमले दुई सभ्यताबीचको गहिरो सांस्कृतिक सम्बन्धलाई फेरि एकपटक विश्वसामु उजागर गर्नेछ।





