चीन–उरुग्वे सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सातदिने राजकीय भ्रमण: राष्ट्रपति ओरसी बेइजिङमा

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उरुग्वेको ओरिएन्टल गणतन्त्रका राष्ट्रपति यामान्दु ओरसी आइतबार सातदिने राजकीय भ्रमणका लागि चीनको राजधानी बेइजिङ आइपुगेका छन्। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यो राष्ट्रपति ओरसीको चीनप्रतिको पहिलो राजकीय भ्रमण हो।

हाल विश्वका विभिन्न देशका नेताहरूले चीन भ्रमण गरिरहेको पृष्ठभूमिमा यो भ्रमणलाई विशेष अर्थका साथ हेरिएको छ। चिनियाँ विज्ञहरूका अनुसार चीनको पूर्वानुमेय कूटनीति, स्पष्ट सिद्धान्त र आपसी लाभमा आधारित सहकार्यको दृष्टिकोणले थप अन्तर्राष्ट्रिय साझेदारहरूलाई आकर्षित गरिरहेको छ। उनीहरू भन्छन्, उरुग्वेका राष्ट्रपतिको यो भ्रमणले द्विपक्षीय सम्बन्ध र व्यापक सहकार्यलाई अझ बलियो आधार दिने र भविष्यका लागि फराकिलो बाटो खोल्नेछ।

भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति ओरसीबीच औपचारिक वार्ता हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। वार्तामा चीन–उरुग्वे व्यापक रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने, उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ सहकार्य अघि बढाउने तथा आपसी चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दुई राष्ट्रप्रमुखको रणनीतिक मार्गदर्शनमा यो भ्रमणले चीन–उरुग्वे व्यापक रणनीतिक साझेदारीको विकासलाई थप गति दिने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति ओरसीले आइतबार इन्स्टाग्राम मार्फत चीनमा रणनीतिक आधिकारिक भ्रमणका लागि आइपुगेको जानकारी दिँदै यसले उरुग्वेको अन्तर्राष्ट्रिय हैसियत सुदृढ गर्ने, लगानी आकर्षित गर्ने र देशको विकासका लागि नयाँ अवसर सिर्जना गर्ने बताएका छन्।

सीसीटीभी न्युजका अनुसार राष्ट्रपति ओरसीको प्रतिनिधिमण्डलमा उरुग्वे सरकारका उच्च अधिकारीहरूका साथै उद्यमी, उद्योगी र वाणिज्य संघका प्रतिनिधिहरू पनि सहभागी छन्। भ्रमणका क्रममा आर्थिक, व्यापारिक र लगानी सहकार्यलाई प्राथमिकतामा राखिने बताइएको छ।

दक्षिण अमेरिकाको दक्षिण–पूर्वी भागमा अवस्थित उरुग्वे कृषि र पशुपालन क्षेत्रमा विकसित मुलुक हो। चीन र उरुग्वेबीच सन १९८८ को फेब्रुअरीमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो भने सन २०२३ को नोभेम्बरमा दुवै देशले व्यापक रणनीतिक साझेदारीको घोषणा गरेका थिए।

चीन पछिल्लो एक दशकभन्दा बढी समयदेखि उरुग्वेको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ। चीन उरुग्वेबाट मुख्य रूपमा मासु, सोयाबिन र पल्प आयात गर्छ भने चीनबाट उरुग्वेमा विद्युतीय सवारी साधन जस्ता इलेक्ट्रोनिक सामग्री निर्यात हुन्छन्, जसले उरुग्वेलाई ऊर्जा आयात घटाउन सहयोग पुर्‍याएको छ।

सांघाइ विश्वविद्यालयस्थित ल्याटिन अमेरिकी अध्ययन केन्द्रका प्राध्यापक जियाङ सिक्सुएले चीन–उरुग्वे सम्बन्धमा आर्थिक तथा व्यापारिक सहकार्य नै ‘आधारस्तम्भ’ र मुख्य प्रेरक शक्ति भएको बताएका छन्। उनका अनुसार उच्च प्रविधि, स्वच्छ ऊर्जा लगायतका क्षेत्रमा भविष्यमा सहकार्यको ठूलो सम्भावना छ।

उरुग्वे चीनबाट भौगोलिक रूपमा निकै टाढा रहेको उल्लेख गर्दै जियाङले यो भ्रमणले राष्ट्रपति ओरसीलाई चीनका विभिन्न क्षेत्र, सरकारी निकाय र जनतासँग प्रत्यक्ष संवादको अवसर दिने र चीनबारे अझ गहिरो तथा समग्र बुझाइ विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसले चीन र ल्याटिन अमेरिकी मुलुकहरूबीचको सम्बन्ध विस्तारमा पनि सकारात्मक ऊर्जा थप्नेछ।

यो भ्रमण हालै बेलायतका प्रधानमन्त्री कियर स्टारमर र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको चीन भ्रमणपछि आएको हो। चिनियाँ सामाजिक विज्ञान एकेडेमीका अनुसन्धानकर्ता ल्यु स्याङका अनुसार अमेरिकी दबाबको वर्तमान सन्दर्भमा उरुग्वेजस्ता देशहरूका लागि ठूला शक्तिहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्नु आर्थिक मात्र होइन, राष्ट्रिय विकास र अस्तित्वकै सवाल बनेको छ।

ल्युले उरुग्वेका राष्ट्रपतिको भ्रमणले चीनको ‘सबै देशसँग मित्रता र साझेदारी’ गर्ने कूटनीतिक सिद्धान्त र पूर्वानुमेय नीतिले विश्वभर थप मित्र र साझेदारहरू आकर्षित गरिरहेको प्रमाणित गरेको बताए। उनका अनुसार चीनका ढोका सबैका लागि खुला छन्, र उरुग्वेको भ्रमणले चीनका लागि ल्याटिन अमेरिकासँगको सम्बन्ध कति महत्वपूर्ण छ भन्ने कुरा फेरि स्पष्ट पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button