सूर्य अध्ययनमा चीनको ऐतिहासिक फड्को: ‘सिह–२’ उपग्रह सन २०२८–२९ मा एल–५ बिन्दुतर्फ प्रक्षेपण हुने

बेइजिङ । चीनले सूर्य अध्ययन र अन्तरिक्ष मौसम निगरानीका लागि नयाँ सौर्य अन्वेषण उपग्रह ‘सिह–२’ प्रक्षेपण गर्ने तयारी गरेको छ। चीन मिडिया ग्रुपका अनुसार यो उपग्रह सन २०२८ देखि २०२९ को अवधिमा सूर्य–पृथ्वी प्रणालीको पाँचौँ लाग्रान्ज बिन्दु (एल–५) तर्फ पठाइनेछ, जुन अन्तरिक्ष विज्ञानका दृष्टिले अत्यन्तै रणनीतिक स्थान मानिन्छ।

‘लाग्रान्ज–भी सोलार अब्जरभेटरी’ नामले पनि चिनिने यो परियोजना नान्जिङ विश्वविद्यालय, चीनको मौसम विज्ञान प्रशासन र शाङ्घाइ एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीको संयुक्त प्रस्तावमा अघि बढाइएको हो।

नान्जिङ विश्वविद्यालयका प्राध्यापक तथा उपग्रहका डिजाइनरमध्ये एक फाङ चङका अनुसार सिह–२ ले सूर्यको चुम्बकीय क्षेत्रको अत्यन्तै सूक्ष्म मापन गर्ने, त्रि–आयामिक सौर्य विस्फोटको संरचना उजागर गर्ने र अन्तरिक्ष गतिविधिको पूर्वानुमान गर्ने उद्देश्य राखेको छ। यसले सूर्यबाट उत्पन्न हुने गतिविधि र त्यसको पृथ्वीमा पर्ने प्रभावबारे वैज्ञानिक बुझाइलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

पृथ्वीबाट करिब १५ करोड किलोमिटर टाढा रहेको पाँचौँ लाग्रान्ज बिन्दु गुरुत्वाकर्षण सन्तुलनको विशेष स्थान हो, जहाँबाट अन्तरिक्ष मौसमको दीर्घकालीन र प्रभावकारी निगरानी सम्भव हुन्छ। चिनियाँ विज्ञान एकेडेमीअन्तर्गत राष्ट्रिय खगोल वेधशालाका सौर्य भौतिकशास्त्री वाङ जिङस्युका अनुसार सिह–२ ले सौर्य गतिविधि विशेषगरी खतरनाक सौर्य ज्वाला चारदेखि पाँच दिन अघिनै पूर्वानुमान गर्न सक्नेछ। यसले पृथ्वीमा सम्भावित जोखिमका लागि तयारी समय उल्लेखनीय रूपमा बढाउनेछ।

सिह–२ विश्वकै पहिलो कृत्रिम सौर्य प्रोब हुनेछ, जसलाई पाँचौँ लाग्रान्ज बिन्दुमा स्थापना गरिनेछ। नान्जिङ विश्वविद्यालयका प्राध्यापक तथा सिह परियोजनाको विज्ञान तथा प्रयोग प्रणालीका प्रमुख डिजाइनर ली छ्वानका अनुसार विश्वभर हालसम्म ७० भन्दा बढी सौर्य उपग्रह प्रक्षेपण भए पनि एल–५ बिन्दुमा कुनै पनि उपग्रह तैनाथ गरिएको थिएन। त्यसैले सिह–२ ले सूर्य अध्ययनमा पूर्ण रूपमा नयाँ दृष्टिकोण प्रदान गर्नेछ।

गुरुत्वीय सन्तुलन बिन्दुमा पुगेपछि सिह–२ ले कक्षीय स्थिरता कायम राख्न न्यून ऊर्जा आवश्यक पर्नेछ र यसको सेवा आयु सात वर्षसम्म रहने गरी डिजाइन गरिएको छ।

चीनले यसअघि आफ्नो पहिलो सौर्य अन्वेषण उपग्रह ‘सिह’ सन २०२१ अक्टोबर १४ मा उत्तर चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरेको थियो। उक्त उपग्रहले ५७१ किलोमिटर उचाइको कक्षाबाट सूर्यको एच–अल्फा स्पेक्ट्रल इमेजिङ गरेको थियो।

चिनियाँ प्राचीन मिथकअनुसार ‘सिह’ सूर्यकी देवीको नाम हो। यही नाम बोकेको सिह–२ परियोजनाले आधुनिक विज्ञान र प्राचीन सांस्कृतिक प्रतीकलाई जोड्दै चीनको अन्तरिक्ष विज्ञान यात्रामा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button