तिब्बती धर्मगुरुको प्रवचन विवादमा,सरकार अप्ठेरोमा

काठमाडौंको बौद्धमा आयोजित प्रवचनमा सहभागी हुन तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आएपछि सरकार विवादमा तानिएको छ । गत बिहिबार दिउँसो नयाँ दिल्लीबाट एअर इण्डियाको उडान नम्बर एआइ २१९ मा आएका उनी बौद्धको तीनचुलीस्थित शेर्पिनी होटलमा बसेका छन् ।
आरुबारीस्थित डोल्पो समाज नामक गैरसरकारी संस्थाका अध्यक्ष टासी फोन्चो गुरुङको निमन्त्रणामा आएका रिम्पोछे हिजोदेखि अर्को मंगलबारसम्म सञ्चालन हुने १० दिने बौद्ध धर्मसम्बन्धी प्रवचन कार्यक्रममा सहभागी भइरहेका छन् । तिब्बती बौद्ध दर्शनको अध्यापन हुने जोनाङ विद्यालयका प्रमुख रिन्पोछेको नेपाल आगमनलाई लिएर छिमेकी मित्रराष्ट्र चीनले कूटनीतिक माध्यमबाट आफ्नो असन्तुष्टि जनाएको बुझिएको छ ।
रिम्पोछेको स्वागतमा सरकारी अधिकारीहरु सहभागी भएको चिनियाँ पक्षको आशंका छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनलाई स्वागत गर्न संस्थाका अध्यक्ष टासी फोन्चोलगायत झण्डै एक सय जना विमानस्थल पुगेका थिए । चिनियाँ पक्षले विवादित मान्छेलाई औपचारिक निम्तो दिइएकोमा आपत्ति जनाएको स्रोतको दावी छ ।
यसबारे औपचारिक रुपमा नेपाल सरकार र डोल्पो समाजले प्रतिक्रिया जनाएका छैनन् ।

Jana Aastha





