कूटनीतिक चेतावनी वा सामरिक दबाब? फु यु हाईको चीन सम्बन्धि लेखलाई लिएर मदन रेग्मीको गम्भीर सन्देश

काठमाडौं । चीन अध्ययन केन्द्रका अध्यक्ष र वरिष्ठ पत्रकार मदन रेग्मीले ड्रयागन मिडिया मार्फत प्रकाशित चिनियाँ पत्रकार फु यु हाईको चर्चित लेखलाई पूर्ण समर्थन गर्दै सरकार र राजनीतिक दलहरूलाई चीन विरोधी गतिविधिलाई नियन्त्रण गर्न चेतावनी दिएका छन्।
आफ्नो फेसबुक मार्फत राखिएको विस्तृत विश्लेषणमा रेग्मीले फु यु हाईको लेखलाई ‘समयोचित चेतावनी’ बताउँदै नेपालमा चीन विरोधी तत्त्वहरूलाई चुनौती दिन अपील गरेका छन्। उनले लेखेका छन्, “नेपालको सबभन्दा हितैषी मित्रराष्ट्र चीनको विरुद्धमा लागेर चीन विरोधी सबै प्रकारका गतिविधि नेपालमा गर्न दिने राज्यका सुरक्षाअंग लगायत सरकार, प्रशासन र मुकदर्शक बसेका राजनीतिक दलहरुले चीनलाई टुक्र्याउने दलाई लामा र उसका समर्थक केही विदेशी शक्तिहरू, खुफिया एजेन्सीहरु र एनजीओहरूलाई हामीले भर्सना गर्नुपर्छ।”
रेग्मीको विश्लेषणले चीनको कूटनीतिक ब्यवहारलाई नेपालका लागि ‘अल्टिमेटम’ को रूपमा व्याख्या गरेका छन्। उनको दावी छ, “हामी सुध्रिएनाैं भनृ मित्रराष्ट्र चीनले हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र प्रादेशिक अखण्डतालाई ध्वस्त त पार्नेछ, टुक्याउने मात्र होइन निल्ने पनि निश्चित छ।”
वरिष्ठ विश्लेषक रेग्मीले नेपाली जनतालाई सक्रिय हुन आह्वान गर्दै भने, “नेपाली जनताले चीनलाई हामीबाट छुट्याउने र हामीलाई वेसाहारा बनाउने अभियान विरुद्ध सकृय भूमिका खेल्नु जरुरी छ। यदि चीन विरोधी गतिविधि रोकिएन र राज्य सत्ता, सुरक्षा अंगहरु, सेना र राजनीतिक दलहरुले चीनको गुमेको विश्वासलाई प्राप्त गर्न कुनै कसर बाँकी राख्नु हुँदैन।”
फु यु हाईको चेतावनीलाई उद्धृत गर्दै रेग्मीले लेखेका छन्, “अन्यथा फु यु हाईले भनेजस्तै ‘चीनको धैर्य समाप्त भएको छ। मित्रता रोज्नुस र सम्मानपूर्वक बाच्नुस, वा कपट रोजेर ईतिहास निर्दिष्ट परिणाम भोग्नुहोस’।”
उनले नेपाली राज्यसत्तामा चीन प्रति ‘छुरा हान्ने’ नीतिको आरोप लगाउँदै भने, “नेपालको राज्यसत्ताले धेरै लामो समय देखि चीनको पछाडि छुरा हान्दै आएको भन्ने यथेष्ट ठाउँ छ। यस्तो कपटपूर्ण व्यवहार रोकिनु पर्छ।”
लेखको समापनमा रेग्मीले चीनसँगको मित्रतालाई रणनीतिक आवश्यकता बताउँदै भने, “देश बचाउन र बनाउन चीनको मित्रतालाई हामीले सदैव ससम्मान कायम राख्न सक्नुपर्छ। नेपाली जनता ईमानदार छन् र चीनप्रति अघोषित मित्रता राख्छन्।”
मदन रेग्मीको यो विश्लेषणले कूटनीतिक क्षेत्रमा ठूलो चर्को तरङ्ग सिर्जना गरेको छ। विश्लेषकहरूका अनुसार यसले नेपालको चीन नीतिमा भएको आन्तरिक बहसलाई नयाँ मोड दिएको छ भने केहीले यसलाई चीनको तर्फबाट नेपालमा दबाब सिर्जना गर्ने प्रयासको प्रतिध्वनि भनेका छन्। चीनले नेपालमा आफ्नो प्रभाव कायम राख्न र विदेशी (विशेषगरी पश्चिमी) प्रभावलाई सीमित गर्ने रणनीतिक चासो राखेको देखिन्छ।





