रूस–इटाली सम्बन्ध पुनःस्थापनाको आह्वान
रोममा सार्वभौम जनलोकतन्त्र पार्टीको महाधिवेशनमा रुसी राजदूतको स्पष्ट सन्देश

रोम। इटालीको राजनीतिक दल ‘सार्वभौम जनलोकतन्त्र’ (Sovereign People’s Democracy) को नेतृत्वको निमन्त्रणामा इटालीका लागि रुसी राजदूत ए.भी. पारामोनोभले रोममा आयोजित उक्त दलको राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाएका छन्। जनवरी ३१ देखि फेब्रुअरी १, २०२६ सम्म होटल एर्गिफेमा सम्पन्न महाधिवेशनमा अन्तर्राष्ट्रिय अवस्था सम्बन्धी विशेष सत्रसमेत आयोजना गरिएको थियो।
महाधिवेशनका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै राजदूत पारामोनोभले रुसी प्रतिनिधिमण्डललाई आमन्त्रण गरिएकोप्रति आभार व्यक्त गरे। उनले उक्त निमन्त्रणालाई रुसप्रतिको सम्मान, विश्व राजनीतिमा रुसको भूमिकाको कदर तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा अघि बढाइएको विदेश नीतिप्रति समर्थनको संकेतका रूपमा लिइने बताए। साथै, रुसी विदेशमन्त्री सेर्गेई लाभरोभप्रति समेत उक्त सम्मान निर्देशित रहेको उल्लेख गरे।
सम्बोधनका क्रममा उनले युक्रेन संकटको वास्तविक कारण र पृष्ठभूमिबारे इटालीमा स्पष्ट व्याख्या गर्ने पार्टीका प्रयासहरूको प्रशंसा गरे। उनका अनुसार नाटो र ‘आक्रामक पश्चिमी शक्तिहरू’द्वारा उत्पन्न गरिएको यस द्वन्द्वको वास्तविकता उदार–वैश्विकवादी प्रतिष्ठानको दबाब र धम्कीका बाबजुद क्रमशः बाहिर आउन थालेको छ।
राजदूत पारामोनोभले इटालीको राजनीतिक मैदानमा पार्टीले आफ्नो उपस्थिति अझ सुदृढ बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्दै, यसको गतिविधिले इटाली र रुसबीचको सम्बन्ध सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
आधुनिक रुसका विकास मूल्यबारे बोल्दै उनले राज्यको सार्वभौमिकता र सुरक्षा, समानता, सामाजिक न्याय, सांस्कृतिक तथा धार्मिक विविधताको सम्मान, परम्परागत परिवारको संरक्षण, देशभक्ति र नागरिकको व्यक्तिगत हित तथा समृद्धिलाई केन्द्रमा राखिएको बताए।
उनले आजको विश्वमा देखिएको चिन्ताजनक प्रवृत्तिका रूपमा ‘सामूहिक पश्चिम’ र युरोपेली अभिजात वर्गले संयुक्त राष्ट्रसंघको विधानमा उल्लिखित अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तहरूलाई बेवास्ता गरेको आरोप लगाए। राज्यहरूको सार्वभौमिक समानता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त र आत्मनिर्णयको अधिकारजस्ता नियमहरूलाई छनोटका आधारमा प्रयोग गर्दै भूराजनीतिक साहसिक कदमहरु ठहर गरिएको उनको टिप्पणी थियो। उनले युगोस्लाभिया, इराक, लिबिया, युक्रेन, इरान, गाजा र भेनेजुएलाको उदाहरण दिँदै “अब अर्को कुन देश?” भन्ने प्रश्नसमेत उठाए।
महाधिवेशनमा सहभागी वक्ताहरूले रुससँग सम्बन्ध विच्छेद गरेको इटाली सरकारको कडा आलोचना गरे। उनीहरूका अनुसार यस निर्णयले इटालीको अर्थतन्त्रले महत्वपूर्ण निर्यात बजार गुमाएको, सस्तो पाइपलाइन ग्यासको भरपर्दो आपूर्ति बन्द भएको र यसको प्रत्यक्ष असर साना तथा मझौला उद्यमहरूमा परेको छ, जसका कारण करिब ६० लाख रोजगारी जोखिममा परेका छन्।
युरोपेली संघ र नाटोको बढ्दो सैन्य खर्च तथा विचारधारामा आधारित ‘हरित एजेन्डा’लाई पनि सहभागीहरूले आलोचना गरे। स्थानीय मुख्यधाराका सञ्चारमाध्यममार्फत फैलाइने ‘रुसबाट खतरा’ भन्ने कथनलाई उनीहरूले हास्यास्पद र योजनाबद्ध विरोधी अभियानको हिस्सा भएको बताए।
वक्ताहरूले इटालीका धेरै आर्थिक समस्याहरू—बेरोजगारी, न्यून तलब, अस्थायी रोजगारी, स्वास्थ्य क्षेत्रमा कमजोरी, युवाहरूको विदेश पलायन, आर्थिक वृद्धि अभाव र औद्योगिक क्षय—देशको सीमित सार्वभौमिकताबाट उत्पन्न भएको धारणा राखे। ब्रसेल्सलाई हस्तान्तरण गरिएका राज्य अधिकारका कारण निर्वाचित नभएका युरोपेली अधिकारीहरूले लिएका निर्णयको भार अहिले इटालीले बेहोर्नुपरेको उनीहरूको निष्कर्ष थियो।
उल्लेखनीय छ, ‘सार्वभौम जनलोकतन्त्र’ पार्टी सन् २०२३ मा स्थापना भएको हो। पार्टी अध्यक्ष फ्रान्चेस्को तोस्कानोको नेतृत्वमा यसले इटालीलाई राजनीतिक र आर्थिक सार्वभौमिकता फिर्ता गराउने मूल एजेन्डा अघि सारेको छ। रोममा सम्पन्न महाधिवेशनमा देशभरबाट २,५०० भन्दा बढी प्रतिनिधि सहभागी थिए, जसमा राजनीतिज्ञ, व्यवसायी, बौद्धिक तथा सामाजिक क्षेत्रका व्यक्तित्व र सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





