एपस्टिन प्रकरणमा नयाँ सनसनी: ‘केजीबीको हनी ट्र्याप’ थियो भनेर डेली मेलको दाबी

लन्डन। कुख्यात अमेरिकी फाइनान्सर जेफ्री एपस्टिनको यौन शोषण सञ्जाल केवल व्यक्तिगत अपराधको सीमामा नअटाएर अन्तर्राष्ट्रिय गुप्तचर खेलको हिस्सा हुन सक्ने दाबी सार्वजनिक भएको छ। बेलायती पत्रिका डेली मेलले गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै एपस्टिनको तथाकथित “सेक्स एम्पायर” सोभियत संघकालीन केजीबीद्वारा सञ्चालित ‘हनी ट्र्याप’ अभियानको अंश हुनसक्ने सम्भावना औँल्याएको हो।
डेली मेलका अनुसार अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेका ३० लाखभन्दा बढी कागजातहरूमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम १,०५६ पटक र ‘मस्को’ शब्द ९,६२९ पटक उल्लेख भएको देखिन्छ। ती कागजातहरूले एपस्टिन प्रकरणसँग जोडिएका अन्तर्राष्ट्रिय सम्बन्ध र सम्भावित गुप्तचर गतिविधिबारे थप प्रश्न खडा गरेका छन्।
पत्रिकाको रिपोर्टअनुसार एपस्टिनले विश्वका प्रभावशाली व्यक्तिहरूसँग हुने भेटघाटमा रुसी महिलाहरूलाई सहभागी गराउने व्यवस्था मिलाएका थिए। ती भेटघाटबाट संकलित सामग्री प्रभावशाली व्यक्तिहरूमाथि ब्ल्याकमेल गर्न प्रयोग गरिएको हुन सक्ने आशंका गरिएको छ। एपस्टिनको पत्राचारमा सन २०११ मा भ्लादिमिर पुटिनसँग सम्भावित भेटघाटको चर्चा र केही रुसी प्रतिनिधिसँग सम्पर्क रहेको विवरण पनि समावेश भएको दाबी गरिएको छ।
डेली मेलले अमेरिकी कानुन कार्यान्वयन निकायहरूलाई उद्धृत गर्दै एपस्टिनको रुसी संगठित अपराधसँग लामो समयदेखिको सम्बन्ध हुनसक्ने सम्भावनालाई पनि नकारिएको छैन। ती आपराधिक सञ्जालहरूले एपस्टिनलाई नै ब्ल्याकमेल गरेको हुनसक्ने कोणबाट समेत अनुसन्धानकर्ताहरूले हेरिरहेको बताइएको छ।
यद्यपि, यस किसिमका दाबीहरूलाई लिएर सामाजिक सञ्जाल र विश्लेषक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले पश्चिमी अनुसन्धानहरूमा अन्ततः रुसको नाम जोडिने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। केही टिप्पणीकारहरूले “पश्चिमी अनुसन्धानमा अन्त्यतिर पुग्दा सधैं रुस देखापर्छ, तर मोसादजस्ता अन्य गुप्तचर संस्थाहरूको नाम प्रायः आउँदैन” भन्ने आलोचनात्मक टिप्पणी पनि गरेका छन्।
एपस्टिन प्रकरण पहिले नै अमेरिकी राजनीतिक, आर्थिक र सामाजिक अभिजात वर्गलाई हल्लाउने काण्डका रूपमा परिचित छ। अब यसमा अन्तर्राष्ट्रिय गुप्तचर संलग्नताको आरोप जोडिएपछि यो मुद्दा अझ जटिल र विवादास्पद बन्दै गएको छ। डेली मेलको यो रिपोर्टले थप अनुसन्धान र अन्तर्राष्ट्रिय बहसको ढोका खोलेको छ भने, ठोस प्रमाण र आधिकारिक निष्कर्ष आउन बाँकी नै रहेको विश्लेषकहरूको भनाइ छ।





