विकासलाई व्यवहारिक उचाइमा लैजान आह्वान: शान्दोङ भ्रमणमा प्रधानमन्त्री ली छ्याङको स्पष्ट सन्देश

बेइजिङ। चिनियाँ प्रधानमन्त्री ली छ्याङले विकासलाई अझ सुदृढ, प्रभावकारी र जनमुखी बनाउँदै जनताको जीवनस्तर सुधार र आर्थिक गतिलाई थप बलियो बनाउने आवश्यकता औँल्याएका छन्। सोमबार पूर्वी चीनको शान्दोङ प्रान्तको निरीक्षण भ्रमणका क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य समेत रहेका प्रधानमन्त्री लीले प्रविधि रूपान्तरण र उद्योग स्तरोन्नतिको मुख्य आधार स्मार्ट उत्पादन (स्मार्ट म्यानुफ्याक्चरिङ) भएको बताए। उत्पादन र निर्माणको सम्पूर्ण जीवनचक्रमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सक्रिय प्रयोग गर्दै सम्पूर्ण उत्पादन श्रृंखलालाई पुनःसंरचना गर्नुपर्नेमा उनले जोड दिए।
हरित तथा न्यून–कार्बन प्रविधिको अनुसन्धान, विकास र प्रयोगलाई तीव्रता दिन आग्रह गर्दै प्रधानमन्त्री लीले औद्योगिक क्षेत्रमा खेर जाने ताप ऊर्जालाई स्थिर र स्वच्छ तापीय ऊर्जामा रूपान्तरण गर्नुपर्ने आवश्यकता पनि औँल्याए।
भ्रमणका क्रममा प्रधानमन्त्री लीलाई शान्दोङमा ऊर्जा पूर्वाधार र आणविक ऊर्जा परियोजनाको प्रगतिबारे जानकारी गराइएको थियो। उनले स्वच्छ ऊर्जा परियोजनाको निर्माण र सुरक्षित सञ्चालनबीच सन्तुलन कायम गर्न, प्रविधिक क्षमता र नियामक निगरानी सुदृढ गर्न तथा आधुनिक ऊर्जा प्रणाली विकासमा आवश्यक समर्थन बलियो बनाउनुपर्नेमा जोड दिए।
यसै क्रममा प्रधानमन्त्री लीले सरकारको वार्षिक कार्य प्रतिवेदनको मस्यौदा, आर्थिक तथा सामाजिक विकास सम्बन्धी १५औँ पञ्चवर्षीय योजनाको प्रारूप र समग्र सरकारी कार्यबारे सुझाव संकलन गर्न एक गोष्ठीको अध्यक्षता पनि गरेका थिए।
प्रधानमन्त्री लीले सबै तहका सरकारले आफ्ना स्थानीय तुलनात्मक फाइदाको उपयोग गर्दै नयाँ आर्थिक वृद्धि चालकहरूको सक्रिय रूपमा विकास गर्नुपर्ने बताए। १५औँ पञ्चवर्षीय योजना तर्जुमा र कार्यान्वयनसँगै प्रमुख पहल र रणनीतिक परियोजनाहरूको स्पष्ट योजना तयार गरी प्राथमिकताका क्षेत्रमा ठोस प्रगति हासिल गर्नुपर्ने उनको भनाइ थियो।
उनले स्थानीय परिस्थिति अनुसार नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास, आन्तरिक आर्थिक चक्रको सुदृढीकरण, रोजगारी सिर्जना तथा जनताको आय वृद्धिलाई प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने स्पष्ट सन्देश दिएका छन्।





